समाज


नेपालले खोप माग्दै आठ कम्पनीलाई पठायो पत्र

नेपालले खोप माग्दै आठ कम्पनीलाई पठायो पत्र

यज्ञराज जोशी
पुस १३, २०७७ सोमबार १२:१४,

सरकारले कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराइदिन भन्दै उत्पादक कम्पनीहरुलाई पत्राचार गरेको छ।

अधिकांश कम्पनीले अर्को वर्षसम्म उत्पादन गर्ने करोडौँ डोज खोप सम्पन्न मुलुकहरुले रिजर्भ गरिसकेका छन्। नेपालजस्ता गरिब मुलुकले सन् २०२२ सम्म खोप नपाउने जोखिम बढिरहेका बेला सरकारले बल्ल कम्पनीहरुसँग खोप आपूर्तिका लागि सम्पर्क गरेको हो।

हालसम्म कोभ्याक्स सुविधामार्फत प्राप्त हुने खोप मात्र पर्खेर बसेको भन्दै सरकारको आलोचना हुने गरेको थियो।

हालसम्म आठ वटा कम्पनीलाई पत्राचार गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बाल स्वास्थ्य तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताए।

‘छिटो खोप आपूर्तिका लागि हामीले सबै प्रयास थालेका छौं,’ गौतमले भने, ‘अहिले तेस्रो चरणको परीक्षणमा रहेका कम्पनीहरुलाई पत्राचार गरिएको छ। केही कम्पनीबाट सकारात्मक जवाफ पनि आएको छ।’

हालसम्म ६३ वटा खोपहरु परीक्षणका विभिन्न चरणमा छन्। तीमध्ये फाइजर, मोर्डना, सिनोफार्म र गामालियाको स्पुतनिक भी खोपलाई विभिन्न देशले प्रयोग अनुमति दिएका छन्।

फाइजरबाट उत्पादित खोप बेलायतसहित १४ देशले प्रयोग गरिरहेका छन्। मोर्डनाको खोप अमेरिका र क्यानडामा प्रयोगको अनुमति दिइएको छ।

यस्तै सिनोफार्मले उत्पादन गरेको खोप यूएई, चीन र बहराइनमा प्रयोग हुँदैछ भने स्पुतनिक भी रुस, बेलारुसमा लगायत मुलुकमा लगाइँदैछ।

कोभ्याक्स सुविधाअन्तर्गत ६० लाख जनसंख्यालाई प्राप्त हुने खोप नेपालले २०२१ को पहिलो चैमासिकसम्म पाउने आशा गरिएको छ। तर, त्यसअघि नै कम्पनीहरुका खोप उपलब्ध भए नेपालले किन्ने मनसायका साथ कम्पनीसँगको कुराकानी अघि बढाइएको गौतमले बताए।

‘जहाँबाट पहिले छिटो खोप पाउँछौं, त्यहीँबाट खरिद गर्ने योजना बनाएका छौं,’ गौतमले थपे, ‘कम्पनीले कति उपलब्ध गराउन सक्छ, त्यसका लागि कुराकानी नियमित भइरहेको छ। अर्थ मन्त्रालयले पनि बजेटको अभाव नहुने जनाइसकेको छ।’

कोभ्याक्स सुविधाबाट ढिलो गरी खोप आएपनि सरकारले कम्पनीबाट सुरुमा कम्तीमा तीन प्रतिशत खोप किनेर अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र कोभिड संक्रमणको रोकथाम र व्यवस्थापनमा खटिने व्यक्तिहरुलाई लगाउने तयारी गरेको छ। जसको संख्या नेपालमा ९ लाख ११ हजार रहेको गौतमले जानकारी दिए।

अघिल्लो सातामात्रै भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतको सबैभन्दा ठूलो खोप उत्पादक सेरम इन्स्टिच्युटका प्रतिनिधिसँग भेटघाट गरेका थिए। उक्त भेटमा सेरमका निर्देशक प्रकाश सिंहले नेपाललगायत दक्षिण एसियाका देशलाई प्राथमिकतामा राखेको जनाएका थिए।

‘सेरमले उत्पादन गरिरहेको खोप नेपाली पूर्वाधार अनुकूल पनि छ। ढुवानी पनि सजिलो हुने भएकाले छिमेकी राष्ट्रका कम्पनीलाई प्राथमिकतामा राखिएको छ,’ गौतमले भने, ‘सेरमका प्रतिनिधिसँग राजदूत नै गएर भेटेपनि अन्य कम्पनीमा निरन्तर कुराकानी भइरहेका छन्। समयमै खोप ल्याउन सरकार प्रतिबद्ध छ।’

गौतमका अनुसार नेपालका २ करोड १६ लाख जनतालाई खोप लगाउनुपर्ने र त्यसका लागि करिब ५ करोड डोज खोप चाहिने आकलन गरिएको छ। उक्त संख्यामा खोप लगाउनका लागि ४८ अर्ब रुपैयाँ लाग्ने र त्यसको प्रतिबद्धता अर्थमन्त्रालयले जनाइसकेको उनले बताए।

नेपालले कसलाई पहिले खोप दिने भन्नेबारे कार्ययोजना पनि बनाइसकेको छ। स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा खटिएकापछि दोस्रो चरणमा ५५ वर्षमाथिका जेष्ठ नागरिक र र दीर्घ रोगीलाई खोप लगाउने तयारी गरिएको छ। उक्त समूहको संख्या नेपालमा ५१ लाख रहेको मन्त्रालयले जनाएको छ।

यस्तै तेस्रो चरणमामा ४० देखि ५४ वर्षका २९ लाख र १५ देखि ३९ वर्षका बाँकी १ करोड २७ लाखलाई अन्तिम चरणमा खोप दिने योजना सरकारको छ।

खोप पूर्वाधार बनाइँदै
नेपालले २ देखि ८ डिग्री सेन्टिग्रेटसम्मको तापक्रममा भण्डारण गर्न सकिने खोपलाई प्राथमिकता दिएको छ। नेपालले अपुग रहेका पूर्वाधार निर्माण कार्य पनि अघि बढाएको छ।

स्वास्थ्य मन्त्रालयले दुई महिनाभित्र खोप पूर्वाधार निर्माण गर्ने योजनाअनुरुप काम अघि बढाएको हो। मन्त्रालयले पूर्वाधार विश्लेषण तथा आवश्यकताको आकलन समिति गठन गरेको थियो। उक्त समितिका संयोजक स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक चुडामणि भण्डारीले आगामी फेब्रुअरीभित्र पूर्वाधार पुरा गर्ने गरी निर्माण कार्य सुरु भएको जनाए।

उक्त समितिले बनाएको प्रतिवेदनका आधारमा रहेका विराटनगर, जनकपुर, पोखरा, बुटवल सुर्खेत र धनगढीमा भवन निर्माणका लागि प्रस्ताव तयार गरी प्रक्रिया अघि बढाइएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .