समाज


चित्रकार बन्ने सपना छाडेर विनोदले डोल्पामा छरेको शिक्षाको उज्यालो

चित्रकार बन्ने सपना छाडेर विनोदले डोल्पामा छरेको शिक्षाको उज्यालो

यज्ञराज जोशी
पुस ६, २०७७ सोमबार १४:५९,

२०७२ सालको भूकम्पले भत्काएको उनको घर अझै बनिसकेको छैन। घरमा बुबा, आमा र दुई बहिनी छन्। परिवारको सबै जिम्मेवारी उनकै काँधमा छ। तर, उनी भने डोल्पाली बालबालिकालाई पढाउने जिम्मेवारी बोकेर हिँडेका छन्।

उनी हुन्, डेढ दशकयता उपल्लो डोल्पाको शिक्षा सुधारका लागि काम गर्दै आएका विनोद शाही। डोल्पाली बालबालिकालाई पढाउन स्वयंसेवक शिक्षकदेखि विनोदले आवश्यक शैक्षिक सामाग्रीको जोहो समेत गरिदिँदै आएका छन्। डेढ दशकको उनको यही मेहनतका कारण स्थानीयले उनलाई नाम दिएका छन्– हिमाली सर।

यसैसाता विनोदलाई इसिमोड नेपालले २५ सय डलर (दुई लाख नब्बे हजार रुपैयाँ) को माउन्टेन पुरस्कार दियो। व्यक्तिगत कठिनाइसँग जुधिरहेपनि उनलाई यो पैसाको कुनै लोभ छैन।

‘यो पुरस्कार त मैले डोल्पाका नामले पाएको हो। डोल्पाकै लागि खर्च हुन्छ,’ विनोद भन्छन्, ‘अघिल्लो वर्ष डोल्पामा स्वयंसेवक शिक्षकहरु पठाउँदा उनीहरुको खर्च दिन सकेको थिइनँ। यसै पुरस्कार रकमबाट उनीहरुको खर्च निम्ट्याउने योजना छ।’

गतवर्ष उनले सञ्चालन गरेको ‘स्नो याक फाउन्डेसन’ले स्थानीय र काठमाडौंबाट गरी डोल्पामा १८ जना स्वयंसेवक शिक्षक परिचालन गरेको थियो।

शाहीले २०६२ बाट उपल्लो डोल्पामा स्वयंसेवक शिक्षकका रुपमा काम गर्न थालेका हुन्। त्यसयता उनले थुप्रै विद्यार्थीहरुलाई पढ्ने वातावरण तयार गराएका छन्। कागजमा मात्र सिमित विद्यालयहरुमा विद्यार्थी जुटाएर पठनपाठन गराएका छन्। उनको फाउन्डेसनले प्रत्येक वर्ष डोल्पामा शिक्षक पठाउँछ। ती शिक्षककोे खर्चको व्यवस्थापन उनैले गर्छन्।

यसै कामका लागि उनी शिक्षा क्षेत्रको ‘नोबेल पुरस्कार’ मानिने ‘वार्की ग्लोबल टिचर’ अवार्डका लागि ५० हजार प्रतिस्पर्धीबाट छानिएर अन्तिम ५० जनाको सूचीमा पर्न सफल भएका थिए।

उनलाई उक्त पुरस्कार जित्छु र त्यहाँबाट आउने रकमले डोल्पाली बालबालिकाकाको शिक्षामा आमूल परिवर्तन ल्याउँछु भन्ने लागेको थियो। तर, आवश्यक कागजान उपलब्ध नगराउँदा उनी शीर्ष ५० मै रोकिए।

614A0865.jpg

‘थुप्रै मनोनयनमा परेकाहरुले मेरो संघर्ष देखेकाले तिमीले नै जित्छौ पनि भन्नु भएको थियो। त्यसबेला मेरो डक्युमेन्ट्समात्रै पुगेको भए पुरस्कार स्वरुप एक मिलियन डलर पाउँथेँ। त्यसले डोल्पाको शिक्षामा कायाकल्प गर्न मद्दत पुग्थ्यो,’ शाहीले अपूरो सपना सुनाए।

यसपटक लकडाउनका बेला उनी लामो समय घरमै थुनिए। त्यसबेला उनलाई एउटा प्रश्नले नराम्ररी चिमोटिरह्यो– के मैले परिवारप्रतिको कर्तव्य पुरा गरेको छु त?

‘डोल्पा डोल्पा भन्दाभन्दा आफूसँग सुक्को छैन। साथीभाइलाई सरसापट मागेर कति चल्छ? आफू मागेर देश चलाउहुन्न भन्ने सोच राख्थँे तर आफै भने मागेर चलाइरहनु परेको छ,’ उनले भने, ‘यसले लकडाउनभरी सताइरह्यो।’

उनलाई भेट्न नरदेवी, भुरुङखेलस्थित घरमा पुगेका हामीलाई उनले सुनाए– ‘छोरा, दाइका रुपमा सामाजले जुन अपेक्षा गर्छ, ती कुरा मैले पुरा गर्न पाएको छैन।’

‘मेरा पनि चाहना छन्। तर, तिनलाई एकछेउ राखेर म डोल्पामै रमाएको छु,’ उनले थपे, ‘कहिलेकाँही छोराको जिम्मेवारी नधानेर आमाबुबाप्रति अन्याय गरिरहेको छु जस्तो लाग्छ। तर, भौतिक, आर्थिक रुपमा केही नपाएपनि छोरा राम्रो काम गर्दैछ भन्ने महसुस उहाँहरुले गर्नुभएको छ।’

आफूलाई उनी जोगी भन्छन्।

‘जसरी जोगीले संसारको राम्रोका लागि ध्यानज्ञान गर्छ। उसलाई सबैले खुसीले सकेको सहयोग गरिरहेका हुन्छन्,’ उनले भने, ‘मलाई पनि कसैलाई भन्न नपरी पु¥याइदिएका छन। हामीसँग धेरै मिठो खाने छैन। राम्रो बस्ने छैन होला। तर जे छ, त्यसैमा सन्तुष्ट छौं। घर सानो छ तरपनि यहाँ सबै अट्छौं।’

614A0904_1.jpg

डोल्पा सम्बन्ध
२०६१ सालमा स्नातकमा अध्ययन गर्दैगर्दा उपल्लो डोल्पाबाट जाडो छल्न काठमाडौं आएका विद्यार्थीलाई उनले काठमाडौंमै पढाउने मौका पाएका थिए। झण्डै ६ महिना उनीहरुलाई पढाएपछि हिमालपारिको जिल्लाका अधिकांश स्कुल वर्षैभरी बन्द हुने उनले थाहा पाए। दरबन्दीका सरकारी शिक्षक विकट गाउँ बस्नै नमान्ने, हाजिर मिलाएर तलब भने बुझिरहने प्रवृत्तिले विद्यार्थी पढाइबाट बञ्चित हुनुपरेको अवस्थाबारे थाहा पाए।

माथिल्लो डोल्पाको यो अवस्था बुझेपछि उनले स्थानीयहरुसँग कुराकानी गरे। त्यसपछि फाइनआर्ट अध्ययन गरिरहेका उनले चित्रकार बन्ने सपनालाई बिट मार्दै डोल्पाली बालबालिकालाई पढाउने नयाँ सपना बुने र २४ वर्षका यी तन्नेरी डोल्पाका विकट गाउँको यात्रामा निस्के।

त्यहीबेला माओवादी जनयुद्घ उत्कर्षमा थियो। दिनदिनै भिडन्तका समाचार आइरहन्थे। बुबाआमाले एक्लो छोरालाई त्यस परिस्थितिमा गाउँ नजान पनि भनेका हुन्। तर, उनी आमाबुबालाई सम्झाइबुझाइ डोल्पा लागे।

‘सुविधाका नाममा केही थिएन। सडक, सञ्चार केही थिएन। एक गाउँबाट अर्को गाउँ पुग्न घन्टौं हिँड्नुपथ्र्यो,’ विनोद पहिलोपल्ट डोल्पा पुग्दाको अनुभव सुनाउँछन्, ‘गरिबी र अभावबीच पनि मानिसहरु हाँसीखुसी बाँचेका थिए। तर शिक्षा र चेतनाको भने अभाव थियो।’

त्यही अभाव पुरा गर्ने अठोट थियो विनोदसँग। माथिल्लोे डोल्पास्थित शेर्ली डुक्द्रा निमावि साल्दाङबाट उनले स्वयंसेवक शिक्षकका रुपमा पढाउन सुरु गरे। स्थानीयले खाने बस्ने व्यवस्था मिलाइदिएका थिए। उनी परेका सबै विषय पढाउँथे। अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई व्यस्त गराउँथे, कथावाचन गर्थे। चित्रकला सिकाउँथे।

साल्दाङमै पढाइरहेका बेला प्रत्येक शनिबार उनी पाँच घण्टा टाढाको कोमाङ गाउँमा पुग्थे। जहाँको शैक्षिक अवस्था झनै नाजुक थियो। २०३२ सालमा तत्कालीन राजा वीरेन्द्रले यहाँ स्कुल त स्थापना गरेका थिए तर द्वन्द्वकालमा त्यसको भौतिक अस्तित्व नामेट भइसकेको थियो। स्कुल नै नभएपछि स्थानीयहरुसँगको सरसल्लाहमा प्रत्येक शनिबार उनले त्यहाँ बालबालिकालाई जम्मा पारेर पढाउन थाले।

उनीसँग बालबालिका झुम्मिन थालेपछि स्थानीयहरुको बन्द रहेको दशरथचन्द प्राथमिक स्कुलसुरु गर्न र त्यहीँ पढाउन उनलाई अनुरोध गरे। जसलार्ई स्वीकार्दै उनले साल्दाङबाट विदा भएर कोमाङमा पढाउन थाले। सन् २००८ देखि २०१० सम्म उनी उक्त स्कुलको प्रिन्सिपल भए। त्यसपछि उनले सन् २०११ मा बन्द रहेको निसारस्थित याङ्जेर गुम्बा प्राथमिक विद्यालय पनि उनले सञ्चालन गरे।

614A0849.jpg

‘बन्द रहेका विद्यालयहरु सञ्चालन त भए तर शिक्षकको समस्या भने जस्ताको तस्तै थियो,’ शाहीले सम्झे, ‘त्यसपछि काठमाडौं आएर मजस्तै स्वयंसेवक शिक्षकको खोजीमा लागेँ।’

सामाजिक सञ्जालमार्फत स्वयंसेवक शिक्षक आह्वान गरेपछि धेरैले चासो देखाए। उनीहरुलाई आफूसँगै विनोदले डोल्पा लगेर गए। ६ महिनासम्म बस्नुपर्ने उनीहरुका लागि खाने, बस्ने व्यवस्था गर्नुपथ्र्यो। सानोतिनो खर्च दिनुपर्ने हुन्थ्यो। विद्यार्थीका लागि कापी, किताब, ड्रेस पनि आवश्यक थियो।

त्यही कुरा ध्यानमा राख्दै उनले केही साथीभाइसँग मिलेर ‘स्नो याक फाउन्डेसन’ खोले। जसले नेपाली दाताबाटै स्कुल सञ्चालन गर्दै डोल्पामा पुगेका शिक्षकहरुको व्यवस्थापन गर्ने गर्छ। विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्री उपलब्ध गराउँछ।

‘तीन स्वयंसेवक शिक्षक र ३२ जना विद्यार्थीबाट हामीले अभियान सुरु गरेका थियौं। अहिले ५६ शिक्षक र १८ गाउँका विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेका छौं,’ उनले भने, ‘यसबाट १८ सय बढी विद्यार्थी लाभान्वित भएका छन्।’

अब स्वयंसेवकको सेवा नलिने
विनोद आफूहरुको अभियानको पहिलो चरणको काम सकिएको बताउँछन्। उनीहरुको अभियानसँगै स्थानीयहरु पनि जोडिन थालेपछि ‘मागेरै’ चलाउनुपर्ने अवस्था न्यून हुँदै गएको उनले बताए।

‘अहिले स्थानीयस्तरमै शिक्षित जनशक्ति उत्पादन भइसक्यो। मैले पढाएका विद्यार्थी कोही वडाध्यक्ष छन्, कोही गाउँपालिकामा काम गर्छन्, बैंकमा छन्,’ उनले भने, ‘अब बाहिरको मान्छे गएर गर्नुपर्ने अवस्था त्यहाँ कम छ। उनीहरुले हामीलाई शिक्षक पठाइदिन मात्रै भन्छन्। त्यसका लागि लाग्ने लगभग ९० प्रतिशत खर्च आफैँ बेहोर्न थालेका छन्।’

विनोद पनि अब स्वयंसेवकको सहयोग नलिने अभियानमा छन्। स्थानीयस्तरमा उत्पादन हुने चिया, छुर्पी, सिमी, चिनो, ओखर, स्याउ बेच्ने र त्यसबाट आएको फाइदाले त्यहाँका लागि आवश्यक आर्थिक व्यवस्थापन गर्ने उनको योजना छ। उक्त अभियानमार्फत अब तलबै दिएर काम गराउने वातावरण बनोस् भन्ने आफूले चाहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .