२०७२ सालमा एमएमबीबीएसको पूर्ण छात्रवृत्तिमा नाम निकालेका रामजी राम वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा भर्ना भएका थिए। त्यही वर्षदेखि सरकारले आर्थिक अवस्था कमजोर भएका डोम, मुसहर, बादी र चमार समुदायका विद्यार्थीलाई एमबीबीएसका लागि छात्रवृत्ति दिन थालेको थियो।
सरकारले उनको एमबीबीएसको शुल्क तिरिदिन्थ्यो। होस्टल र खाना खर्चवापत मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराउँथ्यो। तर, त्यो पाँच हजारले कलेजले तोकेको अतिरिक्त शुल्क तिर्न पुग्दैनथ्यो। होस्टल, खाना, पुस्तकालय, इन्टरनेट, ल्याब, आदिका नाममा मेडिकल कलेजहरुले विद्यार्थीबाट लाखौँ असुल्दै आएका छन्।
अत्यन्त गरिब परिवारका रामले त्यत्रो रकम तिर्नसक्ने कुरै थिएन। कलेजले शुल्क नतिरे परीक्षामा बस्न नदिने धम्की दिन्थ्यो। उनी अर्को वर्ष सबै रकम तिर्ने अनुनय गर्थे र परीक्षा दिन्थे। यसैगरी उनी अन्तिम वर्षसम्म आइपुगे।
तर, यसवर्ष कलेजले बाँकी सबै रकम नतिरे अन्तिम वर्षको फारम नै भर्न नदिने बतायो। उनले सुनेका थिए– सर्टिफिकेट धितो राखेर बैंकले ऋण दिन्छ रे। उनी एसएलसी र प्लस टूको सर्टिफिकेट बोकेर बैंक पनि धाए। तर, हरेक बैंकले ऋण तिर्न सक्ने आधार खोज्थ्यो। आम्दानीको स्रोत माग्थ्यो।
‘नदी किनारको खेतमा नंग्रा खियाउँदै मेरो बुबाले जसोतसो सात जनाको परिवार पालिरहनुभएको छ। घरमा हातमुख जोड्नै गाह्रो भएको अवस्थामा मैले कहाँबाट आम्दानीको स्रोत देखाउनु,’ रामले भने, ‘आम्दानीको स्रोत छैन, ऋण तिर्न सक्दैनौ भनेर मलाई कुनै पनि बैंकले पत्याएन।’
बैंकबाट निराश बनेपछि उनी सरसापट माग्न थाले। चिनेजानेका सबैलाई गुहार्दा पनि दुई लाख रुपैयाँ मात्र उठ्यो। उनलाई अझै चार लाख रुपैयाँ अपुग थियो। केही उपाय नलागेपछि उनले सामाजिक सञ्जालमा सहयोग मागे।
दान होइन, आफूलाई ऋण दिन उनले आह्वान गरेका थिए। पढाइ पूरा भएपछि सबैको पैसा ब्याजसहित फिर्ता गर्ने बाचा उनले गरेका थिए। नभन्दै उनको यो उपाय काम लाग्यो। दुई दिनमै उनी सात लाख रुपैयाँ जुटाउन सफल भएका छन्।
‘आफूले पैसा तिर्नै नसक्ने भएपछि ऋणका लागि सार्वजनिक अपिल गरेको हुँ,’ रामले भने, ‘सबैको सहयोगले डाक्टर बन्ने मेरो सपना पुरा हुने भएको छ।’
आफूलाई सहयोग गर्नेहरुप्रति कृतज्ञतासहित उनले भने, ‘मर्नुभन्दा अघि सबैको ऋण तिरेरै छाड्छु।’
***
रौतहटको गढीमाई नगरपालिका ९ मा जन्मिएका हुन् राम। उनको परिवारमा बुबाआमा र पाँच भाइबहिनी छन्।
हजुरबुबाको पालामा उनको परिवारले गाउँमा मरेका वस्तुभाउ फाल्ने काम गर्थ्यो। तिनै वस्तुभाउको छाला बेचेर आएको आम्दानीले उनको परिवार चल्थ्यो।
उनकी हजुरआमा पहिले गाउँघरमा सुँडेनीको काम गर्थिन्। अहिले आमाले त्यो काम गर्छिन्। खोलाको किनारमा थोरै खेत छ। त्यसबाहेक उनका बुबा भोला राम मजदुरी गर्छन्। त्यही आम्दानीबाट उनको परिवार चलिरहेको छ।
गाउँमा ठूलाबडाका छोराछोरी स्कुल गएको देखेपछि भोलाले पनि रामलाई पढाउने सपना देखे र गाउँको प्राथमिक स्कुलमा भर्ना गरे। त्यहीबेला उनको खेत हुँदै नहर खनियो। मुआब्जाबाट आएको रकमबाट भोलाले भैँसी किने। त्यही भैँसीको दूध बेचेर उनले छोराछोरी पढाइ खर्च धाने।
रामले जसोतसो गाउँकै स्कुलबाट पहिलो श्रेणीमा एसएलसी पास गरे। त्यसपछि के पढ्ने, उनलाई थाहा थिएन। उनका सहपाठीहरुले विज्ञान विषय पढ्नुपर्छ भने। रामले पनि त्यही सोच बनाए। तर, उनका सहपाठी पढ्न काठमाडौँ, हेटौँडा र जनकपुर गए। उनी जान सकेनन्।
‘बुबाले यहीँ पनि पढाइ हुन्छ। सबैतिर पढाइ हुने किताब उही हो। विद्यार्थीले मिहिनेत गरेपछि जहाँ पनि राम्रो गर्छ भन्नुभयो,’ राम सम्झिन्छन्, ‘बुबाले मसँगै अन्य चार भाइबहिनी, परिवारको जिम्मेवारी पनि उठाउनु थियो। अनि म गरुडाको कलेजमा भर्ना भएँ।’
कलेजमा प्रथम हुनेले छात्रवृत्ति पाउँथ्यो। उनी पनि डटेर पढ्न थाले। प्रथम भएपछि छात्रवृत्ति हासिल गरे। त्यसकारण उनको पढाइमा ठूलो खर्च भएन।
तर, एक दलित विद्यार्थीका लागि पढाइमा अब्बल हुनु मात्र काफी थिएन। उनीमाथि पाइलैपिच्छे विभेद, अपमान र हिंसा हुन्थ्यो। बस्ने कोठा पाउँदैनथे। दलित भन्ने थाहा पाएपछि कोठाबाट निकालिन्थ्यो।
‘चमार भएकै कारण एक पटक मलाई कोठाबाट निकालिदिएका थिए,’ उनले सम्झे।
पछि कलेजकै एक शिक्षक प्रकाशचन्द्र झाले उनलाई होस्टेलमा निशुल्क बस्ने व्यवस्था मिलाइदिए। त्यसपछि उनलाई पढ्न सहज भयो।
***
प्लस टूपछि उनी घरमै बसिरहेका थिए। उनका भिनाजु बनेपामा प्रेसर कुकर बनाउने काम गर्थे। घर आएका बेला भिनाजुले उनलाई भने– ‘मसँग हिँड। केही काम पाइयो भने गरौँला।’
भिनाजुसँगै बनेपा पुगेपछि उनले कुकर बनाउने काम थाले। गाउँका चिनेका मानिसहरु टेकुस्थित सुकुम्बासी बस्तीमा बस्थे। उनीहरु फेरी लगाउने जोगी थिए। बेलाबेला राम उनीहरुलाई पनि भेट्न जान्थे।
‘एकदिन प्रकाशचन्द्र सरले फोन गर्नुभयो,’ रामले भने, ‘उहाँले एकजना सरको नाम दिनुभयो, जसले मलाई इन्जिनियरिङमा छात्रवृत्ति मिलाइदिन सक्ने उहाँले बताउनुभयो।’
राम र उनका भिनाजु ती सरलाई भेट्न गए। सरले तयारीका लागि चार हजार लाग्ने, परीक्षा दिएर नाम निस्केपछि छात्रवृत्ति पाइने खबर सुनाए। रामले पनि त्यसै गर्ने निधो गरे।
बनेपा बसिरहेका रामलाई काठमाडौं आउजाउमा अप्ठेरो हुने भयो। त्यसैले उनी टेकुस्थित सुकुम्बासी बस्तीमा बसिरहेका गाउँकै जोगी पेसा गर्ने मानिसहरुसँग बस्न थाले।
‘सानो कोठा थियो। पानीको असाध्यै दुःख। दिनभरी उहाँहरुले भिक्षा मागेर ल्याउनुहुन्थ्यो। मैले पकाइदिन्थे,’ राम सम्झिन्छन्, ‘बिहान पढ्न जान्थेँ। दिनभर कोठामै पढ्थेँ।’
एकदिन तयारी कक्षा लिइरहेको कन्सल्टेन्सीका अमृत कर्णले उनलाई एमबीबीएसमा मधेसी दलितको कोटा रहेको र त्यसमा नाम निकाल्न सजिलो हुने बताए। तर, एमबीबीएसमा लाग्ने खर्च सुन्दै रामको होस उड्यो। छात्रवृत्ति पाए खर्च धेरै नलाग्ने भन्दै अमृतले सम्झाएपछि उनले इन्जिनियरिङ छाडेर एमबीबीएसको तयारी थाले।
तर पहिलो प्रयासमा उनको नाम निस्केन। उनी निराश भए। जिन्दगी बेकार भएको महसुस गरे।
‘त्यसदिन भद्रकाली मन्दिरमा बसेर घण्टौँ रोएँ,’ भावुक हुँदै उनले भने।
त्यसमाथि बसिरहेको कोठामा उनीहरुको आफन्त थपिएपछि उनी त्यहाँबाट पनि निस्किनुपर्ने भयो। तर, रामका लागि उनीहरुले सुकुम्बासी बस्तीमै एउटा सानो कोठा खोजिदिए। भिनाजुले सरसमान ल्याइदिए। तरकारी जोगीहरुले नै दिन्थे। सुकुम्बासी टोलका बच्चाहरुलाई मासिक ५० रुपैयाँमा बिहानबेलुका पढाएर रामले कोठाभाडा तिर्न पुग्ने पैसा जम्मा गर्थे।
उनले दोस्रो पटक पनि तयारी गरेर एमबीबीएसको परीक्षा दिने सोच बनाएका थिए। तर, कन्सल्टेन्सीलाई तिर्ने रकम थिएन। काठमाडौंमा एमबीबीएसको तयारी गराउने नाम चलेको इन्स्टिच्युट थियो– नेम।। उनी सरासर त्यहाँ गए र रिसेप्सनिस्टलाई सबै कुरा बताएर निशुल्क पढाइदिन आग्रह गरे।
रामको कुरा सुनेर भावुक भएका रिसेप्सनिस्टले उनलाई भने– ‘अहिले कक्षा लिँदै गर्नुस्। पछि निर्देशकलाई सबै कुरा भन्नू।’
पहिलो दिनको कक्षापछि शिक्षक विनोदकुमार यादवलाई पनि उनले सबै कुरा सुनाए।
‘विनोद सरले पनि अहिले पढ्दै जाऊ। म निर्देशकसँग कुरा राखौंला भन्नुभयो,’ रामले भने, ‘निर्देशक नवीन शर्मा सरलाई भेट्न जाँदा उहाँले गुरु दक्षिणास्वरुप दुई हजार रुपैयाँ तिर्न र बाँकी मिनाहा हुने बताएपछि म खुसी भएर फर्किएँ।’
यसपटक उनले राम्रो तयारी गरे। तर, नियति उही दोहोरियो। ०.४८ अंक कम आउँदा उनले छात्रवृत्ति पाएनन्। उनी वैकल्पिकको सूचीमा थिए। बीडीएस (दन्त चिकित्सक)मा भने उनको नाम पहिलो नम्बरमै थियो।
‘तर सरहरुले बीडीएसभन्दा अर्कोपटक एबीबीएस नै तयारी गर्न सुझाउनुभयो,’ उनले भने।
रामले पनि अर्कोवर्ष नाम निकालेरै छाड्छु भनेर अठोट गरे। त्यहीवर्ष भूकम्प गयो। राम घर फर्किए। केही समय हेटौँडा बसेर उनले २०७२ सालमा पुनः तेस्रो पटक परीक्षा दिए र ६८ प्रतिशत अंक ल्याए।
त्यही वर्ष बनेको नयाँ संविधानले चिकित्सा शिक्षामा मधेसी दलितको पहुँच बढाउने उदेश्यले नयाँ मापदण्ड निर्धारण गरेको थियो। त्यसअनुसार उनले एमबीबीएस पढ्न पाउने भए।
सरकारी छात्रवृत्तिबाट उनको नाम किस्ट मेडिकल कलेजका लागि सिफारिस भएको थियो। तर किस्टले १५ लाख रुपैयाँ अतिरिक्त रकम माग्यो। निशुल्क पढ्न पाइने भयो भनेर हौसिएका उनी कलेज पुग्नेबित्तिकै निराश भए। आफूले त्यत्रो रकम तिर्न नसक्ने बताएपछि किस्टले उनको भर्ना लिन मानेन।
त्यसविरुद्ध उनी अदालत गए। दलित आयोगले उनलाई सघाएको थियो। २०७२ फागुनमा अदालतले किस्ट मेडिकल कलेजलाई एउटा कोटा थपेर भएपनि रामलाई भर्ना गर्न आदेश दियो।
उक्त आदेशपछि त्रिविको आकस्मिक बैठक बस्यो। किस्टमा कोटा पनि पुरा भएको र रामले अतिरिक्त शुल्क पनि तिर्न नसक्ने भएपछि उनलाई वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा भर्ना गरिएको थियो। त्यसपछि बल्ल उनको एमबीबीएस पढ्ने सपना यथार्थमा बदलिन थालेको थियो।
***
सामाजिक सञ्जालमा गरेको आह्वानपछि उठेको रकम लगेर शुक्रबार कलेजको अतिरिक्त शुल्क तिर्ने रामको योजना छ। र, अन्तिम वर्षको परीक्षा पास गरेपछि ऋण समेत नपत्याइएका राम डाक्टर बन्नेछन्।
एमबीबीएसको पढाइ पुरा गर्न रामले एक होइन, दुई होइन, सयौँ बाधा पार गरे। दलित भएकै कारण अनेक पटक अपमान र विभेदको सिकार बनेका उनले कठिनतम संघर्ष गर्नुप¥यो।
यति दुःख गरेर डाक्टर बन्न लागेका रामको एउटै सपना छ– ‘मान्छे’ बन्ने। आफूलाई मान्छे रहन नदिने ‘चमार’ को पहिचान भत्काउने।
‘कर्मअनुसार जात बनेको हो भनिन्छ। पहिले मरेका जीवजन्तु फाल्ने, त्यसको छालाबाट आम्दानी गर्ने भएकाले हामीलाई चमार भनिएको हो रे,’ रामले नेपालखबरसँग भने, ‘अब मैले चिकित्सक कर्म गरेपछि सामाजमा मेरो जात पनि परिवर्तन होला। जन्मिँदा म मान्छे थिएँ। समाजले चमार बनायो। डाक्टरी गरेसँगै मेरोपनि जात ‘चमार’बाट बदलिएर ‘मान्छे’ होस् भन्ने चाहना छ।’
प्रतिक्रिया