समाज


कसले चलाउँदै छ नक्कली पीसीआर रिपोर्ट दिने धन्दा?

कसले चलाउँदै छ नक्कली पीसीआर रिपोर्ट दिने धन्दा?

यज्ञराज जोशी
मंसिर ४, २०७७ बिहिबार १२:३०,

गत अक्टोबर २ मा नेपालबाट कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखाएर हङकङ उडेका पाँचजना यात्रुको त्यहाँ पुगेपछि गरिएको परीक्षणमा पोजिटिभ देखियो।

७२ घण्टे अवधिको नेगेटिभ रिपोर्ट लिएर उडेका यात्रुमा नै पुनः परीक्षण गर्दा पोजिटिभ देखिएपछि हङकङले ४ देखि १७ अक्टोबरसम्म नेपालको उडान अनुमति नै रोक्यो।

उडान प्रतिबन्ध फुकुवा भएपछि पनि पुनः त्यही क्रम दोहोरियो। अक्टोबर १९ मा नेपालबाट नेगेटिभ रिपोर्ट लिएर उडेका ९ जना यात्रुको रिपोर्ट हङकङमा पुनः परीक्षण गर्दा पोजिटिभ देखियो। यसपटक हङकङले २२ अक्टोबरदेखि ४ नोभेम्बरसम्म नेपालका उडानमा प्रतिबन्ध लगायो।

तेस्रोपटक पनि फेरी यहीक्रम दोहोरिएपछि अहिले सिभिल एभियसन डिपोर्टमेन्ट, हङकङले नेपाल वायुसेवा निगमलाई पत्र नै लेखेर तेस्रो पटक १२ नोभेम्बर देखि २५ नोभेम्बरसम्म काठमाडौं–हङकङ उडान रोकेको छ।

हङकङमात्रै नभएर नेपाल वायुसेवा निगमको अर्को गन्तव्य काठमाडौं–नारिता (जापान) नियमित उडानमा पनि यस्तै समस्या देखिएको छ।

नियमित यात्रा गरेका यात्रुको पुनःपरीक्षण गर्दा हरेक उडानमा कम्तिमा २ देखि १० जनाको रिपोर्ट पोजेटिभ आएपछि इन्टरनेसनल एयर कार्गो टर्मिनलले निगमलाई इमेल लेखेर चेतावनी दिएको छ।

त्यसबाहेक निगमको काठमाडौं–दुबई उडानका क्रममा समेत यहाँबाट नेगेटिभ रिपोर्टसहित गएका यात्रुमा पोजिटिभ देखिएका छन। यूएईको डाइरेक्टर जनरल अफ सिभिल एभियसनबाट पनि निगमको ध्यानाकर्षण गराउँदै पत्र आएको छ।

कुन कुन ल्याबका रिपोर्टमा समस्या?
विश्वभर फैलिएको कोरोना महामारीका कारण आफ्नो देशमा संक्रमणमुक्त नागरिकहरु प्रवेश गरुन् भन्ने उदेश्यले हरेक देशले ७२ घण्टा अवधिको नेगेटिभ पीसीआर रिपोर्ट माग्ने गरेका छन।

तर, लगातारजसो उडानमा नेपालबाट नेगेटिभ रिपोर्ट लिई गएकाको विदेशमा पोजिटिभ देखिन थालेपछि राष्ट्रिय छविमै आँच पुगेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेर छानविन गर्न अनुरोध गरेको छ।

‘यस्तो परिस्थिति बारम्बार सिर्जना भएमा नेपालभित्र हुने परीक्षणको विश्वसनीयतामा प्रश्न उठी राष्ट्रिय छवि समेत धुमिल हुनसक्ने तथा नियमित उडानहरुमा समेत असर पर्नसक्ने भएकाले यसको न्यूनीकरणका लागि आवश्यक छानविन र कारवाहीका लागि आग्रह गरिन्छ,’ पर्यटन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ।

पर्यटन मन्त्रालयले रिपोर्टमा समस्या देखिएको व्यक्तिको विवरणसहित मन्त्रालयमा छानविनका लागि पत्र पठाएको हो।

पर्यटन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई फरक देखिएको भनी उपलब्ध गराएका रिपोर्टमा स्टार अस्पतालका १० वटा, सेन्ट्रल डाइग्नोस्टिक ल्याब्रोटरी, सूर्या हेल्थकेयर र ह्याम्स हस्पिटलको एक एक वटा रिपोर्ट समावेश छन्।

रिपोर्ट किन फरक?
पर्यटन मन्त्रालयले निजी प्रयोगशालाले स्वाब संकलन नै नगरी नक्कली रिपोर्ट दिने, स्वाब संकलनपछि पनि रिपोर्ट हेरफेर गर्ने, स्वाबलाई निर्धारित समय भण्डारण गरेर राख्नुपर्नेमा त्यसो नगरेका कारण नेपाल र विदेशमा नतिजा फरक फरक आएको हुनसक्ने आशंका गरेको छ।

‘के कस्तो कारणले यसो भएको हो भनि छानविनका लागि हामीले यात्रुले गरेको परीक्षणको विवरणसहित स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएका छौं,’ पर्यटन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले भने, ‘हामीले आशंका गरेका कुराहरुसहित उहाँहरुले छानविन गरेपछि थप कुरा बाहिर आउनेछ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका कन्सल्टेन्ट माइक्रोबाइलोजिस्ट डा. रञ्जित साह नेपालमा र विदेशमा गरिने पीसीआर रिपोर्ट फरक आउनुमा मन्त्रालयले देखाएका कारणलाई नै मुख्य मान्छन्।

‘कतिले पैसा खाएर रिपोर्ट दिएको हुनसक्छ। परीक्षण गरेको तर नतिजा कुर्न समय नभएपछि हतारमा पैसा लिएर कागजमात्रै पनि दिएको हुनसक्छ,’ साह भन्छन्, ‘कतिको शरिरमा परीक्षण गरिसकेपछि पनि भाइरस बन्न थालेकाले फरक परेको हुनसक्छ।’

नेपालका केहि निश्चित अस्पताल तथा ल्याबबाट रिपोर्ट लिएर विदेश पुगेका व्यक्तिको त्यहाँ परीक्षण गर्दा फरक परेको छ। तीमध्ये एक हो स्टार अस्पताल। सो अस्पतालको बोर्ड अफ डाइरेक्टरका सदस्य डा. अनिल पोखरेलले टेस्टको सेन्सिटिभिटी (भाइरस पहिचान गर्ने क्षमता)ले फरक परेको हुनसक्ने बताउँछन।

‘जतिसुकै राम्ररी प्ररीक्षण गरेपनि टेस्टको सेन्सिटिभिटी ६० देखि ७० प्रतिशत छ। १० जना पोजिटिभलाई पुनः टेस्ट गर्दा ६ वा ७ जनाको मात्रै पोजिटिभ देखाउँनसक्छ,’ उनले भने, ‘हाम्रोमा दैनिक १ सय २५ जनामा पोजिटिभ देखिन्छ। त्यसमध्ये ३० जनाको रिपोर्टमा समस्या देखिनसक्छ। जुन सेन्सिटिभिटीको समस्या हो।’

सोही कारण पहिलो रिपोर्टमा शंका लागेमा उपचारका क्रममा आफूहरुले पुनः परीक्षण गर्ने गरेको उनी बताउँछन।

त्यसबाहेक संक्रमणको पहिलो दिन दिएको स्वाव भन्दा तेस्रो दिनपछिको स्वावमा मात्रै राम्रो भाइरस पहिचान गर्ने क्षमता भएको हुनाले कुन दिन परीक्षण गरियो भन्नेले पनि फरक पार्ने उनको भनाइ छ।

छानविन टोली गठन
नेपाल र विदेशमा परीक्षण रिपोर्टहरु फरक फरक आएको विषयमा अध्ययन गर्न लागि स्वास्थ्य मन्त्रालयले बिहीबार छानविन समिति गठन गरेको छ।

मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक डा.मुकुन्दा शर्माको संयोजकत्वमा छानविन समिति गठन गरेको हो। समितिलाई मन्त्रालयले उपलब्ध गराएका यात्रुको परीक्षण रिपोर्टको भेरिफाईका लागि ४८ घण्टाको समय उपलब्ध रहेको संयोजक डा. शर्माले बताइन्।

‘हामीले ल्याबमा गई हरेक मान्छेको आईडीबाट उनीहरुको रिपोर्ट निकाल्छौं र भेरिफाई गर्छौ,’ शर्माले भनिन्, ‘भेरिफाई गरेपश्चात् के समस्या रहेछ पत्ता लाग्नेछ।’

सरकारी ल्याबका रिपोर्टलाई मात्रै मान्यता दिन माग
निजी प्रयोगशालाले उपलब्ध गराएका रिपोर्टमा समस्या देखिएपछि नेपाल वायुसेवा निगमले सरकारी ल्याबमा गरिएका परीक्षणलाई मात्रै मान्यता दिने गरी व्यवस्था मिलाइदिन पर्यटन मन्त्रालयसँग अनुरोध गरेको छ।

वायुसेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले समस्या पटकपटक दोहोरिएको र निगमको उडानको छविमा असर पुगेकाले सरकारी ल्याबको रिपोर्टलाई मात्रै मान्यता दिन आग्रह गरेर पर्यटन मन्त्रालयमा पत्र पठाएको बताइन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .