नगर प्रहरीहरु ठेलागाडा उठाएर गाडीमा हाल्दैछन्।
एक वृद्धा ‘छोडदिनु न छोडदिनु एकचोटीलाई’ भन्दै गहभरि आँशु बगाएर बिन्ती गर्दैछिन्।
नगर प्रहरीको बलमिँच्याई देखिरहेकाहरु ‘गरिबलाई चाँही गरिखान पनि नदिने भए होइन?’ भनि प्रश्न गर्दैछन्।
यतिकैमा उनको ठेलालाई गाडीमा चढाएर नगरप्रहरीहरु हुँईकिए। उनीहरुको मन पग्लिन्छ कि भन्ने आशाले बलिन्द्र आँशुसहित ती बृद्धा गाडीकै पछिपछि दौडिन्छिन्।
तर गाडी रोकिएन। उनी निन्हाउरो अनुहारसहित फर्किन्छिन र आँशु पुछ्दै दुखेसो पोख्न थाल्छिन्।
काठमाडौं नगरप्रहरीले एक महिलाको तरकारी बेच्ने ठेला उठाएर लगेको भिडियोका यी भावुक दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
मंगलबार दिउँसो सुकेधारा नजिकैबाट मन्जु कुँवर क्षेत्रीको तरकारी बेच्ने गाडा नगरप्रहरीले उठाएर लगेको थियो।
सुकेधारामै एउटा छाप्रोमा छोरासँग बस्दै आएकी मन्जुले घरमा ठेला राख्ने ठाउँ समेत नभएकै कारण बाटोको छेउमा ठेला राखेकी थिइन्।
‘घाम मधुरो भएपछि मान्छेहरु पनि अफिसबाट फर्कन्छन। त्यसपछि घरघर ठेला गुडाउँदै तरकारी बेच्थेँ,’ मन्जुले नेपालखबरसँग भनिन्, ‘त्यसदिन भर्खर तीन बजेको थियो। खाली ठेला सडकमा राखेकी थिएँ। तिनीहरु आएर उठाएर लगे।’
आफ्नो ठेला उठाएर लग्न थालेपछि मन्जुले रोईकराई गरेकी हुन। आफू सडक किनारमा तरकारी नबेच्ने भन्दै ठेला छोडिदिन आग्रह गरेकी थिइन। आँखाभरि आँशु पार्दापनि नगरप्रहरीले उनको कुरा सुन्दै सुनेनन्।
‘ठेला लगेपछि विरक्त लागेर आएको छ। भात पनि खान मन लागेको छैन,’ मन्जुले भावुक हुँदै सुनाइन, ‘त्यही ठेलाको भरमा पेट पालेकी थिएँ। अब के गर्नु गर्नु। चिन्ताले सताएको छ।’
एकजना साथीसँग उनी बुधबार काठमाडौं महानगरपालिकामा ठेला फिर्ता माग्न पनि गएकी हुन्। तर नगरप्रहरीले उनलाई निराश बनाएर फर्काए।
‘गरिबको तिउन तरकारी खाने मेलो। अब तपाईहरुलाई मार्का पर्ने गरि बस्दिन। कुनाकानी बसेर बेचौंला भनेकी थिएँ,’ मन्जूले भनिन्, ‘यहाँ कराउँन नआउनुस। ठेला फिर्ता दिदैनौं भनेर उल्टै हप्काए।’
उनका श्रीमानले पहिल्यैदेखि अर्की श्रीमती लिएर अलग्गै बस्न थाले। त्यसपछि सासुससुराले बनाइदिएको झुप्रोमा मन्जु छोरासँग बस्दै आएकी थिइन्।
लकडाउनअघि मन्जु कलंकीस्थित एक अस्पतालमा सरसफाईको काम गर्थिन। उनका छोरा एक क्याफेमा काम गर्थे। लकडाउनले क्याफे बन्द भएपछि बेरोजगार भएका छोराले अहिलेसम्म केही काम पाएका छैनन्।
दशैंका बेला उनले चिनेका एकजना घर जाने भए। ती व्यक्तिले आफूसँग भएको ठेला किनेर साग बेच्न सुझाव दिए। मञ्जुलाई पनि त्यो प्रस्ताव ठिकै लाग्यो र अस्पतालमा काम गर्दा जम्मा पारेको ५ हजार र बाँकी सरसापटी गरेर ९ हजारमा उक्त ठेला किनेकी थिइन्।
त्यसपछि बिहानै साढे दुईबजे उनी थोक तरकारी विक्रेताकामा पुग्थिन। दिनको १५ सयको साग ल्याउँथिन्। बिहान र बेलुका तरकारी बेच्न उनी घरघरमा हिड्थिन्। जसबाट जोगिएको २–४ सयले उनको दैनिक गुजारा चल्थ्यो।
‘तिउन तरकारी खानुपर्यो भनेर ठेलामा साग बेच्न थालेकी थिएँ। ठेला नै नभएपछि चुल्हो नबाल्ने अवस्था भएको छ,’ उनी भन्छिन, ‘साग बेचेर नुनखर्च चलेको थियो। पेटै पाल्न पनि त्यो ठेला फिर्ता पाए हुन्थ्यो।’
काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत राजेश ज्ञवालीले महानगर व्यवस्थापनका क्रममा दैनिक यस्ता २०औं कारवाही हुने बताएका छन्।
सामाजिक सञ्जालमा उनी लेख्छन्, ‘बडो अचम्मको समाज छ। छाडिदिउँ कारवाही नगरेको भनेर फोन आउँछन्। कारवाही गरौं एक भिडियो बन्छ अनि दयाको फोहोरा बर्सिन्छ। महानगरले आफ्नो जिम्मेवारी छाड्ने? हाम्रो पनि दिल छ तर शहर व्यवस्थापन पनि गर्नुपर्यो। दैनिक यस्ता २०औं कारवाही हुन्छन्।’
ज्ञवालीको ट्विटमा आर्यपुत्र शिशिर नामका एक प्रयोगकर्ता लेख्छन्, ‘यस्ताका लागि निश्चित ठाउँ र निश्चित समय तोकेर व्यवसाय गर्न दिँदा ठीक होला। नत्र जथाभावी गर्नाले राजधानीको ट्राफिक, यातायात, शहरी सौन्दर्य व्यवस्थापनमा चुनौती नै हुन्छ।’
त्यसो त काठमाडौंका बिभिन्न ठाउँमा यसरी ठेलागाडा र फूटपाथमा व्यापार गर्नेहरुलाई नगरप्रहरीले सँधैजसो लखेट्ने, उनीहरुका सामान खोस्ने, फेरि बस्ने नियमित दृष्य बनेको छ। महानगरमा सम्पूर्ण अधिकारसहित निर्वाचित जनप्रतिनिधि आइसक्दा पनि वर्षौंदेखि चलेका यस्ता वेथितिको अन्त्य गर्न कुनै समाधान खोजिएको छैन।
भिडियोः
Shares
प्रतिक्रिया