समाज


कोरोना कहरकै बीच काठमाडौंमै यसरी सञ्चालनमा आए विद्यालय (भिडियो)

कोरोना कहरकै बीच काठमाडौंमै यसरी सञ्चालनमा आए विद्यालय (भिडियो)

यज्ञराज जोशी
असोज १४, २०७७ बुधबार ७:८,

बिहान ११ बजे कागेश्वरी मनोहरा नगरपालिकास्थित गीताञ्जली स्कुल पुग्दा विद्यार्थीहरु गेटबाट स्कुल प्रांगणभित्र प्रवेश गर्दै थिए।

मास्क लगाएर स्कुल आएका विद्यार्थीहरुको एक–एक गर्दै गेटमा थर्मल गनको सहायताले ज्वरो नापियो। ज्वरो नापेर भित्र प्रवेश गरेका विद्यार्थीहरुले नजिकै राखिएको धारामा साबुनपानीले हात धोए।

त्यसपछि एक जना विद्यालयकै कर्मचारीले उनीहरुका हातमा सेनिटाइजर छर्किए र कक्षाकोठा जान भने।

कक्षा कोठामा विद्यार्थीभन्दा अगाडि नै शिक्षक उपस्थित छन्। उपस्थित शिक्षकले नै विद्यालयले तोकेबमोजिम एक बेन्चमा एक जना विद्यार्थीलाई दायाँ बायाँ दूरी कायम हुने गरी राखे। त्यसपछि बल्ल पठनपाठन सुरु भयो।

bal geetanjali school 3

कोरोनाभाइरसको महामारीका कारण चैतदेखि बन्द रहेको विद्यालयमा आइतबारदेखि यसरी नियमित अध्ययन अध्यापनको सुचारु भएको छ। नगरपालिकाले नै लामो समय विद्यार्थीहरुको पठनपाठनलाई अवरुद्ध भएको स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय भएपछि गीताञ्जली स्कुलले आफ्नो पठनपाठन सञ्चालन गरेको हो।

विद्यालयका भाइस प्रिन्सिपल (उपप्रधानाध्यापक) लोकेश प्रधान नगरपालिकाले बनाएको स्वास्थ्यसम्बन्धी मापदण्ड अक्षरशः पालना गरेर पठनपाठन सञ्चालन गरेको बताउँछन्।

Lokesh pradhan vice principle

‘नगरपालिकाले लामो समय विद्यार्थीको पठनपाठन अवरुद्ध भएको भन्दै स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने निर्देशिका बनाएपछि त्यसलाई अक्षरशः पालना गरेर हामीले आइतबारदेखि विद्यालय सञ्चालनमा ल्याएका छौँ’, प्रधानले भने, ‘अभिभावकले पनि विद्यालयको तयारी हेरेर सुरक्षाको प्रत्याभूति भएपछि आफ्ना नानीबाबुहरु पठाउनुभएको छ।’

भीडभाड हुन नपाओस् भनेर दुई शिफ्टमा विद्यालय सञ्चालन गरिएको छ।

कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरु ११ बजेदेखि ३ बजेसम्म र कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुको कक्षा बिहान साढे ६ देखि साढे १० सम्म हुने प्रधानले बताए।

bal geetanjali school 2

अहिले कुल विद्यार्थीको आधाजसो मात्रै विद्यालय आउने गरेको उनले बताए। अभिभावकले स्वतःस्फुर्त रुपमा पठाउन चाहेका, विद्यालय आउन अप्ठ्यारो नहुने विद्यार्थीहरु आइरहेको र बाँकी विद्यार्थीहरुको पठनपाठन अनलाइनमार्फत निरन्तरता दिइरहेको उनले जानकारी दिए।

‘२० जनाभन्दा कम विद्यार्थी छन् भने एउटै कक्षामा दूरी कायम गरेर राख्छौँ। त्यसभन्दा बढी विद्यार्थी भए दुई सेक्सनमा बाँडेर पढाउने गरेका छौँ’, उनले थपे, ‘शौचालय एक पटकमा एक जनालाई मात्रै जान दिने व्यवस्था गरेका छौँ। त्यसपछि हात धोएर स्यानिटाइज गरेपछि मात्रै कक्षा प्रवेश गराउँछौँ। विद्यार्थीहरु आफूले बोकेका खाजा आफ्नै स्थानमा बसेर खान्छन्। कक्षा कोठाबाहेक बाहिर निस्किन दिएका छैनौँ।’

bal geetanjali school 5

ज्वरो, खोकी, जिउ दुख्ने समस्या वा अन्य कुनै कोरोनासँग मिल्दोजुल्दो समस्या भएका विद्यार्थीलाई विद्यालय नपठाउन अभिभावकलाई अनुरोध गरिएको प्रधानले बताए। विद्यालयभित्र त्यो किसिमको समस्या देखियो भने तत्काल अभिभावकलाई बोलाएर स्वास्थ्य केन्द्रसम्म लाने व्यवस्थापन गरिएको उनले बताए।

लामो समयपछि विद्यालय आउन पाउँदा विद्यार्थीहरु खुसी देखिन्थे। अभिभावकहरु पनि काममा जाने हुँदा घरमा बस्दाबस्दा दिक्क लागेको उनीहरुको अनुभव थियो।

‘बाबामामु काममा जानुहुन्थ्यो। घरमा बस्दा दिक्क लाग्थ्यो’, कक्षा ५ मा अध्ययनरत एक विद्यार्थीले नेपालखबरसँग भने, ‘अहिले विद्यालय आउन पाउँदा खुसी लागेको छ।’

उनले मास्क लगाएर, स्यानिटाइजर प्रयोग गरेर, बेलाबेला हात धोएर र हातले आँखामुख नछोएमा कोरोनाबाट बच्न सकिने बताए।

bal geetanjali school 9

यस्तै कागेश्वरी मनोहरा नगरपालिकाकै त्रिकोण पब्लिक स्कुल पनि आइतबारबाटै सञ्चालनमा आएको छ। विद्यालयका प्रमुख कार्यकारी अधिकृत हरीकुमार ठकुरीले पनि दुई शिफ्टमा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गरेर विद्यालय सञ्चालनमा ल्याइएको बताए।

उनले विद्यालय खोले पनि ५० प्रतिशतको हाराहारीमा मात्रै विद्यार्थीहरु आएको बताए। गाउँ गएका तथा टाढा भएका विद्यार्थीहरुलाई अनलाइनबाटै अध्ययन÷अध्यापनलाई निरन्तरता दिइएको उनले बताए।

‘अनलाइन कक्षालाई निरन्तरता दिइरहेका थियौँ तर त्यसले पठनपाठनमा विद्यार्थीलाई केन्द्रित गर्न सकिएको थिएन’, उनले भने, ‘अहिले भीडभाड नहोस् भनेर दिनमा चारवटा कक्षाहरुमात्रै सञ्चालन गराएका छौँ। हप्तामा रोटेसन गरेर सबै कक्षाहरु अध्ययन÷अध्यापनको वातावरण गर्दा अनलाइनमार्फत बुझाउन नसकिएका कतिपय कुरा विद्यार्थीलाई प्रत्यक्ष रुपमा सम्झाउन सहयोग पुगेको छ।’

ज्वरो नाप्ने, हात धुन लगाउने, सेनिटाइज गर्ने, मास्क अनिवार्य गर्ने, भौतिक दूरी कायम गर्ने कुरालाई विद्यालयले पनि निरन्तरता दिएको उनले बताए।

bal geetanjali school 10

यस्तै चन्द्रागिरिको प्रभात माध्यमिक विद्यालयले असोज १ गतेदेखि नै विद्यालय सञ्चालनमा ल्याएको छ। अनलाइनमाध्यममा विद्यार्थीहरुलाई समेट्न नसकेपछि स्थानीय निकायको अनुमतिमा आफूहरुले विद्यालय सञ्चालन गरेको प्रधानाध्यापक गोविन्दप्रसाद रुपाखेतीले बताए।

‘हाम्रा अधिकांश विद्यार्थीहरु न्यून आय भएका परिवारका छन्। उनीहरु इन्टरनेट, मोबाइललगायतको सुबिधा पनि नभएका कारण पठनपाठन रोकिएको थियो’, रुपाखेतीले भने, ‘विद्यालय आउनसक्ने विद्यार्थीलाई भने हामीले भौतिक रुपमै पढाउने वातावरण मिलाएपछि उनीहरुको पठनपाठन रोकिन पाएको छैन।’

