समाज


नेपाल भित्रिने उच्च जोखिम रहेको नयाँ स्वरुपको कोरोना भाइरस कति घातक?

नेपाल भित्रिने उच्च जोखिम रहेको नयाँ स्वरुपको कोरोना भाइरस कति घातक?

यज्ञराज जोशी
पुस १६, २०७७ बिहिबार १४:२९,

बेलायतमा फेला परेका कोरोना भाइरसको नयाँ स्वरुप नेपाल भित्रिने सम्भावना उच्च रहेको सरकारी अधिकारीहरुले बताएका छन्।

यो भाइरस युरोप, अमेरिका र भारतसम्म पनि फैलिसकेकाले सतर्कता अपनाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नयाँ प्रकृतिको भाइरस नेपालमा भित्रिने जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले बाहिरबाट आउने मानिसहरुको स्वास्थ्य जाँचमा कडाइ गरेको बताए।

‘भाइरस केही समयपछि परिवर्तन हुनसक्छ भन्ने पहिलेदेखि बुझिएकाले हामी मानसिक र अन्य रुपमा पनि तयार थियौं,’ डा. अधिकारीले भने, ‘छिमेकी देश भारतसँग पनि देखिइसकेकाले हामीकहाँ भित्रिने सम्भावना उच्च छ। सोहीकारण एयरपोर्ट र सीमामा चेकजाँच र निगरानीमा कडाइ गरेका छौं। बाहिरबाट आएका मानिसलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेका छौं।’

पछिल्ला अध्ययनले यो भाइरस तीव्र गतिमा फैलने देखिएपनि कति हानिकारक छ भन्नेबारे अझैपनि अध्ययन हुन बाँकी रहेको विज्ञहरु बताउँछन्।

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले भाइरसको यो नयाँ स्वरुप पहिलेको भन्दा ५० प्रतिशत बढी छिटो सर्ने अध्ययनमा देखिएको बताए।

‘थुप्रै पटक भाइरस म्युटेसन भएका छन्। यो पनि त्यसको एउटा रुप हो,’ पाण्डेले भने, ‘यो छिटो सर्छ भन्ने देखिएको छ। तर, कति घातक छ भन्ने अध्ययन भइसकेको छैन। यद्यपि शीघ्र फैलिने भएकाले अस्पतालमा भर्ना हुने तथा मृत्यु हुनेको संख्या बढ्ने जनाइएको छ।’

डा. पाण्डेले अहिले विश्वमा बनिरहेका खोपले नयाँ भाइरसविरुद्ध पनि उपयोगी देखिनु खुसीको कुरो भएको बताए।

नयाँ भाइरस भित्रिने डरले सरकारले अघिल्लो सातादेखि बेलायतबाट र बेलायत हुँदै आउने यात्रुहरुलाई नेपाल प्रवेशमा रोक लगाएको छ। पुस १ पछि सो रुटबाट नेपाल आएका २७७ जना क्वारेन्टिनमा रहेको र उनीहरुमध्ये ५ जनामा संक्रमण पुष्टि भएको छ।

यद्यपि संक्रमण पुष्टि भएकाहरुलाई हालसम्म कुनै भिन्न लक्षण नदेखिएको प्रवक्ता अधिकारीले बताए। संक्रमण देखिएका व्यक्तिहरुको स्वाबबाट जिन सिक्वेन्सिङ (अनुवांशिक अध्ययन) गर्ने तयारीमा आफूहरु रहेको उनले बताए।

‘जिन सिक्वेन्सिङ गरेपछि मात्रै नयाँ भाइरस हो कि पुरानो भन्ने पत्ता लाग्छ। हामी संक्रमण देखिएकाहरुको जिन सिक्वेसिङ गर्ने प्रक्रियामा छौं। त्यसको नतिजा आएपछि नयाँ वा पुरानोबारे भन्न सकिन्छ,’ उनले भने।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका कन्सल्टेन्ट माइक्रोबायोलोजिस्ट डा. रञ्जित साह यो परिवर्तन भइरहने भाइरस भएकाले अहिले फरक किसिमको देखिनु सामान्य भएको बताए।

‘यो आरएनए भाइरस हो। आफैँमा परिवर्तन भइरहेको हुन्छ,’ डा. साहले भने, ‘परिवर्तन हुँदै जाँदा दश वर्षमा नयाँ भाइरस भएर निस्कन्छ र त्यसले महामारीको रुप लिन्छ। यो प्रत्येक व्यक्तिमा छिरेपछि केही न केही परिवर्तन हुने गर्छ। त्यसैका लागि बेलाबेला जिनोम सिक्वेन्सिङ गरेर भाइरस कसरी परिवर्तन भइरहेको छ भन्नेबारे थाहा पाउनुपर्छ।’

डा. साहको टोलीले नै नेपालमा पहिलोपल्ट देखिएको कोरोना भाइरसको जिनोम सिक्वेन्सिङ गरेको थियो। चीनबाट आएका व्यक्तिमा देखिएको भाइरसलाई विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा जिनोम सिक्वेन्सिङ गरिएको थियो। तर, अनुमतिबिनै सो अध्ययन गरिएको भन्दै त्यसले विवाद पनि खडा गरेको थियो।

चीनको वुहानबाट आएका नेपालको पहिलो संक्रमितको जिनोम सिक्वेन्सिङका क्रममा पनि भाइरसमा केही परिवर्तन देखिएको साह बताउँछन्।

‘नेपालमा देखिएको पहिलो केसको जिनोम सिक्वेन्सिङ गर्दा पनि चीनको वुहानबाट उत्पत्ति भएको भाइरसभन्दा हल्का परिवर्तन देखिएको थियो,’ साहले नेपालखबरसँग भने, ‘त्यसबाट हामी ती व्यक्तिमा नेपालमा नभई चीनबाटै भाइरस आएको निष्कर्षमा पुगेका थियौं।’

नेपालमा सुरुमा चीनबाट आएका नागरिकमा संक्रमण देखिएको थियो। त्यसपछि युरोप, खाडी देशहरु र भारतबाट फर्किएका पनि धमाधम संक्रमण देखिन थाल्यो। सोहीकारण सुरुको भाइरसभन्दा अहिलेको भाइरसमा धेरै परिवर्तन भइसकेको डा.साहको तर्क छ।

‘नेपालमा चीनबाट पनि आयो, भारतबाट पनि आयो, युरोपबाट पनि आयो। प्रजाति विभिन्न खालको हुनसक्छ। तर कुन कुन देशको भाइरस आयो र हाम्रोमा आएर के परिवर्तन भयो भन्ने थाहा पाउन जिनोम सिक्वेन्सिङको नतिजा नै कुर्नपर्छ,’ साहले भने।

भाइरस परिवर्तन भइराख्ने भएकाले छिटो जिन सिक्वेन्सिङको नतिजा सार्वजनिक नगरे त्यसको कुनै अर्थ नहुने उनले बताए।

स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालमै पहिलोपल्ट थापाथलीस्थित इन्टरपिड नेपाल नामक कम्पनीसँग मिलेर १५ नमुनाको जिनोम सिक्वेन्सिङ पनि गरेको थियो।

गत कात्तिकमा उक्त अध्ययन सकिएपछि सार्वजनिक तथ्यांकमा नेपालमा भारत, साउदी अरेबियाजस्ता देशमा देखिएका जस्तै भाइरस देखिएको थियो। त्यसयता भने नेपालमा जिनोम सिक्वेन्सिङ हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .