समाज


आईसीयूको उपचारबाट निको भएका कार्कीको आइसोलेसनमै भाइटीका

आईसीयूको उपचारबाट निको भएका कार्कीको आइसोलेसनमै भाइटीका

यज्ञराज जोशी
मंसिर ३, २०७७ बुधबार १२:३९,

तिहारको दिन बिहानै मध्यपुर थिमी अस्पतालको आइसोलेसनबाट विष्णुराज कार्कीले आफ्ना चार दिदीबहिनीसँगको तस्बिरसहित सामाजिक सञ्जालमा लेखे–

‘म धेरै दिदी बहिनीहरुले धनी हुँदाहंदै पनि यो तिहार परिस्थितिवस् दिदीबहिनीहरुसँगै मनाउन नपाउँदा दुख पक्कै लागेको छ। आशा र कामना छ आगामी तिहार सबै दिदीबहिनी र सम्पूर्ण परिवारसँगै बसेर मनाउने सौभाग्य मिल्नेछ।’

कोरोना संक्रमित भएका कारण उनी अस्पतालको आइसोलेसनमा बसेको तिहारका दिन नौं दिन भइसकेको थियो। तीन दिन आइसीयूमा बसेर फर्किएको उनको अवस्था सामान्यउन्मुख छ।

दिदीबहिनीले दाजुभाइको दीर्घायूको कामना गर्दै तिहार मनाउन थालेको विश्वास गरिन्छ।

एकजना चेलीले आफ्नो दाजूलाई टीका लाउँदै गर्दा यमदूत आएको तर बहिनीले टीका लगाई सम्मान गरेपछि वरदान स्वरुप दाइको प्राण रक्षा भएको बताइन्छ।

‘सुरुमा त यसपटक तिहार नमनाउने कुरो थियो। तर स्वास्थ्य अवस्था पनि सुधारोन्मुख र चिकित्सकले पनि सुरक्षा मापदण्ड अपनाएर मनाउन सकिने भनेपछि टीका लगाइयो,’ कार्कीले आइसोलेसनमा टीका लगाएको अनुभव सुनाउँदै भने, ‘प्राचिन कालमा समय पुगेर लिन आएका यमदूतलाई पनि दिदीबहिनीको टीकाका कारण रोकिएको किंवदन्ती छ। टीका लगाएको दोस्रो दिन म पनि घर फर्कें।’

कार्कीका तीन दिदीबहिनी र एकजना धर्मबहिनी छिन। एकजना बहिनी मध्यपुर अस्पतालमैं नर्स समेत हुन्। कोभिडको उपचारमा समेत खटिनुपर्ने उनी पीपीईमै थिइन्। त्यसपछि साइतमै उनीहरुले सक्दो विधि पुर्‍याएर भाइटीका लगाए।

‘म छुट्टै कुर्सीमा बसेँ। सबैले मास्क, भाइजर, पन्जा लगाएका थियौं। दिदीबहिनीले कुर्सी वरिपरि घुमेर तेलको धारा राख्नुभयो। टाढैबाट फूल टीका छर्कनुभयो,’ कार्कीले भने, ‘सबैको सट्टा पीपीईसहित उपस्थित बहिनीले सप्तरंगी टीका र माला लगाइदिइन्। टाढैबाट आर्शिवाद लिँदै भाइटीका मनाइयो।’

अरु बेलाका जस्तो नभएपनि दिदीबहिनीले निधार खाली राख्न नदिएकोमा उनी सन्तुष्ट देखिए। बिहान निधार खाली हुने भयो भनेर लेखेका उनले दिउँसो खुशी व्यक्त गर्दै दिदीबहिनीसँग टीका लगाएको फोटो पोस्ट गरे।

कोभिड रिपोर्ट नेगेटिभ नआएपनि स्वास्थ्यमा सुधार आएकाले दसौं दिन मंगलबार कार्की घर फर्किसकेका छन्।

अब चिकित्सकले केहीदिन घरमै आइसोलेसनमा बस्न सुझाव दिएको उनले बताए।

Bhaitika in Isolation 1

आईसीयूमा पुगेर फर्किएका कार्की
काठमाडौंमा चिसो बढ्न थालेको थियो। दसैंमा दौडधुप पनि उस्तै भयो। बक्सिङका पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका कार्की बिहान दौडिन्थे। नियमित नुवाईधुवाई गर्थे।

‘कोभिडले च्यापेका बेला चिसोले पनि समातेपछि निमोनिया भएछ,’ कार्कीले भने, ‘कोभिडसँगै निमोनिया भएपछि श्वास प्रश्वासमा समस्या देखियो। आईसीयूमै उपचारपछि बल्ल स्वास्थ्यमा सुधार आयो।’

चिकित्सकहरुले भेन्टिलेटरमै राख्नुपर्ने हुनसक्छ समेत भनेका थिए। सोही अस्पतालका अध्यक्ष समेत रहेका कार्कीका लागि भेन्टिलेटर समेत तयार पारिएको थियो।

तर ६ भाइल रेम्डेसिभिरसहित एन्टिभाइरल औषधिहरु चलाएपछि उनको स्वास्थ्यमा क्रमिक सुधार देखियो। चिकित्सकको प्रत्यक्ष निगरानीमा अस्पताल १० दिन बिताएपछि मंगलबार उनी घर फर्किएका हुन।

आईसीयूमा पुगेको मान्छे यति चाँडै निको भएर घर फर्किएको देख्दा चिकित्सकहरु आश्चर्यमा परेको उनी बताउँछन्।

सुरुमा कार्की होम आइसोलेसनमै बसेका थिए। होम आइसोलेसनमा बसेका बेला श्वासप्रश्वासमा समस्या देखियो वा ज्वरो बढ्यो भने अस्पतालको सम्पर्कमा गइहाल्नुपर्ने उनी सुझाव दिन्छन।

‘होम आइसोलेसनमा हुँदा अक्सिजनको मात्रा नाप्ने अक्सीमिटर र ज्वरो नाप्ने थर्मोमिटर साथमै राख्नुपर्छ,’ उनी भन्छन्, ‘मेरो घरमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यक्ति थिए र सजिलो भयो। कतिलाई अक्सीमिटर र थर्मोमिटर नै चलाउँन नआउने हुनसक्छ। त्यस्ता संक्रमितलाई यसबारे जानकारी दिने वातावरण मिलाउँनु अत्यन्त आवश्यक छ। नत्र अक्सिजन कम हुँदा थाहै नपाएर कतिको ज्यानै समेत जानसक्छ।’

Bhaitika in Isolation 2

खर्चिलो उपचार
सरकारले सक्नेले आफ्नो उपचार आफै गर्ने नीति लिएको छ। मध्यम परिवारका कार्कीले पनि आफ्नो उपचार खर्च आफैँ ब्यहोरेका छन्।

तर कोभिडको खर्चिलो उपचार भोगेका उनी सामान्य व्यक्तिले यसको उपचार खर्च धान्न नसक्ने अनुभव सुनाउँछन।

‘उपचार निःशुल्क नहुने हो भने आर्थिक अवस्था कमजोर हुनेलाई कोभिडबाट बच्न गाह्रो रहेछ,’ उनी भन्छन्, ‘१० दिन अस्पताल बस्दा, मेरो उपचारमा औषधि, एन्टिबायोटिकमात्रै १ लाख बढीको खर्च भएको छ। त्यसमाथि भेन्टिलेटरमा राख्नुपरेको भए अझै बढी खर्च हुन्थ्यो।’

कार्कीले कोरोना बीमा पनि गरेका छन्। सरकारले बीमा दाबीको एकहप्ताभित्र रकम भुक्तानी गर्नु भन्ने निर्देशन दिएको छ। तर, पोजिटिभ भएलगत्तै बीमा दाबीको प्रक्रिया थालेका उनलाई कम्पनीले एक महिनापछि मात्रै सम्पर्क गर्नु भनेका छन।

‘कोभिड पोजिटिभ आउँने बित्तिकै आवेदन दिएको हुँ। कहिले बैठक बस्या छैन। कहिले प्रक्रिया अघि बढेको छैन भनेर झुलाएका छन्। ठाडै एकमहिनापछि सम्पर्क गर्नु भन्छन्,’ कार्कीले भने, ‘म जत्तिको जान्नेबुझ्ने मान्छेलाई त यसरी झुलाउँछन् भने अन्य सर्वसाधारणले कसरी सहजै भुक्तानी पाउँलान्?’

कन्ट्याक्ट ट्रेसिङ नै हुँदैन
कार्कीको रिपोर्ट पोजिटिभ आएपछि उनका परिवारका अन्य दुई जनाको पनि कोरोना पोजिटिभ आएको हो। जुन उनले आफ्नै खर्चमा गरिएको परीक्षणबाट सम्पर्क पुष्टि भएको हो। तर सरकारी संयन्त्रबाट आजसम्म पनि कोही आफ्नो सम्पर्कमा रहेकाको खोजी गर्न नपुगेको उनी सुनाउँछन्।

‘मेयरले व्यक्तिगत चिनजानका आधारमा स्वास्थ्य अवस्थाबारे जानकारी लिनुबाहेक कोही सरकारी निकाय सम्पर्कमा आएन,’ उनी भन्छन्, ‘मसँग को को सम्पर्कमा आए भनेर आजसम्म न वडाले, न कुनै सरकारी निकायले नै सोधेको छ। कसैले मतलब नगरेपछि परिवारको पनि आफ्नै खर्चमा परीक्षण गरेको हुँ।’

कार्कीले नगरपालिकाले निःशुल्क परीक्षणको नारा दिएपनि व्यवहारमा त्यो लागु नभएको बताए। उनले आफू बसोबास गर्ने क्षेत्रमा परीक्षण गर्ने हो भने धेरैलाई संक्रमण देखिने तर परीक्षण अभावमा भित्रभित्र समुदायमा संक्रमण फैलिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .