समाज


हराएको ११ वर्षपछि आँगन टेक्दा भक्कानो छाडेर रोइन् मोमिना बेगम

हराएको ११ वर्षपछि आँगन टेक्दा भक्कानो छाडेर रोइन् मोमिना बेगम

यज्ञराज जोशी
पुस १०, २०७७ शुक्रबार ११:५,

बुधबार दिउँसो बंगलादेशको ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिँदा मोमिना बेगम भावुक थिइन्। उनी हराएको ११ वर्षपछि घर फर्किंदै थिइन्।

उनलाई आफ्नो घर पुर्‍याउन नेपाली टोली त्यहाँ पुगेको थियो।

मानसिक सन्तुलन ठिक नभएकी उनी बंगलादेशबाट भारत हुँदै नेपाल आइपुगेकी थिइन्। उनी यहाँसम्म कसरी आइपुगिन्, उनलाई सम्झना छैन।

२०७२ सालमा चितवनको रामनगरस्थित जंगलमा विक्षिप्त अवस्थामा मोमिना फेला परेकी थिइन्। प्रहरीको सहयोगमा मानव सेवा आश्रमको चितवन शाखाले उनलाई उद्धार गरेको थियो। कयौँ दिनदेखिको भोक र रोगले उनको अवस्था नाजुक थियो।

मानव सेवा आश्रमले उनलाई तत्काल भरतपुर अस्पतालमा उपचार गराएको थियो। पाँच वर्षसम्म औषधि उपचार र स्याहारसुसार पाएपछि बल्ल उनी बोल्नसक्ने भइन् र आफ्नो घर बंगलादेश भएको बताइन्।

मानव सेवा आश्रमले नै नेपालस्थित बंगलादेशी दूतावाससँगको सहकार्यमा उनको परिवारबारे खोजी गर्‍यो। ढाकाबाट झन्डै ७ घण्टाको दुरीमा पर्ने गाइबन्दा जिल्लामा उनको घर भएको पत्ता लाग्यो। त्यसपछि दूतावासकै सहयोगमा मानव सेवा आश्रमकी महासचिव सुशीला केसीसहितको टोली उनलाई घर पुर्‍याउन बंगलादेश गएका हुन्।

बुधबार दिउँसो ढाकास्थित अन्तरराष्ट्रिय विमानस्थलमा उनलाई लिन भाइ रसिद मिया, छोरा राजु र अलामिन आएका थिए। छोराहरुले आमा चिनेनन्। भाइ रासिदलाई देखेपछि मोमिना भने सम्हाल्न सकिनन।

एक्कासी आँगालो मारेर भक्कानिँदै हर्षका आँसु चुहाउन थालिन। त्यही दृश्यले विमानस्थलमा एकछिन भावुक दृश्य बनेको थियो। घटनाबारे थाहा पाएपछि त्यहाँ जम्मा भएकाले बङ्गाली भाषामा नेपालको खुलेर प्रशंसा गरेका थिए।

ढाकाबाट लामो यात्रापछि बिहीबार राति १ बजे उनीहरु मोमिनाको घर पुगेका थिए। लामो समयपछि मोमिना घर आउन लागेको थाहा पाएपछि मध्यरातसम्म पनि छरछिमेकका कोही सुतेका थिएनन्। उनीहरु सबै चकित थिए। आफन्तहरु मोमिनालाई सुम्सुम्याइरहेका थिए।

मोमिना हराउँदा उनका छोरा अलामिन ३ वर्षका मात्रै थिए। अहिले उनी १४ वर्ष भइसकेका छिन्।

‘धेरै खोज्दा पनि नभेटिएपछि हामीले त आशै मारिसकेका थियौं,’ अलामिनले भने, ‘यति वर्षपछि भेट्टाउँछौँ भन्ने त सोचेकै थिएनौं। तर भाग्यको खेल आमा फर्किनुभयो।’

एक दशकपछि पारिवारिक पुनर्मिलन हुँदा उनीसँगै परिवारका सदस्यहरुले आँसु थाम्न सकिरहेका थिएनन्। पुनःमिलनकै क्रममा आफू हराएको ११ वर्षमा बुबालगायत नजिकका सात जना आफन्तको निधन भएको खबर थाहा पाएपछि मोमिना सम्हालिन सकिनन। 

‘एकदमै भावुक क्षण थियो। आशा मारिसकेपछि छोराहरुले आमा पाएका थिए। त्यो देख्दा हाम्रा पनि आखाँ रसाए,’ मानव सेवा आश्रमकी केसीले भनिन्, ‘परिवार एकदमै हर्षित थियो। त्यसले हामीलाई पनि सन्तुष्टि दियो। आगामी दिन पनि उहाँको एकमदै राम्रो बितोस् भनी शुभकामना दिएर फर्कियौं।’

पाँचवर्ष मानव सेवा आश्रममा बसेकी मोमिना नेपाली बुझ्ने भएकी थिइन्। तर केही शब्दबाहेक बोल्न भने सक्दिन थिइन्। माया मारेको व्यक्ति ११ वर्षपछि टुप्लुक्क आइपुग्दा सबैले अङ्गालो मारेर खुसी साटे। मोमिनाको पुर्नजन्म भएको भनेर फूलमालाले स्वागत गरे। आश्रमको टोलीलाई पनि पुष्पगुच्छासहित सम्मान दिई विदाई गरे।

मानवसेवाको टोलीले अर्का व्यक्ति मोहम्मद बबुललाई ढाकास्थित नेपाली दूतावासमा राखेको थियो। मोमिनालाई घर पुर्‍याएर फर्केपछि सो टोली बबुललाई लिएर उनको घर मोमिनगञ्ज जिल्लातर्फ लाग्यो। जुन ढाकाबाट २ सय किलोमिटर टाढा थियो।

२०७२ साल फागुनमा लमजुङ बेसीसहरको जंगलमा लडिरहेको अवस्थामा उनी फेला परेका थिए। उनको परिवारका अनुसार बबुल १५ वर्षअघि घरबाट हिँडेका थिए।

आश्रममा लामो उपचारपछि तीन महिनाअघि मात्रै उनी बोल्नसक्ने अवस्थामा पुगेका थिए। उनले पनि आफ्नो घरपनि बंगलादेश भएको बताए।

बिहीबार साँझ नेपाली टोली बबुलको घर पुगेको थियो। घरमा उनका ७० वर्षका बुबा र आमा छन्। त्यस्तै तीन दाजुभाइ, श्रीमती र एक सन्तान छन्।

१५ वर्षपछि छोरा फर्केको कुरा उनकी आमाले पत्याउनै सकिरहेकी थिइनने। दोभाषेसँग कुरा गर्दै उनले नेपाली टोलीलाई धन्यवाद दिइन्। नेपाली टोलीको स्वागत गर्न परिवारले फलफुल तयार राखेका थिए। बबुलको नियमित खानुपर्ने औषधिका बारेमा जानकारी दिँदै नेपाली टोली त्यहाँबाट फर्कियो।

मानवसेवा आश्रमकी महासचिव केसीले यी दुई परिवारको पुनर्मिलन आफ्नो जीवनको सबैभन्दा ठूलो खुसीको क्षण भएको बताइन्।

‘जुन मिसनका साथ हामी बंगलादेश आएका थियौं त्यो पुरा भएको छ। हामीले दुवै परिवारको पुर्निमलन गरायौं,’ केसीले भनिन्, ‘धेरैले मलाई किन मानवसेवा, मानवसेवा भन्दै हिँडेको भन्नुहुन्थ्यो। यसरी परिवारबाट बिछोडिएका सदस्यहरुलाई पुनर्मिलन गराउँदा पाइने चरम आत्मसन्तुष्टिका लागि मैले आफूलाई यसमा समर्पित गरेकी छु।’

मानवसेवा आश्रमले यसअघि पनि तीनजना बंगलादेशी नागरिकसहित ५० जना विदेशी नागरिकको परिवारसँग पुनर्मिलन गराइसकेको छ। त्यसबाहेक आश्रममा अहिले बेवारिसे भेटिएका एघार सय बढीले आश्रय लिइरहेको उनले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .