स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित बढेसँगै आइसोलेसन तथा अस्पतालहरुमा खचाखच बिरामी भएको जनाउँदै धेरै अप्ठ्यारो समय आएको बताएको छ।
नियमित पत्रकार सम्मेलनमा शनिबार मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले सबैलाई सुरक्षित रहन आग्रह गरे।
‘हाम्रो लागि धेरै अप्ठ्यारो समय आएको छ। संक्रमितको संख्या धेरै बढेको छ। अस्पताल र आइसोलेसन सेन्टरहरु झन्डै भरिएका छन्। खचाखच बिरामी छन्,’ प्रवक्ता गौतमले भने, ‘बिरामीको डिस्चार्ज हुने दर घटेको छ र संक्रमित बिरामी हुने दर बढेको छ। यसले हामीलाई धेरै अप्ठ्यारो परिस्थितिमा पु¥याउँदै भन्ने आंकलन गर्न सकिन्छ। यसकारण सबै सुरक्षित रहौं।’
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ रहेको छ। उनका अनुसार आज देशभरमा संस्थागत आइसोलेनमा १३ हजार ६४५ जना रहेका छन्।
आज १९ हजार ३२० पीसीआर परीक्षण गरिएको थियो।
पछिल्लो २४ घण्टामा थप १ हजार २२९ जना निको भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या ७४ हजार २५२ पुगेको छ।
काठमाडौँ उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप २ हजार ६७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया