समाज


डाक्टर भन्छन्ः कोरोना संक्रमित अन्तिम अवस्थामा अस्पताल पुग्दा मृत्युदर बढ्यो

डाक्टर भन्छन्ः कोरोना संक्रमित अन्तिम अवस्थामा अस्पताल पुग्दा मृत्युदर बढ्यो

यज्ञराज जोशी
मंसिर १७, २०७७ बुधबार १२:१८,

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ। पछिल्लो एक हप्तामा मात्रै कोरोनाबाट १६८ जनाको ज्यान गएको छ।

मंसिर १० गते २८ जना, ११ गते २३ जना, १२ गते २३ जना, १३ गते १९ जना, १४ गते २५ जना, १५ गते २९ जना र १६ गते २१ जनाको संक्रमणबाट निधन भएको छ। यो तथ्यांकअनुसार प्रतिघण्टा औसत एक जनाको मृत्यु भइरहेको देखिन्छ।

एक महिनाअघि कात्तिक १६ गते नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९६० थियो। त्यो संख्या बढेर मंसिर १६ गतेसम्म १ हजार ५२९ पुगेको छ।

संक्रमितहरु अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्न थालेकाले मृत्युदर बढेको सरुवा रोग विशेषज्ञ डा. अनुप सुवेदी बताउँछन्।

‘अस्पतालका जनरल वार्ड खाली छन्। तर सिकिस्त भएपछि मान्छेहरु अस्पताल पुग्दा आईसीयू, भेन्टिलेटर भने भरिभराउ छन्। अन्तिम अवस्थामा अस्पताल पुग्दा मृत्युदर बढिरहेको छ,’ उनले भने।

नेपालमा बुधबारसम्म सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ छ। जसमध्ये १० हजार ७४१ जना होम आइसोलेसनमा छन् भने बाँकी अस्पताल र संस्थागत आइसोलेसनमा बसेका छन्। हाल नेपालमा ३६५ जना आईसीयू र ६४ जना भेन्टिलेटरमा उपचाररत छन्।

अधिकांश संक्रमितहरु घरमै हुँदा अक्सिजन लेभल घटेको थाहा नपाएर अन्तिम अवस्थामा अस्पताल पुग्दा बचाउन गाह्रो हुने गरेको अनुभव सुवेदीको छ।

‘बिरामीहरु समयमै अस्पताल पुगे उनीहरुलाई आइसीयू, भेन्टिलेटर चाहिँदैन वार्डमै राखेर निमोनिया, कोभिडलाई दिइने औषधि दिएर निको पार्न सकिन्छ,’ सुवेदीले थपे, ‘अन्तिम अवस्थामा गम्भीर बनेर अस्पताल पुगेका वृद्धवृद्धा र दीर्घरोगीहरुको मृत्यु भइरहेको छ।’

सुवेदीले सरकारी तथ्यांकमा भन्दा मृतकको संख्या बढी हुनसक्ने आकलन गरे। कतिपयको घरमै मृत्यु भएको र शंकास्पदको मृत्युपछि परीक्षण नगर्ने कारणले मृत्यु संख्या कम देखिएको उनी बताउँछन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाले पछिल्लो समय संक्रमणका कारण निधन हुनेहरु प्रायः अन्तिम अवस्थामा अस्पताल पुग्ने जेष्ठ नागरिक रहेको बताए।

‘यस रोगमा अक्सिन स्वाट्टै घटेको थाहै हुँदैन। संक्रमित जेष्ठ नागरिकहरु घरमै छन्। उनीहरुको नियमित रेखदेख पुगेको छैन। अस्पताल पुग्दा ढिलो भइरहेको छ,’ बास्तोलाले भने, ‘होम आइसोलेसनमा जेष्ठ नागरिक के गरिरहेका छन्? कस्तो अवस्थामा छन्? एकदमै ध्यान पुर्‍याउन जरुरी छ।’

यस्तै उनले कतिपय संक्रमितहरु बिरामी भएपनि सिटामोल खाएर बस्ने, अस्पताल नजाने गरेकाले मृत्युदर बढेको बताए।

‘संक्रमित बढेसँगै गम्भीर खालका बिरामीहरु पनि बढ्छन्। यस्तोमा ज्वरो त हो। सिटामोल खाएर निको भइहाल्छ भनी हेलचेक्र्याइँ गर्नुहुँदैन। दीर्घरोगी वृद्धवृद्धा लक्षण देखिनेबित्तिकै अस्पतालको सम्पर्कमा जानुपर्छ,’ बास्तोलाले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .