आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल हिउँदमा आरोहण भइसक्दा पनि विश्वको दोस्रो अग्लो शिखर केटू भने अपवाद थियो।
पाकिस्तानमा रहेको आठ हजार ६११ मिटर अग्लो यो हिमाल हिउँदमा आरोहणको अनेकौँ प्रयास भएका थिए। तर, कोही पनि सफल भएका थिएनन्।
यही हिउँदमा पनि हिमाल चढेर कीर्तिमान राख्ने मौका सबैलाई बराबरी थियो। किनभने आरोहण दलमा ३२ नेपाली र २६ विदेशी थिए। तर, शनिबार साँझ १० जना नेपाली मात्रै चुचुरोमा पुगे।
‘किलर माउन्टेन’का रुपमा चिनिएको केटूमा दुई वर्षअघि हिउँदमा पोल्यान्डका आरोही ७ हजार ६ सय मिटरको उचाइमा पुगेका थिए। यतिञ्जेलसम्मको सबैभन्दा ठूलो सफलता त्यही नै थियो।
यही कुरा खट्किएको थियो– हिमाल आरोहणमा ख्यातिप्राप्त संस्था सेभेन समिटका आरोहीलाई। समिटले आरोहीहरुलाई अग्ला हिमालमा चढ्न गाइड, टुर प्याकेजिङ गर्दै आएको छ।
त्यसैले, मिङ्मा, छाङदावा र टासी शेर्पाले गत वर्ष जुलाईमै यो हिउँदमा केटूको चुचुरो चुम्ने अभियानको बिजारोपरण गरेका थिए। यी तीनै जना दाजुभाइ हिमाल आरोहणका क्षेत्रमा प्रसिद्ध नाम हुन्।
कीर्तिमान रच्ने अभियानको योजना बुन्दै गर्दा उनीहरु एउटा कुरामा स्पष्ट थिए– टेक्निकल ज्ञान, फुर्तिलो व्यवस्थापन र दरिलो टिम भएन भने यो प्रयास पनि असफल हुनेछ।
‘विश्वमै कहलिएका ‘माइन्टेन हिरो’हरुले हिउँदमा केटू चढ्न प्रयास गरेपनि कोही सफल हुन सकेको थिएन,’ मिङ्मा भन्छन्, ‘तीव्र गतिमा हुरीबतास चल्ने, मौसन नखुल्ने र अत्याधिक चिसोका कारण हिउँदमा केटू आरोहणका कयौं प्रयास सफल हुन सकेका थिएनन्। दरिलो टिम र चुस्त व्यवस्थापन तथा टेक्निकल ज्ञान बिना केटू आरोहण असम्भव हो।’
छाङदावाले यसअघि विश्वका सबै ८ हजार मिटर अग्ला हिमाल आरोहण गरिसकेका थिए। ३० वर्षको उमेरमै ८ हजार मिटरमाथिका १४ वटै हिमाल चढ्ने कीर्तिमान उनकै नाममा छ। तीन पटक सगरमाथाको चुचुरोमा पुगिसकेका उनले २०१२ को गृष्ममा केटूको पनि आरोहण गरिसकेका थिए।
सोहीकारण उनीहरुले छाङदावालाई अभियानको नेतृत्व दिने निर्णय गरे।
‘उसले धेरैपटक आरोहणको नेतृत्व गरिसकेको छ। कुनै अप्रिय घटनाबिना उसले नेतृत्व गरेका सबै आरोहणमा सफलता हात पारेको छ,’ मिङ्माले नेपालखबरसँग भने, ‘उसको कुशल व्यवस्थापकीय क्षमता र अनुभवका आधारमा नै हामीले उसलाई नेतृत्वका लागि छानेका हौँ।’
त्यसपछि उनीहरुले हिउँदमा आरोहण गर्न चाहनेका लागि सूचना जारी गरे। जसअनुसार २६ जना विदेशी र ३२ जना नेपालीसहितको जम्बो टोली केटू आरोहणका लागि तयार भयो।
सम्पूर्ण व्यवस्थापन मिलाएर डिसेम्बरको मध्यमा टोली आरोहरणका लागि नेपालबाट पाकिस्तानतर्फ लागेको थियो। पाकिस्तानमा उनीहरुलाई स्थानीय ब्लु स्काई ट्रेक एन्ड टुर्स नामक एजेन्सीले सघाएको थियो।
डिसेम्बर २१ मा हिमाल आरोहणको हिउँदे सिजन सुरु हुन्छ। टोलीको आरोहण अभियान पनि त्यही दिन सुरु भएको हो। त्यो दिन आठ जना शेर्पाको टोली आधार शिविरतर्फ लाग्यो। तीमध्ये तीन जनाले बाटो तय गरेर डोरी लगाउने जिम्मेवारी पाए। बाँकीले टेन्ट लगाउनुका साथै आधारशिविरमा बाँकी टोलीका लागि व्यवस्थापन गर्नुपर्ने थियो।
अभियानका नेतृत्वकर्ता छाङदावाका अनुसार डिसेम्बर २४ मा उक्त टोलीले दोस्रो क्याम्पसम्मको रुट तय गरेर डोरी लगाइसकेको थियो। सोही दिन विदेशी आरोही, शेर्पा र भरियाहरुको टोली आधारशिविरतर्फ हिँडेको थियो।
डिसेम्बर २९ मा टोलीका सबै सदस्य आधारशिवर पुगेका थिए। डिसेम्बर ३१ सम्म शेर्पाहरुको टोलीले क्याम्प तीनसम्म डोरी लगाए। सोही दिन ७ हजार ५० मिटरको उचाइमा तीव्र गतिमा आँधी चल्न थालेपछि दुई दिन रोकिएका शेर्पाहरुपनि आधारशिविर फर्किएका थिए। हावाहुरीकै कारण डोरी लगाउने काम रोकियो।
शेर्पाहरु आधारशिविर फर्केपछि अर्कोदिन उनीहरुले आधारशिविरमा पूजा गरे। सबैले सफल आरोहणको प्रार्थना गरे। पूजामा हिमालप्रति सम्मान दर्शाउने परम्परा विगतदेखि नै रहँदै आएको छाङदावा बताउँछन्।
आरोहण थाल्ने टोलीको योजनामा अर्को धक्का लाग्यो, किनभने पूजा गरेको भोलिपल्ट झन् ठूलो हावाहुरी आयो। हिउँसँगै लगातारको हावाहुरीका कारण पाँच टेन्ट, अक्सिजन बोटललगायतका सामाग्रीमा क्षति पुगेकोे छाङदावाले बताए।
आँधीले क्याम्प दुईसम्म यसअघि नै तयार गरिएको बाटो समेत बिगारिदिएको थियो। त्यसलाई बनाउन पासाङ नुर्बु र सोना शेर्पाको टोली त्यसतर्फ लाग्यो। जनवरी १४ अर्थात्, बिहीबारसम्ममा शेर्पाहरुले ७ हजार ३५० मिटरमा रहेको तेस्रो क्याम्प तयार पार्नुका साथै ७ हजार ६ सय मिटरसम्म डोरी लगाइसकेका थिए।
अर्कोदिन शेर्पाहरुले ७ हजार ८०० मिटरमा रहेको चौथो तथा अन्तिम क्याम्पमा पनि डोरी लगाए। जुन आफैँमा इतिहास थियो। त्यहाँ पुग्नेमा निर्मल पुर्जा, सोना शेर्पा, मिङ्मा डेविड, मिङ्मा तेन्जी, मिङ्मा जीलगायत शेर्पाहरु थिए। त्यहाँ डोरी लगाएर उनीहरु क्याम्प तीन फर्किए।
जनवरी १५ को बिहान १ बजे मौसम खुलेका कारण उनीहरुले क्याम्प तीनबाट यात्रा सुरु गरे।
त्यही बेला हिँडेका निर्मल पुर्जा, गेल्जी शेर्पा, मिङ्मा डेविड शेर्पा, मिङ्मा जी, सोना शेर्पा, मिङ्मा तेन्जी शेर्पा, पेमछिरी शेर्पा, दावा तेम्बा शेर्पा, किली पेम्बा शेर्पा र दावा तेन्जिङ शेर्पा शनिबार अपरान्ह ५ बजे चुचुरोमा पुग्दै कीर्तिमान रचे।
‘असम्भव कुरालाई सम्भव बनाइयो!’ टोली नेता निर्मल पुर्जाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मानवजातिको लागि इतिहास बन्यो। नेपालका लागि इतिहास बन्यो!’
नेपाली टोलीले चुचरोमा टेकेको खबर पाएपछि छाङदावासहित बेस क्याम्पमा रहेकाहरु खुसीले उफ्रेका थिए। लगत्तै छाङदावाले पनि सामाजिक सञ्जालमार्फत उक्त खबर ब्रेक गरे।
‘हामीले गरेर देखायौं। मलाई विश्वास गर्नुस्, हामीले गरेर देखायौं,’ छाङदावाले लेखेका छन्, ‘अहिलेसम्म कोही पुग्न नसकेको चुचुरोमा हामी पुग्यौं। यो आरोहणको इतिहासमा ठूलो उपलब्धि हो। यदि हिमालले तपाईंलाई चढ्न दिन्छ भने तपाईंलाई कसैले रोक्न सक्दैन।’
सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार टोलीमा रहेका २६ जना विदेशीलाई पनि पहिलो लटमा चढ्न अनुरोध गरिएको थियो। तर, रुट खोल्नुपर्ने, डोरी लगाउनुपर्ने, सिलिन्डर बोक्नुपर्ने, क्याम्प तयार पार्नुपर्ने लगायत काम गर्दै कठिन उचाइमा जान उनीहरुले इच्छा देखाएनन्। सोहीकारण नेपाली आरोहीहरुले नै इतिहास रच्ने मौका पाए।
‘हामीले एकदुई जना विदेशी पनि जान्छन् कि भन्ने ठानेको थियौं। उनीहरुलाई सोधियो पनि। तर कसैले आँट गरेनन्,’ मिङ्माले भने, ‘नेपालीहरुले नै इतिहास रच्नु रहेछ र रचेपनि।’
चुचुरो पुग्न १० मिनेट बाँकी रहँदा केही अरोही अगाडि पुगिसकेका थिए। केही पछाडि थिए। तर, सामूहिक रुपमा चुचुरोमा पाइला टेक्ने भन्दै अगाडि पुगेकाहरुले पछाडिकालाई पर्खिए। सबै एक साथ अगाडि बढे र सँगै चुचुरोमा पाइला टेके।
नेपाली टोलीले चुचुरोमा १०–१५ मिनेट बिताएको मिङ्मा बताउँछन्। उनीहरुले त्यहाँ फोटो खिचे, राष्ट्रिय झन्डा फहराए र राष्ट्रिय गीत समेत गाएका थिए।
दशै जना आरोहीहरु शनिबार नै चौथो क्पाम्पमा फर्किसकेका थिए। छाङदावाका अनुसार आठजना आइतबार बिहानसम्म क्याम्प तीनमा पुगेका छन् भने सोना शेर्पा आधारशिविरमा पुगिसकेका छन्।
दश जनाबाहेक अर्को टोलीले पनि केही दिनमा आरोहणको योजना बनाएको थियो। तर, क्याम्प १ बाट आधार शिविरमा आउँदै गर्दा आरोहण दलका एक सदस्य स्पेनी नागरिक सेर्गी मिङ्गोतेको मृत्यु भएपछि आरोहण अनिश्चित भएको छ।
अब छलफलपछि सबैको चाहनाअनुसार बाँकी टोली चढ्ने कि नचढ्ने टुंगो लाग्ने मिङ्माले बताए।
Shares
प्रतिक्रिया