विद्यालयले सञ्चालनमा आएपछि पाँच सय बढी विद्यार्थी भर्ना भइसकेको उनले बताए। विद्यालय दुई सिफ्टमा सञ्चालन गर्ने गरिएको छ। भीडभाड नहोस् भनेर विद्यालयले हप्तामा एउटा कक्षा एक दिनमात्रै पढाउने व्यवस्था गरेको छ। एक दिन पढाएपछि हप्ताभरिलाई गृहकार्य दिइने उनले बताए।

bal geetanjali school 8

विद्यालयले गेटमै ज्वरो नाप्ने, मास्क अनिवार्य, सेनिटाइजर दिने कार्य गरेको छ। हालसम्म विद्यालयमा कोभिडसम्बन्धी समस्या नदेखिएको रुपाखेतीले बताए।

चन्द्रागिरि नगरपालिकाले कुनै विद्यार्थी वा शिक्षकलाई कोभिड देखिए परीक्षण तथा उपचारको व्यवस्था गर्ने जनाएको उनले बताए।

राजधानीबाहिर पनि धमाधम विद्यालय सञ्चालन गरिँदै
संघीय राजधानीभित्र मात्र होइन, विस्तारै राजधानीबाहिरका विभिन्न स्थानीय तहले कोरोना संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय खोल्नथालेका छन्।

गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ गोरखास्थित सरस्वती मावि पनि आइतबारबाट सञ्चालनमा आएको छ।

गाउँपालिकामा संक्रमण शून्य भएपछि अहिलेलाई विद्यालय केही दिनका लागि मात्रै सञ्चालनमा ल्याइएको प्रधानाध्यापक रामचन्द्र पौड्यालले जानकारी दिए।

‘अहिले केही दिनका लागि विद्यालय सञ्चालनमा ल्याएका छौँ। चाडपर्व पनि नजिक आइरहेको छ। विद्यार्थीहरुलाई कोभिडसम्बन्धी जानकारी गराउँछौँ। गृहकार्य दिन्छौँ’, पौड्यालले भने, ‘हाम्रो क्षेत्रमा जोखिम नभए पनि अन्यतिर जोखिम कायम भएकाले नियमित विद्यालय सञ्चालन गर्न सकिरहेका छैनौँ।’

यस्तै सिरहाको मिर्चैया नगरपालिकाले पनि आइतबारदेखि नगरका सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ। नगर शिक्षा समितिको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा अधिकृत भरत कुमार बानियाँले बताए।

bal geetanjali school 1

शिक्षा समितिको बैठकले कुनै समुदायको घर परिवार कोरोनाबाट संक्रमित भएमा बालबालिकालाई विद्यालयमा नपठाउन पनि भनेको छ। विद्यार्थीलाई रुघाखोकी, ज्वरो लागेमा त्यस्तालाई विद्यालयमा नआऊन् भन्ने तथा चेकजाँच गर्न जाने व्यवस्था मिलाउने निर्णय भएको बानियाँले बताए।

यस्तै काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिका, डडेल्धुरा अजयमेरु गाउँपालिका, दैलेखको भगवतीमाई गाउँपालिका, रोल्पाको माडी गाउँपालिका, कैलालीका कैलारी गाउँपालिका, दाङका विभिन्न स्थानीय तहका विद्यालयहरु भौतिक रुपमै सञ्चालनमा आइसकेका छन्।

रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले असोज १ गते नियमित पठनपाठन अगाडि बढाएका विद्यालयमा जोखिमलाई कम गर्न मंगलबार स्वास्थ्य सामग्री प्रदान गरेको छ। विद्यालयलाई सेनिटाइजर, मास्क र हात धुने साबुन प्रदान रहेको गाउँपालिकाकी उपाध्यक्ष ओमकुमारी शाहीले बताइन्।

‘चैतदेखि विद्यालय बन्द रहेकाले विद्यार्थीको शैक्षिक सत्रलाई खेर जान नदिन भन्दै गाउँपालिकाले असोज १ गतेबाट विद्यालय खोल्ने निर्णय गरेको थियो’, शाहीले भनिन्, ‘पठनपाठनका क्रममा विद्यार्थी, शिक्षक तथा कर्मचारीको स्वास्थ्य सावधानी अपनाउन सहयोग पुगोस् भनेर हामीले १४ लाखबराबरका स्वास्थ्य सामग्री वितरण गरेका छौँ।’

भिडियो-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .