समाज


तथ्यांकमा किन कम देखियो कोरोना? विज्ञ भन्छन्- जोखिम उत्तिकै

तथ्यांकमा किन कम देखियो कोरोना? विज्ञ भन्छन्- जोखिम उत्तिकै

यज्ञराज जोशी
मंसिर २६, २०७७ शुक्रबार ११:१०,

एक समय २४ घण्टामा पाँच हजारबढी कोरोना संक्रमित भेटिएको नेपालमा पछिल्लो समय सरकारी तथ्यांकअनुसार सो भाइरसबाट संक्रमित हुनेहरुको संख्या घट्दै गएको छ।

गत कार्तिक ५ गते नेपालमा ५ हजार ७४३ जनामा संक्रमण देखिएको थियो। कार्तिक महिनामा नेपालमा दैनिक औसत तीन हजारको हाराहारीमा संक्रमण देखिएको थियो।

तर मंसिर लागेपछि भने नेपालमा संक्रमितको संख्या ओरालो लागेको देखिन्छ। मंसिर १ देखि १७ गतेसम्म औसत १५ सय जनामा संक्रमण देखिएको छ। १८ गतेयता संक्रमणदर अझै घटेको देखिन्छ।

मंसिर १८ गते १३ सय ४३, मंसिर १९ गते १२ सय ७२, मंसिर २० गते १ हजार २४, मंसिर २१ गते, १ हजार ९६, मंसिर २२ गते १ हजार १४, मंसिर २३ गते १३ सय ८२, मंसिर २४ गते १ हजार ५६, मंसिर २५ गते १२ सय १७ जनामा संक्रमण देखिएको छ।

कार्तिक ५ मा नेपालमा सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ भएकोमा शुक्रबार यो संख्या १२ हजार ३८६ मात्रै छ।

जनस्वास्थ्यविद् तथा चिकित्सकहरुले भने तथ्यांकमा कमी देखिएपनि जोखिम यथावत रहेको बताएका छन। उनीहरुले पहिलेको तुलनामा आधा बढी परीक्षण घटेकाले संक्रमितको संख्यामा कमी देखिएको बताए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिट प्रमुख डा.शेरबहादुर पुनले परीक्षण नै कम संख्यामा भएकाले संक्रमितको संख्या पनि कम देखिएको बताए।

‘पहिले गाउँगाउँमा आशंका लागेकालाई अलग्गै राखिन्थ्यो। कन्ट्याक्ट ट्रेसिङमा परेकालाई परीक्षण गरिन्थ्यो। शंका लाग्ने बित्तिकै मानिसहरु परीक्षणमा आउथे,’ पुनले भने, ‘अहिले गाउँघरमा पनि वास्ता छैन। कन्ट्याक्ट ट्रेसिङ पनि हुँदैन र मानिसहरु पनि गाह्रो भएपछि मात्रै जचाउँन आउन थालेकाले परीक्षणसँगै संक्रमित संख्या पनि घटेको हो।’

नेपालमा दैनिक परीक्षणमा देखिने संक्रमण दर अझै पनि उच्च छ। कुल परीक्षणको १२ प्रतिशतभन्दा माथिको संक्रमणदरलाई उच्च मानिने गर्छ। पछिल्लो एकहप्ता नेपालको संक्रमणदर औसत १५ प्रतिशतभन्दा माथि छ।

बिहीबार ७ हजार २३३ जनाको परीक्षण गर्दा १३.५ प्रतिशतमा संक्रमण देखिएको थियो। जुन अघिल्लो एकसाता यताकै कम संक्रमणदर हो।

सशस्त्र प्रहरी बल अस्पतालका डा. प्रवीण नेपालले परीक्षण नै कम भएर संक्रमणको दर पनि कम देखिएकोे बताए। उनले सामान्य बिरामी हुँदा मानिसहरु परीक्षण पनि नगर्ने र अस्पताल पनि नआउने क्रम बढेको अनुभव सुनाए।

‘अहिले लक्षण नभएका संक्रमित घरमै बसेर आफैँ निको हुने गरेका छन्’, उनले भने, ‘अस्पताल आएर उपचार गराउनेको संख्या पनि कम हुँदै गएको छ। मानिसहरु गाह्रो अवस्थामा मात्रै अस्पताल आउने गरेका छन।’

डा. पुनले संक्रमित संख्या कम देखिए पनि परीक्षणका तुलनामा संक्रमणदर कम नभएकाले जोखिम कम भएको भन्न नमिल्ने बताए।

‘परीक्षणको दायरालाई बढायो र संक्रमण दर कम देखियो भने जोखिम कम भयो भन्न सकिन्छ,’ पुनले भने, ‘समुदायमा परीक्षण पनि भएको छैन। मानिसहरु पनि जाँच गर्न आउदैँनन। संक्रमण समुदायमै लुकेको छ कि जस्तो छ। अहिले नै संक्रमण कम भयो भन्नु हतारो हुन्छ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले काठमाडौंमा एक हजार चार सय जनाको एन्टिजेन परीक्षण गर्दा दश प्रतिशतलाई संक्रमण देखिनु समुदायमा संक्रमण रहेको प्रमाण भएको उनले बताए।

सरकारले पनि अहिले संक्रमित कम देखिए पनि जोखिम यथावत रहेको बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले खोप नलगाउँदासम्म संक्रमणको जोखिम कायमै रहेको बताए।

‘अहिले संक्रमण केही कम भएको जस्तो देखिन्छ। तर जोखिम घटेको भने हैन,’ प्रवक्ता गौतमले भने, ‘शहर बजार खुलेका छन। चहलपहल बढेको छ। स्वास्थ्य मापदण्डको पालना नगर्दा संक्रमण अझै बढ्ने खतरा हुन्छ।’

प्रवक्ता गौतमले पहिलेभन्दा स्वास्थ्य सुबिधामा नागरिकको पहुँच बढेकाले संक्रमितहरु निको हुने क्रम पनि बढेको दाबी गरे। निको हुने क्रम बढेकैले सक्रिय संक्रमितको संख्यामा कमी आएको उनी बताउँछन।

गत असोज २८ गते कुल संक्रमितमा निको हुने दर ६८.८ प्रतिशतमात्रै थियो। तर पछिल्लो समय निको हुने दर ९० प्रतिशतभन्दा बढि छ। मंसिर १९ गते ९२.९, २० गते ९३.४, २१ गते ९३.७, २२ गते ९४, २३ गते ९४.१ र २४ गते ९४.३ प्रतिशत र मंसिर २५ गते ९४.२ प्रतिशत संक्रमित निको भएका छन।

‘लक्षण देखिएका र मापदण्डमा पर्नेहरुको परीक्षण भएको छ। कैयौंले निजी ल्याबमा पनि परीक्षण गरेका छन,’ प्रवक्ता गौतमले भने, ‘परीक्षण कमी भएको नभई परीक्षणमा आउने नै घटेका छन। निको हुनेहरुको संख्या पनि बढेकाले संक्रमितको संख्या घटेको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .