समाज


उपत्यकाको १ प्रतिशतभन्दा बढी जनसंख्या कोरोना संक्रमित

उपत्यकाको १ प्रतिशतभन्दा बढी जनसंख्या कोरोना संक्रमित

यज्ञराज जोशी
असोज २५, २०७७ आइतबार १३:४,

काठमाडौं उपत्यकामा ठ्याक्कै कति मानिस बस्छन् केन्द्रीय तथ्यांक विभागलाई पनि थाहा छैन।

२०६८ सालको जनगणनाअनुसार काठमाडौंको जनसंख्या १७ लाख ४४ हजार, ललितपुरको ४ लाख ६८ हजार र भक्तपुरको ३ लाख ४ हजार छ।

जसअनुसार उपत्यकाको जनसंख्या २५ लाख १६ हजार देखिन्छ। अर्को जनगणना २०७८ सालमा मात्रै हुने भएकाले अहिलेसम्म यही तथ्यांकलाई आधिकारिक मानिँदै आएको छ।

तर जनगणना भएको लगभग ९ वर्ष पुग्न लागेको र अध्ययन, कामका सिलसिलामा अस्थायी रुपमा बस्नेहरुको संख्या पनि उत्तिकै भएकाले उपत्यकामा हाल करिब ४० लाख मानिसहरु बसोबास गर्ने तथ्यांक विभागका सूचना अधिकृत तीर्थराज चौलागाईं बताउँछन्।

‘नयाँ जनगणना नहुँदासम्म पुरानैलाई हामीले आधिकारिक मान्ने हो,’ चौलागाईंले भने, ‘तर, यतिबेला उपत्यकामा करिब ४० लाख मानिस बसोबास गर्छन् भन्ने अनुमान छ।’

उपत्यकाको जनसंख्या ४० लाख मान्ने हो भने हालसम्म यहाँको १ प्रतिशत जनसंख्या कोभिड–१९ बाट संक्रमित भइसकेको छ। अर्थात्, उपत्यकामा प्रत्येक सय जनामध्ये एक जनालाई कोरोना संक्रमण भएको अनुमान छ।

आइतबारसम्मको तथ्यांकअनुसार उपत्यकामा कोरोना संक्रमितको संख्या ४१ हजार ७८८ पुगेको छ। योसँगै काठमाडौंमा संक्रमण पुष्टि हुने ३३ हजार ७४८, ललितपुरमा ४ हजार ६५८ र भक्तपुरमा संक्रमण पुष्टि हुने ३ हजार ३८२ पुगेका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम उपत्यकामा यसरी तीव्र रुपमा संक्रमण बढ्दै जाँदा निकै अप्ठेरो स्थिति आइसकेको बताउँछन्।

‘हाम्रो लागि धेरै अप्ठेरो समय आएको छ। संक्रमितको संख्या धेरै बढेको छ। अस्पताल र आइसोलेसन सेन्टरहरु झन्डै भरिएका छन्। खचाखच बिरामी छन्,’ प्रवक्ता गौतम भन्छन्, ‘बिरामीको डिस्चार्ज हुने दर घटेको छ र संक्रमित बिरामी हुने दर बढेको छ।’

पछिल्लो १० दिनमै १६ हजार थपिए
पछिल्ला हप्ताहरुमा देशभरको संक्रमण संख्याको आधा बढी काठमाडौं उपत्यकाकै छन्। पछिल्ला १० दिनमा मात्रै उपत्यकामा १६ हजार संक्रमित थपिएका छन्।

उपत्यकामा असोज १६ गते १६३८, असोज १७ गते ११७७, असोज १८ गते १५९९, असोज १९ गते १५३१, असोज २० गते १०१७, असोज २१ गते १६८४, असोज २२ गते २५१०, असोज २३ गते १४०९, असोज २४ गते २६७२ र असोज २५ गते १४१६ जनालाई संक्रमण देखिएको छ।

योसँगै आइतबारसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ३५६ पुगेको छ। मन्त्रालयका प्रमुख विशेषज्ञ डा. महेन्द्र श्रेष्ठ उपत्यकाका अस्पतालले बिरामी धान्नै नसक्ने अवस्था आएको बताउँछन्।

‘अस्पताल र आइसोलेसन गरी उपत्यकामा जम्मा ६ हजार बेड हो। अहिले संक्रमित संख्या तेब्बर पुगिसकेको छ। अस्पतालमा बेड पाउन निकै मुस्किल परिसक्यो,’ श्रेष्ठले भने।

श्रेष्ठले यही अवस्था कायम रहे लकडाउन गर्नुको विकल्प नरहेको बताए। लकडाउनले चेनब्रेक गर्न र अस्पतालको चाप घटाउन सहयोग पुग्ने उनले बताए।

मन्त्रालयका प्रवक्ता गौतमले उपत्यकामा संक्रमण बढेसँगै गम्भीर प्रकृतिका बिरामी बढेको र परिणाम स्वरुप अस्पतालमा आईसीयू र भेन्टिलेटरको पनि अभाव देखिन थालेको बताए।

‘उपत्यकामा अस्पतालका साधन र स्रोतले बिरामीको उपचार गर्न कठिन बन्दै गएको छ। आईसीयू र भेन्टिलेटरको अभाव देखिएको छ,’ गौतमले थपे, ‘यसरी संक्रमण बढे उपचारै नपाउने स्थिति आउन सक्छ। त्यसैले संक्रमण फैलन नदिन जनस्वास्थ्यका मापदण्ड एकदमै ख्याल गर्नु आवश्यक छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .