लामो समय विदेश बसेर फर्किएकी सन्ध्या सपकोटाले ‘अग्राख’ मुक्तक संग्रह निकाल्ने भइन्। ६५ पृष्ठको सो पुस्तक निकाल्न उनले ज्ञानज्योति प्रकाशनलाई ५० हजार बुझाइन्। सम्पादनका लागि भनेर सो रकम लिइएको थियो।
पुस्तक बजारमा आउँदा सन्ध्या छाँगाबाट खसेजस्तै भइन्। किन कि भाषा ध्वस्त भएर पुस्तक आएपछि उनले विमोचन गर्नसमेत सकिनन्। सन्ध्या भन्छिन्, ‘मैले १ वर्षअघि ५० हजार रुपैयाँमात्र होइन त्यससँगै एउटा विश्वास पनि दिएकी थिएँ तर, उहाँहरुले मेरो विश्वास तोड्नुभयो।’
लेखक परिचयमा आफ्नो गृह जिल्ला मोरङलाई समेत ‘गोरङ’ बनाइदिएको भन्दै उनले विमोचनसमेत नगरेको बताइन्।‘विमोचनको खर्च पनि आफैँ व्यहोर्नुपर्ने रे’, उनको प्रश्न छ, ‘शब्दको अर्थ नै ध्वस्त भएपछि कसरी मान्छेको अगाडि म उभिनु?’
कतिपय प्रकाशन गृहले नयाँ लेखकलाई प्रोत्साहन गर्न भन्दै नयाँ–नयाँ किताब बजारमा ल्याइरहेका छन्। उनीहरुले किताब छाप्नेदेखि विमोचनको खर्चसमेत लेखकलाई तिराउने गरेका छन्।
पुस्तक बिक्री बापतको रोयल्टीसमेत उनीहरुले आफैँ लिन्छन्, लेखकलाई दिँदैनन्।
मारमा नयाँ लेखक
लन्डन बस्ने रवि अर्यालको दुई वर्षअघि ‘थेम्स डायरी’ नामक उपन्यास बजारमा आयो। बुलबुल प्रकाशनले ल्याएको यो पुस्तक छाप्न उनले झन्डै डेढ लाख रुपैयाँ खर्चिए।
इन्डिगो इन्कबाट गत वर्ष ‘मोनालिसा’ नामक पुस्तक बजारमा ल्याएका देवराज भन्तनासँग प्रकाशन गृहले शुद्धाशुद्धिका लागि भन्दै ५० हजार रुपैयाँ लियो। १ वर्षसम्म काम हुँदैछ भनेर झुलाइयो। छापिने बेलामा सम्पादनको नाममा ह्रस्वदीर्घ समेत हेरिएन।
‘प्रकाशनले सम्पादनका लागि भनेर ५० हजार रुपैयाँ माग्यो’, भन्तना भन्छन्, ‘तर पुस्तक छापिँदा एउटा केही सम्पादन भएको थिएन।’ अर्थात् उनीबाट लिएको पैसाले प्रकाशन गृहले पुस्तक छाप्यो। सहमतिअनुसार उनले अहिलेसम्म रोयल्टी दिएन।
यस्तो समस्या प्रायः नयाँ लेखकको हकमा हुने गरेको साहित्यकार राजन मुकारुङ बताउँछन्। उनी भन्छन्, ‘मसँग धेरै नयाँ भाइरहरुले गुनासो गर्छन्। आफैँ लगानी लगाएर पुस्तक प्रकाशन गर्नुपर्ने, त्यसमाथि रोयल्टी पनि नपाउने समस्या छ।’
प्रकाशन गृहहरुले नयाँ लेखकबाट पैसा लिएर लोगो बेच्नु भ्रष्टाचार भएको उनको धारणा छ।
बुलबुलबाट हालसालै बजारमा आएको ‘प्राञ्जल’, एडीबी प्रकाशनबाट आएको सनिम श्रेष्ठको ‘द भ्यालेन्टाइन’, नेपाली बुक्सबाट आएको मनोज चौधरीको उपन्यास ‘टुकी’, शिखा बुक्सबाट आएको नयन अधिकारीको गजल संग्रह ‘नयन’मा पनि यो समस्या देखिएको छ।
यी पुस्तक प्रकाशन गर्न लेखकले ३५ हजारदेखि डेढ लाखसम्म प्रकाशन गृहलाई बुझाएका छन्। आफ्नै लगानीमा निस्किएको पुस्तकको रोयल्टीसमेत नपाएपछि नयाँ लेखक मनभरिको गुनासो पोख्छन्।
एकातर्फ लेखक बन्ने रहरले नयाँ लेखकहरु लगानी गरेरै भए पनि चलेका प्रकाशन गृहबाट पुस्तक छाप्न तयार हुन्छन्। अर्कोतर्फ यस्ता लेखकलाई निरुत्साही गर्ने वा कृति पुनःलेखन गरेर राम्रो बनाउनेभन्दा प्रकाशन गृहले कसरी पैसा कमाउने भन्ने ध्याउन्नले साहित्यमा सी ग्रेडको व्यापार हाबी हुँदै गएको छ।
लेखक मीनराज बसन्त यसलाई प्रकाशन गृहको धन्दा भन्न रुचाउँछन्। ‘प्रकाशन गृहले साहित्यको नाममा कमाउ धन्दा चलाइरहेका छन्’, उनी भन्छन्, ‘यसतर्फ लेखक नै सचेत हुनुपर्ने देखिन्छ।’
नयाँ लेखक सुरेश बादलसँग एक प्रकाशन गृहले पुस्तक छाप्नुअघि रकम मागेपछि उनले छापाइमा जान लागेको पुस्तक रोकिदिए। सिधैँ नभनेर सांकेतिक रुपमा पैसाको कुरा गरिएको उनी बताउँछन्।
‘मेरो किताब नछापिने भएपछि २ वर्ष लगाएर मैले पुर्नलेखन गरेँ र अहिले राम्रो प्रकाशकसँग छाप्ने कुरा भइरहेको छ’ सुरेश भन्छन्, ‘लेखक बन्ने रहरले मात्र किताब छाप्नु व्यक्तिको पनि कमजोरी हो। किताब बजारमा आइसकेपछि त्यसले कुनै न कुनै छाप अवश्य छाड्नुपर्छ ।’
प्रतिष्ठाका कारण कतिपय लेखकहरु आफूले पैसा तिरेर पुस्तक छापेको खुलाउन चाहँदैनन्।
संख्या बढ्यो, गुणस्तर खस्क्यो
स्थापित लेखकलाई निश्चित प्रकाशन गृहले सम्झौता गरेर राख्ने गरेका छन्। कतिपय उनीहरुलाई छिटो–छिटो लेखिसक्न दबाब समेत दिने गरिएको छ। यस्तो अवस्थामा लेखकले मेहनत नगर्ने र नयाँ लेखकसँग पैसा लिएर पुस्तक छाप्ने प्रबृत्ति देखिँदा पुस्तक बजारको गुणस्तर चिन्ताको विषय भएको छ।
केही स्तरीय प्रकाशन गृह यो मामिलामा व्यवसायिक छन्। उनीहरुले भने लेखकसँग लिखित सम्झौता गरेरै पुस्तक प्रकाशन गर्ने, स्तरीय सम्पादन गर्ने र पारदर्शी रुपमा रोयल्टी प्रदान गर्ने गरेका छन्।
प्रकाशकको मुर्गा बन्नबाट जोगिन लेखकहरु नै सजग हुनुपर्ने कतिपयको भनाइ छ। बजारको यस्तो अवस्था राम्रैसँग बुझेर संघर्ष क्षेत्रीले आफ्नो उपन्यास ‘साकुरा’ आफैँ प्रकाशन गरे। ‘आफ्नो श्रम र पसिनामा अरुलाई रजाइँ गर्न किन दिने?’ भन्ने उनको धाराणा छ।
पुस्तकमा नामको ट्याग झन्ड्याउने रहरले लेखकलाई दीर्घकालिन रुपमा फाइदा गर्दैन। ‘राम्रो मिहिनेत गरेको पुस्तकले नै पाठकको मन जित्न पनि सक्छ’, कवि एवं पत्रकार प्रकाश गुरागाईं भन्छन्।
Shares
प्रतिक्रिया