समाज


कोरोना भाइरसको ‘जिनोम सिक्वेन्सिङ’ बारेको अध्ययन पूरा, नेपालमा देखिएको भाइरस सामान्य प्रजातिको

कोरोना भाइरसको ‘जिनोम सिक्वेन्सिङ’ बारेको अध्ययन पूरा, नेपालमा देखिएको भाइरस सामान्य प्रजातिको

यज्ञराज जोशी
कात्तिक २७, २०७७ बिहिबार ९:९,

नेपालमा देखिएको कोरोना भाइरसको जिनोम सिक्वेन्सिङ (अनुवांशिक अध्ययन)बारेको अध्ययन पूरा भएको छ।

स्वास्थ्य अनुसन्धान परिषद्ले सुरुमा नेपालमा र त्यसपछि विदेशमा गुणस्तर जाँचपश्चात अध्ययन पूरा भएको जनाएको हो। अध्ययनको नतिजा बिहीबार वा शुक्रबारसम्ममा सार्वजनिक गर्ने तयारी रहेको परिषद्का सदस्यसचिव प्रदीप ज्ञवालीले बताए।

‘नेपालमा जिनोम सिक्वेन्सिङपश्चात भ्यालिडेसनका लागि विदेशमा पठाएका थियौं। त्यसको नतिजा पनि आएर प्रतिवेदन तयार छ। आज या भोलि सार्वजनिक गर्छौँ,’ सदस्यसचिव ज्ञवाली नेपालखबरसँग भने।

जिनोम सिक्वेन्सिङको अध्ययनबाट अन्य देशको भन्दा नेपालमा भाइरस कति भिन्न छ? नेपालमा भएको भाइरसका लागि विश्वमा बनिरहेका मध्ये कुन खोप उपर्युक्त हुन्छ? यहाँ देखिएको भाइरस कति कडा वा नरम हो? अनि यहाँ देखिएका लागि सरकारले कस्तो नीति अख्तियार गर्नुपर्छ आदि कुरामा सहयोग पुग्छ।

सदस्यसचिव ज्ञवालीले प्रारम्भिक रुपमा सामान्य प्रकृतिकै भाइरस देखिएको तर रिपोर्टको विस्तृत जानकारी भने प्रतिवेदन सार्वजनिक भएपछि मात्रै भन्न मिल्ने बताए।

‘प्रारम्भिक रुपमा भन्नुपर्दा अन्य देशमा देखिएको जस्तै सामान्य प्रकृतिका भाइरस देखिएका छन्। यसबारे विस्तृतमा भने रिपोर्ट सार्वजनिक गरेपछि मात्रै भन्न मिल्छ,’ उनले भने।

स्वास्थ्य अनुसन्धान परिषद्ले थापाथलीस्थित इन्टरपिड नेपाल नामक कम्पनीलाई यहाँ देखिएको भाइरसको जिनोम सिक्वेन्सिङको जिम्मा दिएको थियो।

परिषद्ले उपलब्ध गराएका १५ नमूनाको जिनोम सिक्वेन्सिङ गरेर त्यसको नतिजा आफूहरुले हस्तान्तरण गरेको इन्टरपिडका अध्यक्ष तथा प्रमुख अनुसन्धानकर्ता डा. समीरमणि दीक्षितले बताए।

 स्वास्थ्य अनुसन्धान परिषद्को अनुसन्धान भएकाले आफूले त्यसको निष्कर्ष भन्न नमिल्ने दीक्षित बताउँछन। तर, उनले भाइरसका सामान्य प्रजातिहरु भने देखिएको बताए।

‘हामीले एक महिनामा ल्याबको काम, तथ्यांक विश्लेषण र त्यसलाई अन्तर्राष्ट्रिय डाटाबेससँग तुलना गरेर बुझाइसकेका छौं,’ दीक्षितले भने, ‘केही प्रजातिहरु देखिएका छन्। त्यो प्रजातिको मतलब, नरम, कडा परिषद्ले नै सार्वजनिक गर्छ। सामान्य प्रजातिहरु भाइरसहरु देखिएका छन।’

नेपालमा परिवर्तन भएको हुनसक्छः विज्ञ
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका कन्सल्टेन्ट माइक्रोबाइलोजिस्ट डा. रञ्जित साह यो परिवर्तन भइरहने भाइरस भएकाले सुरुभन्दा अहिले धेरै परिवर्तन भइसकेको बताउँछन्।

‘यो आरएनए भाइरस हो। आफैँमा परिवर्तन भइरहेको हुन्छ,’ डा. साह भन्छन्, ‘परिवर्तन हुँदै जाँदा दश वर्षमा नयाँ भाइरस भएर निस्कन्छ र त्यसले महामारीको रुप लिन्छ। यो प्रत्येक व्यक्तिमा छिरेपछि केही न केही परिवर्तन हुने गर्छ। त्यसैका लागि जिनोम सिक्वेसिङ गर्ने हो।’

डा. साहको टोलीले नै नेपालमा पहिलोपल्ट देखिएको कोरोना भाइरसको जिनोम सिक्वेन्सिङ गरेको थियो। चीनबाट आएका व्यक्तिमा देखिएको भाइरसलाई विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा जिनोम सिक्वेन्सिङ गरिएको थियो। परिषद्को अनुमतिबिना गरिएको भन्दै त्यसले विवाद पनि खडा गरेको थियो।

चीनको वुहानबाट आएका नेपालको पहिलो संक्रमितको जिनोम सिक्वेसिङका क्रममा पनि भाइरसमा केही परिवर्तन देखिएको साह बताउँछन्।

‘नेपालमा देखिएको पहिलो केसको जिनोम सिक्वेसिङ गर्दा चीनको वुहानबाट उत्पत्ति भएको भाइरसभन्दा हल्का परिवर्तन देखिएको थियो,’ साहले नेपालखबरसँग भने, ‘त्यसबाट हामी ती व्यक्तिमा नेपालमा नभई चीनबाटै भाइरस आएको निष्कर्षमा पुगेका थियौं।’

नेपालमा सुरुमा चीनबाट आएका नागरिकमा संक्रमण देखिएको थियो। त्यसपछि युरोप, खाडी देशहरु र भारतबाट फर्किएका पनि धमाधम संक्रमण देखिन थाल्यो। सोहीकारण सुरुको भाइरसभन्दा अहिलेको भाइरसमा धेरै परिवर्तन भइसकेको डा.साहको तर्क छ।

‘नेपालमा चीनबाट पनि आयो, भारतबाट पनि आयो, युरोपबाट पनि आयो। प्रजाति विभिन्न खालको हुनसक्छ। तर कुन कुन देशको भाइरस आयो र हाम्रोमा आएर के परिवर्तन भयो भन्ने थाहा पाउँन जिनोन सिक्वोसिङको नतिजा नै कुर्नपर्छ,’ साहले भने।

भाइरस परिवर्तन भइराख्ने भएकाले छिटो जिम सिक्वोसिङको नतिजा सार्वजनिक नगरे त्यसको कुनै अर्थ नहुने उनले बताए।

इन्टरपिडका अध्यक्ष दीक्षितले अहिले १५ वटामात्रै मात्रै नमूना केलाएकाले यो प्रारम्भिक अध्ययनमात्रै भएको बताए। संख्या बढाएसँगै विस्तृत÷पूर्ण जानकारी प्राप्त हुने भएकाले कम्तीमा ५० वटा नमूना अध्ययनका लागि परिषद्सँग कुराकानी भइरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .