समाज


यी हुन् सातै प्रदेशमा पहिलो खोप लगाउने व्यक्ति: अन्यत्र डाक्टर, प्रदेश २ मा मन्त्री अगाडि

यी हुन् सातै प्रदेशमा पहिलो खोप लगाउने व्यक्ति: अन्यत्र डाक्टर, प्रदेश २ मा मन्त्री अगाडि

यज्ञराज जोशी
माघ १४, २०७७ बुधबार १०:१२,

बुधबारबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवास बालुवाटारबाट खोप अभियानको सुरुवात गरेका थिए।

एक साताअघि भारत सरकारले उपहार दिएको १० लाख डोज खोप बुधबारबाट थालिएको हो। सातै प्रदेशमा रहेका ६२ अस्पताल, काठमाडौँ उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकैसाथ खोप लगाउन थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सुरुमा अग्रपंक्तिमा खटिएका ४ लाख ३० हजार जनालाई खोप लगाइनेछ। कोभिसिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एक्ट्राजेनेका नामक औषधि उत्पादक कम्पनीले संयुक्तरूपमा विकास गरेका हुन्। जसको उत्पादन भारतको सिरम इन्स्टिच्युटले गरेको हो।

पहिलो चरणमा फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मीलाई खोप लगाइँदैछ। त्यस्तै, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारमा रहेका कैदी र सुरक्षाकर्मीलाई लगाउन सुरु गरिएको छ।

प्रदेश १ मा दुई डाक्टरबाट खोप अभियान सुरु
प्रदेश १ मा कोसी अस्पताल विराटनगका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास र डा. दीपक सिग्देलले पहिलो खोप लगाएर अभियानको सुरुवात गरेका छन्।

कोभिड विरुद्धको खोप लगाइसकेपछि डा. सिग्देलले खोप सुरक्षित रहेकाले डराउनु नपर्ने बताए। उनले कोभिसिल्ड ७० प्रतिशत प्रभावकारी रहेको बताउँदै पहिलो खोप लगाएको २८ दिनपछि दोस्रो खोप लगाए सुरक्षित रहन सकिने जनाए।

No description available.कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा कोभिड खोप लगाउँदै कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दास

प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार बुधबारबाटै प्रदेशका आठ जिल्लाका १९ वटा खोप केन्द्रमा खोप लगाउने काम सुरु भएको छ।

बुधबार झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, उदयपुर, इलाम र तेह्रथुमका २८ हजार ५०६ जनालाई खोप लगाउने लक्ष्य छ। मोरङमा पाँच, सुनसरीमा चार, झापा र इलाममा तीन÷तीन र अन्य जिल्लामा एक÷एक वटा खोप केन्द्र निर्धारण गरिएको छ।

प्रदेश १ मा पहिलो चरणमा सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सरफाइकर्मीसहित ३५ हजार ५७६ लाई खोप लगाइँदैछ।

प्रदेश २ मा खोप लगाउन कानुनमन्त्री अघि सरे
प्रदेश २ मा भने अग्रपंक्तिमा खटिएका व्यक्ति नभई मन्त्री खोप लगाउन अघि सरे। प्रादेशिक अस्पताल जनकपुरधाममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले खोप लगाएका थिए।

No description available.

मन्त्री यादव यसअघि कोरोना संक्रमित भएका थिए। पहिलोचरणमा अग्रपन्तिमा खटिनेलाई लगाइने भनेपनि सबैलाई विश्वास दिलाउँन आफूले पहिलो खोप लगाएको उनले बताए।

उनीपछि प्रदेशिक अस्पतालकी नर्स इन्चार्ज सन्ध्या दास र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले कोरोनाविरुद्धको खोप लगाएका थिए।

बागमती प्रदेशमा टेकुका डा. सागर राजभण्डारीले लगाए पहिलो खोप
प्रधानमन्त्री ओलीले खोप अभियान सुरु भएको घोषणा गरेलगत्तै बुधबार पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा. सागर राजभण्डारीले लगाए। एक वर्षअघि नेपालमा पहिलोपटक फेला परेका संक्रमितको उपचार यसै अस्पतालमा गरिएको थियो। त्यसयता कोरोनाविरुद्धको लडाइँमा टेकू अस्पताल र यहाँका स्वास्थ्यकर्मी अग्रस्थानमा रहे।

राजभण्डारीले सबैलाई निर्धक्क रुपमा खोप लगाउन अनुरोध गरे।

‘मैले निर्धक्कसाथ खोप लगाएको छु। यसले दुष्परिमाण देखाएको छैन। कोभिसिल्ड खोप एकदमै सुरक्षित छ। सबैलाई निर्धक्क भएर लगाइदिन अनुरोध गर्दछु,’ उनले भने, ‘हाम्रा सबै स्वास्थ्यकर्मीले खोप लगाउनु भएको छ। कसैलाई पनि केही साइडइफेक्ट देखिएको छैन।’

No description available.

डा. राजभण्डारीका अनुसार बुधबार टेकु परिसरका स्वास्थ्यकर्मी तथा कर्मचारी लगायतलाई अस्पतालको खोप केन्द्रबाट खोप दिइनेछ। उनीपछि अस्पतालका डा. अनुप बास्तोला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा, नर्स उषा देवकोटालगायतले खोप लगाएका थिए।

सबैलाई खोप लगाएपछि आधा घण्टा निगरानीमा राखिएको थियो। आफूलाई आधा घण्टा निगरानीका क्रममा अप्ठ्यारो महसुस नभएको अस्पतालका डा. अनुप बास्तोलाले बताए।

डा. राजेन्द्र खनाल लगाए लुम्बिनीमा पहिलो खोप
लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले पहिलो खोप लगाए। उनले सर्वसाधारणमा खोपप्रतिको आशङ्का हटाउने सन्देशका लागि आफूले पहिलो खोप लगाएको बताए।

उनीलगत्तै लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी र सफाइकर्मीलाई खोप लगाइएको थियो। प्रदेशमा पहिलो चरणमा ३९ हजारभन्दा बढी व्यक्तिलाई कोभिडविरुद्धको खोप लगाउने सामाजिक विकास मन्त्रालयले जनाएको छ।

No description available.

लुम्बिनीमा ३९ हजार ४९५ जनाको लागि आठ हजार ७६८ भायल खोप आएको प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए।

उनले प्रदेशअन्तर्गत तराईका ६ जिल्लाका आठ वटा खोप केन्द्रहरुबाट बुधबारबाट खोप अभियान सुरु भएपनि प्रदेशका पहाडी जिल्लामा भने माघ १७ गतेबाट सुरुवात गरिने बताए।

रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल र भीम अस्पताल, बाँकेको भेरी अस्पताल, दाङको राप्ती प्रादेशिक अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य जिल्लामा भने सम्बन्धित जिल्ला अस्पतालहरुमा केन्द्र तोकिएको डा. पौडेलले जानकारी दिए।

गण्डकी प्रदेशमा डा. बुद्धिबहादुर थापा
गण्डकी प्रदेशमा कोरोनाविरुद्धको पहिलो खोप पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धिबहादुर थापाले लगाएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले थापालाई खोप हस्तान्तरण गर्दै अभियान सुरु गरेका थिए।

‘प्रदेशमा सुरु गरिएको खोप पहिलोपटक आफैँले लगाएर फ्रन्टलाइनमा काम गर्नेहरुलाई खोप लगाउन प्रेरित गरेको हुँ,’ डा. थापाले भने, ‘यो खोप सुरक्षित छ। खोप लगाएपछि केही समस्या देखिएको छैन। ढुक्क भएर सबैलाई लगाउन अनुरोध गर्छु।’No description available.गण्डकी प्रदेशमा पहिलो चरणमा कोरोनाविरूद्ध फ्रन्टलाइनमा खटिनेका लागि १८ हजार डोज खोप पठाइएको छ। गण्डकी प्रदेशमा खोप अभियानको व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम पुगेका छन्।

कर्णाली प्रदेशमा तीन जनाले लगाए पहिलो खोप
कर्णाली प्रदेशमा प्रदेश अस्पताल र स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक एवं कोभिड–१९ खोप व्यवस्थापनका संयोजकले एकै पटक खोप लगाएर अभियानको सुरुवात गरेका थिए।

प्रदेश अस्पताल, सुर्खेतमा स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्का, प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का र कोभिड–१९ खोप व्यवस्थापनका संयोजक एवं बाल रोग विशेषज्ञ डाक्टर नवराज केसीले एकै पटक खोप लगाएर अभियानको सुरुवात गरेका थिए।

No description available.

‘यो खोपको सम्पूर्ण प्रक्रियाहरू पूरा भएर आएको हुँदा यसमा ढुक्क भएर लगाउनुभए हुन्छ,’ डा. खड्काले भने, ‘नागरिकहरूलाई विश्वास दिलाएर अभियानमा सहभागी गराउने उद्देश्यले हामीबाटै अभियानको सुरुवात गरेका हौँ।’

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशकका अनुसार आठ वटा जिल्ला अस्पतालका साथै वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल, मेहेलकुना अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी सामुदायिक अस्पताल पश्चिम रुकुमलाई केन्द्र बनाएर कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य सुरु भइसकेको छ।

सुदूरपश्चिम प्रदेशमा डा. गुणराज अवस्थीलाई पहिलो खोप
सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले कोरोना विरुद्धको पहिलो खोप लगाएका छन्। मुख्यमन्त्री त्रिलोचन भट्टले सेती प्रादेशिक अस्पतालबाट खोप अभियानको सुरुवात गरेका थिए।

No description available.

अस्पतालमै डा. अवस्थीले पहिलो खोप लगाएका हुन्। प्रदेशमा सेती प्रादेशिक अस्पतालसहित प्रदेशका ९ वटा खोप केन्द्र मार्फत खोप लगाउन सुरु भएको छ। प्रदेशका लागि ३६ हजार डोज खोप धनगढी पठाइएको थियो। प्रदेशका १६ हजार अग्रपंक्तिमा खटिनेलाई पहिलोचरणमा खोप लगाउने कार्यक्रम छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .