समाज


मुटुरोगमा विशेषज्ञताको आधारशिला तयार गर्ने डाक्टर झालाई छिन्यो कोरोनाले

मुटुरोगमा विशेषज्ञताको आधारशिला तयार गर्ने डाक्टर झालाई छिन्यो कोरोनाले

यज्ञराज जोशी
मंसिर २, २०७७ मंगलबार १४:१८,

तिहारका दिन सोमबार बिहानै आएको एक अपत्यारिलो खबरले काठमाडौं मोडल अस्पतालका इन्टरनल मेडिसिन विभाग प्रमुख डा. राजेशध्वज जोशीलाई स्तब्ध बनायो।

उनका बालसखा, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का प्राध्यापक एवं बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.सुनिलचन्द्र झाको कोरोना संक्रमणका कारण निधन भएको खबर आउँदा एकछिन उनले केहि सोँच्नै सकेनन्।

केही दिनदेखि कोरोनासँग जुधिरहेका डा. झा त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटरको सहायताले श्वास लिइरहेका थिए। कसैको मन नदुखाउने, मिलनसार, हृदयी स्वभावका झाले कोरोना संक्रमणलाई परास्त गर्ने विश्वास डा. जोशीको थियो।

‘तर उनले कोरोनासँगको लडाई हारे। भगवानले पनि राम्रो मान्छेलाई चाँडै लैजान्छ भने जसरी उनको निधन भयो,’ जोशीले बाल्यकालदेखिका आफ्ना सहपाठीलाई सम्झदै भने।

जोशीको घर काठमाडौंको पुरानो वस्ती मरुटोलमा थियो। त्यसको पाँच मिनेटको पैदल दूरीमा रहेको मरुहिटीमा झाको परिवार बस्थ्यो।

दुबैजनाले २०२२ सालदेखि सँगै ल्याब स्कुलबाट अक्षारम्भ गरेका हुन्।

ल्याब स्कुल त्यसबेला अहिलेको लाजिम्पाटस्थित र्‍याडिसन होटल भएको ठाउँनजिकै थियो। पछि कीर्तिपुर सर्‍यो। कीर्तिपुरमा सर्दासमेत उनीहरुको साथ छुटेन।

‘पढाईमा सानैदेखि उ अब्बल थियो। दिमाग पनि तीक्ष्ण,’ जोशी सम्झन्छन्, ‘म नेवारको छोरा भएर राम्रोसँग नेवार बोल्न आउँदैनथ्यो। तर साथ संगतले मात्रै उसले फरर नेवारी बोल्थ्यो।’

ल्याब स्कुलबाटै २०३२ सालमा एसएलसी उत्तीर्ण गरेपछि उनीहरु अस्कल क्याम्पसमा आईएस्सी भर्ना भए। पढाईमा अब्बल मान्छे डाक्टर बन्नुपर्छ भन्ने सबैकाे प्राेत्साहनका कारण उनीहरुले विज्ञान विषय रोजे। उनीहरुले आईएस्सी पनि राम्रै अंकका साथ उत्तीर्ण गरे।

त्यसबेला भारतमा एमबीबीएस अध्ययनका लागि भारतीय दूतावासले कल्चरल एक्सचेन्ज प्रोग्राम अन्तर्गत छात्रवृत्ति उपलब्ध गराउँथ्यो।

त्यसमा छनोट भए अध्ययन शुल्क आधाआधी दूतावासले व्यहोरिदिन्थ्यो। झाले पनि आवेदन दिए। नाम निकाले र दिल्लीस्थित प्रतिष्ठित अलइण्डिया इन्स्टिच्युट् अफ मेडिकल साइन्स(एम्स)मा एमबीबीएस अध्ययनका लागि पुगे।

DrSunilChandraJha 2 gs

यता जोशी भने एमबीबीएस अध्ययनका लागि कोलकत्ता लागे। एमबीबीएसको अध्ययनपछि उनी पनि एमडी अध्ययनका लागि एम्समैै भर्ना भए। झन्डै आधादशक पछि यी दुई बालसखाको दिल्लीमा पुर्नमिलन भयाे।

जोशीका अनुसार उनीहरुले सन् १९९१ मा एमडी सकेर नेपाल फर्केका हुन्। त्यसपछि झाले त्रिवि अस्पतालमा डाक्टरी अभ्यास सुरु गरे। क्रमशः सिनियर कन्सल्टेन्ट, सहायक प्राध्यापक हुँदै झा प्राध्यापक बने।

पछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर खुलेपछि झा त्यसमै आवद्ध भए। अहिले उनी कार्डियोलोजी विभागका प्रमुख थिए।

कोरोना संक्रमणको जोखिमबीच झा मनमोहन कार्डियोथोरासिक सेन्टर र नर्भिक अस्पतालमा नियमित बिरामीको उपचारमा खटिएका थिए।

यहीबीच असोज अन्तिम साता उनीसहित परिवारका सदस्यलाई लक्षणसहितको संक्रमण पुष्टि भयो। त्यसलगत्तै नर्भिक अस्पतालमा भर्ना भएका झाको अवस्था जटिल भएपछि कात्तिक पहिलो साता त्रिवि अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो।

पहिलेदेखि मधुमेह र पार्किन्सनका बिरामी झालाई गम्भीर खालको निमोनिया देखियो। तीन साता भेन्टिलेटरमा राखेर रेम्डेसिभिर, प्लाज्माथेरापी विधिबाट उपचार गर्दा पनि उनको स्वास्थ्यमा सुधार भएन।

मुटुको गती अनियमित हुने र ब्लड प्रेसर कम हुने क्रम रोकिएन। विस्तारै विभिन्न अंगले काम गर्न छाडे।

सबैका प्रिय डाक्टर झा सोमबार संसारबाटै बिदा भए।

झाको निधनको खबरपछि उनका अर्का नजिकका बालसखा तथा सामाजकल्याण परिषद्का पूर्व सदस्यसचिव शरद शर्मालाई तारन्तार साथीभाइ र आफन्तहरुको फोन आइरहेको छ।

अत्यन्त मिलनसार मित्रको निधनले आफू स्तब्ध भए पनि उनी अहिले सबैलाई सम्झाई बुझाई गर्दैछन्।

‘चैतको पहिलो हप्तापनि हाम्रो सँगै बस्ने योजना थियो। कोरोनाका कारण सम्भव भएन। तर पनि सामाजिक सञ्जाल, ग्रुप च्याटमा हामीबीच सूचनाहरु आदानप्रदान भइरहन्थ्यो,’ शर्माले नेपालखबरसँग भने, ‘उनलाई संक्रमण भएपछि एक महिनादेखि हामीले उनका लागि प्रार्थना गरिरहेका थियौं। यति राम्रो मान्छे यति चाँडै जालान् भनेर हामीले कल्पनै गरेका थिएनौं।’

‘जोसँग पनि मिल्ने खालको मान्छे। जहाँ जसलाई जे सहयोग चाहियो त्यहाँ पुगिहाल्थे उनी,’ शर्माले थपे, ‘कामप्रति एकदमै कटिवद्ध थिए। अहिलेपनि डिउटी निभाउँदा निभाउँदै आफै पनि संक्रमित हुनपुगे। ६१ वर्षको उमेरमै हामीले उनलाई गुमाउँनुपर्‍यो।’

हाल भैसीपाटीमा बस्दै आएका झाका श्रीमती, छोरा, बुहारी र नातिनी छन।

त्रिवि शिक्षण अस्पतालका पूर्वनिर्देशक प्रा.डा.प्रेम खड्गाका अनुसार डाक्टर झा अस्पतालमा सबैका प्रिय पात्र थिए।

‘एकदमै मिलनसार, सबैसँग कुरा गर्ने, उपचारमा कुनै कमी हुन नदिने, पेशामा दिलोज्यान एक गरेर काम गर्ने मान्छे हुनुहुन्थ्यो,’ खड्गाले सम्झिए, ‘विधार्थीहरुका प्रिय पात्र हुनुहुन्थ्यो। कर्मचारी र बिरामी पनि उहाँबाट प्रभावित हुन्थे। उहाँले विभागलाई पनि एकजुट बनाएर लग्नुभएको थियो।’

DrSunilChandraJha 3 gs

मुटुरोगमा विशेषज्ञताको आधारशिला तयार गरे
आइओएमकै कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जरी विभागका प्रमुख प्रा.डा. भगवान कोइरालाका अनुसार झाले नेपालमा मुटु रोग उपचारको विशेषज्ञ सेवाका लागि आधारशिला खडा गरेका हुन्।

‘मुटुको विशेषज्ञता सेवा नभएको देशमा न्यूनतम मुटुका परीक्षण गर्ने, पेसमेकर राख्ने लगायत जनरल मेडिसिनको सुरुवात गर्ने कामहरु उहाँले गर्नुभयो,’ कोइरालाले नेपालखबरसँग भने, ‘पछि त्यही आधारशिलामा टेकेर नयाँ नयाँ प्रविधिहरु भित्रिएपछि नेपालमा मुटुको विशेषज्ञ सेवाहरु सुरु भएको हो।’

झाले बनाएको आधारशिलालाई टेकेर खडा भएको मनमोहन कार्डियोथोरासिक, भास्कुलर एण्ड ट्रान्स्प्लान्टमा हाल दैनिक सयौं बिरामीले मुटुसम्बन्धी विशेषज्ञ सेवा पाइरहेका छन्। प्रधानमन्त्रीलगायत उच्चपदस्थ पदाधिकारीहरुको समेत आफ्नो चेकअपको रोजाइमा परेको छ अहिले यो विभाग।

उनको योगदानको सम्मानस्वरुप तत्कालीन राजा वीरेन्द्रले पनि उनलाई दीर्घसेवा पदक प्रदान गरेका थिए।

कोइरालाले वरिष्ठ चिकित्सकको दुखद् निधनबाट कोरोनाले कसैलाई पनि नछाड्ने रहेछ र यसलाई खेलाँची गर्न नहुनेरहेछ भन्ने सन्देश सबैले लिनुपर्ने बताए।

‘विश्वविद्यालयमा मुटु सेवा सुरु हुनुभन्दा पहिलेदेखि काम गर्ने मान्छेको निधनले हामी सबै दुखित अनि चिन्तित त छँदैछौं,’ कोइरालाले भने, ‘चिकित्सा क्षेत्रका सिनियर मान्छेहरुको निधन हुँदा कसैले पनि कोभिडलाई खेलाँचीका रुपमा लिन नहुने सन्देश दिएको छ। उहाँलाई स्मरण गर्दै सबै सचेत हुनुपर्छ।’

DrSunilChandraJha 4

लेखनमा पनि सक्रिय
झाका बुबा चन्द्रलाल झा पञ्चायतकालीन पत्रिका नेपाल टाइम्सको प्रकाशक तथा सम्पादक थिए। सुनिलले पनि बुबालाई पछ्याउँदै त्यसबेला पत्रिकामा लेख्ने गरेको उनका समकालीन साथी जोशी सम्झन्छन।

‘त्यतिबेला पढाईको ग्याप थियो। त्यही मौकामा सुनिलले बुबाको पत्रिकामा विभिन्न लेखहरु लेख्थे। प्रेसमा घन्टौं बिताउँथे। बुबालाई अन्य काममा पनि सघाउँथे,’ जोशी सम्झन्छन्।

दैनिक २०४८ सालमा नेपाल टाइम्समै सुनिलको ‘डाक्टर साहेब भन्नुहुन्छ’ भन्ने स्तम्भ समेत प्रकाशित हुन्थ्यो। विभिन्न रोगबारे चिकित्सकसँग कुराकानी गरेर पाठकले बुझ्ने सरल भाषामा सुनिलले स्तम्भ प्रकाशन गर्थे।

पछि त्यही स्तम्भको नाममा उनले पुस्तक नै प्रकाशन गरे। जसमा विभिन्न चिकित्सकले लेखेका रोगहरूको जानकारी, बच्ने र रोकथामका उपाय र उपचार विधिहरू उल्लेख छन्। पुस्तकमा मुटुरोगका साथै मधुमेह र यौन स्वास्थ्यका विषयमा स्वयम् सुनिलले लेखेका छन्।

त्यसबाहेक सुनिलले आफ्ना बुबाको स्मरणमा ‘चन्द्रलाल झा : कलमको स्वाभिमानी सिपाही’ नामक पुस्तक पनि लेखेका छन्।

उक्त पुस्तकमा बुबाको निधनपछि उनले संकलन गरेका सामग्रीमा लेख, सम्पादकीय आदिले स्थान पाएका छन्। पञ्चायतकालीन समयमा बुबाले नेपाली पत्रकारितामा पुर्‍याएको योगदानको चर्चा पुस्तकमा समेटिएको छ।

यो पनिः

कोरोना संक्रमणका कारण काठमाडौंमा दुई डाक्टरको निधन

यो पनि: आईसीयूकाे उपचारबाट निकाे भएका कार्कीको आइसोलेसनमै भाइटीका

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .