समाज


भारतबाट आज आउने खोप यसरी लगाइनेछ देशैभर एकैसाथ

भारतबाट आज आउने खोप यसरी लगाइनेछ देशैभर एकैसाथ

यज्ञराज जोशी
माघ ७, २०७७ बुधबार १३:३,

भारत सरकारले दिने कोरोनाविरुद्धको १० लाख डोज खोप देशैभरका अस्पतालहरुबाट एकैपटक लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले खोप आएको एक हप्ताभित्र लगाइसक्ने गरी तयारी गरेको बताएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ७७ जिल्लामै एकैसाथ खोप लगाउने अभियान सुरु हुनेछ।

‘भारतबाट आउने पहिलो चरणको खोप ७७ वटै जिल्लाका अस्पतालहरुबाट एकैपटक लगाइन्छ,’ डा. अधिकारीले भने, ‘उक्त खोप स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरु, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय निकायबाट खटाइएका सफाइकर्मीलाई लगाइन्छ।’

भारतले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने भनी बुधबार घोषणा गरेसँगै मन्त्रालयले खोप लगाउने तयारी सुरु गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले बिहीबार नै भारतले दिने १० लाख डोज खोप नेपाल आइपुग्ने जनाएका छन।

HridayeshTripathi pressmeet

पहिले कसले पाउँछन खोप?
स्वास्थ्य मन्त्रालयले गठन गरेको खोप विज्ञ समूहका सदस्य डा. झलक शर्मा गौतमका अनुसार नेपालका २ करोड १६ लाख जनतालाई खोप लगाउने सरकारको तयारी छ। त्यसका लागि खेर जाने समेत जोडेर करिब ५ करोड डोज खोप चाहिने आकँलन गरिएको छ।

पहिलोचरणमा दिइने खोपका लागि स्वास्थ्य मन्त्रालयले यसअघि नै स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा खटिएकाहरुको तथ्यांक संकलन सुरु गरेको थियो।

जसअनुसार अग्रपंक्तिमा खटिएकाहरुको संख्या नेपालमा ९ लाख हाराहारीमा रहेको र त्यसका लागि दुई डोज लगाउन (खेर जाने मात्रा समेत जोडेर) २० लाख खोप आवश्यक पर्ने स्वास्थ्य मन्त्रालयको आकलन छ।

भारतबाट आउने खोप यही जनसंख्यालाई लगाउने सरकारी तयारी छ। अपुग संख्यालाई किनेर बाँकी खोप लगाउने स्वास्थ्यमन्त्री त्रिपाठीले बताए।

‘मैले फागुनभित्र पहिलो खेप आउँछ भनेको थिएँ। भारतको सहयोगमा त्यसभन्दा अघि नै आउने भएको छ,’ मन्त्री त्रिपाठीले भने, ‘अहिले उपलब्ध खोप पर्याप्त नभएकाले बाँकी खोप पारदर्शी रुपमा खरिद प्रक्रिया अघि बढाइनेछ। त्यसमा पनि भारत सरकारको सहयोग महत्वपूर्ण हुने विश्वास लिएका छौं।’

दोस्रो चरणमा ५५ वर्षमाथिका जेष्ठ नागरिक र र दीर्घ रोगीलाई खोप लगाउने तयारी गरिएको छ। उक्त समूहको संख्या नेपालमा ५१ लाख रहेको मन्त्रालयले जनाएको छ। यस्तै तेस्रो चरणमामा ४० देखि ५४ वर्षका २९ लाख र १५ देखि ३९ वर्षका बाँकी १ करोड २७ लाखलाई अन्तिम चरणमा खोप दिने योजना सरकारको छ।

बुधबार मन्त्रालयमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतमा खोप लगाउन थालिएको एक हप्ताभित्रै खोप पाउने केही मुलुकमध्ये नेपाल रहेको जनाए। उनले आगामी दिनमा पनि भारतको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।

‘खोप आउनु भनेको यहाँका जनता पहिलो प्राथमिकतामा पर्नु, दुई देशको मित्रता प्राथमिकतामा पर्नु हो र छिमेकीलाई पहिलो प्राथमिकतामा राख्नु हो,’ राजदूत क्वात्राले भने, ‘कोभिड–१९ सबै देशको साझा समस्या हो। यसविरुद्ध लड्न नेपालसँग भारतले सुरुवाती चरणदेखि नै सहकार्य गर्दै आएको छ र आगामी दिनमा पनि गर्नेछ।’

सीमित देशका सीमित क्षेत्रमा मात्रै खोप उत्पादन हुँदै आएको जानकारी दिँदै क्वात्राले भारतले दिन लागेको खोप नेपाली परिवेशअनुसारको भण्डारण र ढुवानी गर्नसकिने रहेको बताए।

खोप उपलब्ध हुनुलाई नेपाल–भारतका बीचको मित्रताको अनुपम उदाहरणका रुपमा लिँदै उनले भारत नेपाल र छिमेकीका विषयमा उपयुक्त निर्णय गरी अघि बढेकामा धन्यवाद दिएका थिए।

यो पनि: नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने भारतको घोषणा

कसरी पुर्‍याइन्छ देशभर?
भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित ‘कोभिसिल्ड’ खोप भारत सरकारले नेपाललाई अनुदानमा दिन लागेको हो। उक्त खोपको प्रभावकारिता औसतमा ७०.४ प्रतिशत रहेको पाइएको छ।

प्राविधिक समस्या नआएमा बिहीबार भारतबाट कार्गोमार्फत नेपाल आइपुग्ने खोप त्रिभुवन विमानस्थलको कार्गो भवनमा रहेको कोल्ड स्टोरमा राखिनेछ। त्यहाँबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याई त्यहीँबाट आवश्यकताअनुसार प्रदेश, जिल्ला तथा स्थानीय तहमा खोप पठाउने तयारी स्वास्थ्य सेवा विभागले गरेको छ। कोल्डचेनसहितको खोप भ्यानमार्फत स्थानीय तहमा खोप पुर्‍याउने विभागको तयारी छ।

मन्त्रालयका अनुसार उपत्यकासहित, विराटनगर, पथलैया, हेटौँडा, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीमा कोल्डस्टोरहरु तयारी अवस्थामा राखिएको छ। तिनै कोल्डस्टोरमा पुगेका खोप अस्पतालहरुमार्फत लगाइनेछ।

खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पूर्वअभ्यास गराइसकिएको र आवश्यकता अनुसार थप अभ्यास गराइने सहप्रवक्ता अधिकारीले बताए।

‘साइड इफेक्ट’ देखिए सरकारले उपचार गर्ने
स्वास्थ्य मन्त्रालयले खोप लगाएको आधा घण्टासम्म व्यक्तिलाई अस्पतालमै अवलोकनमा राखिने जनाएको छ। अवलोकनमा राखिएको व्यक्तिमा कुनै ‘साइड इफेक्ट’ (स्वास्थ्य समस्या) देखिए त्यसको उपचार सरकारले गर्ने भएको छ।

‘खोप दिइसकेपछि ३० मिनेट अवलाेकनमा राखिन्छ। केही समस्या देखिए सरकारले उपचार गर्छ,’ मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले प्रष्ट्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .