समाज


वर्षभरि संक्रमितको उपचारमा खटेका डाक्टर भन्छन्: कोरोनाविरुद्धको युद्ध अन्त्यको सुरुवात भयो

वर्षभरि संक्रमितको उपचारमा खटेका डाक्टर भन्छन्: कोरोनाविरुद्धको युद्ध अन्त्यको सुरुवात भयो

यज्ञराज जोशी
माघ १४, २०७७ बुधबार १३:३९,

ठिक एकवर्ष अघि नेपालमा पहिलोपटक कोरोना संक्रमित भेटिएका थिए। चीनबाट आएका ती व्यक्तिको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भएको थियो।

ती संक्रमितको उपचारमा पहिलो दिनदेखि खटिएका थिए– डा. अनुप बास्तोला। त्यसयता दिनरात नभनी कोभिड संक्रमितको उपचारमा सक्रिय रहेका उनले बुधबार खोप लगाए।

‘यो कोभिडविरुद्धको लगातारको लडाइँ अन्त्यको सुरुवात हो,’ खोप लगाएपछि राहतको श्वास लिँदै बास्तोलाले भने।

पहिलो केस देखिएपछि टेकु अस्पतालका ५ बेड कोरोना संक्रमितका लागि छुट्टाइएको थियो। बिस्तारै संक्रमित बढ्दै जाँदा यो कोरोना डेडिकेटेड अस्पताल बन्यो।

अस्पतालमा अहिलेसम्म ९ सय बढी संक्रमितको उपचार भइसकेको छ। बास्तोला नेतृत्वको चिकित्सक टोली उपचारमा संलग्न थियो।

‘वर्षदिन कोभिडविरुद्धको लगातार लडाइँपछि आज मैले दोस्रो खोप लगाउन पाएँ,’ बास्तोला भन्छन्, ‘यसले कोरोनाविरुद्धको लडाइँमा नयाँ रणनीति तयार भएको छ।’

बुधबार अस्पतालका निर्देशक सागर राजभण्डारीले पहिलो खोप लगाएसँगै देशव्यापी खोप अभियान सुरु भएको थियो।

कोरोना संक्रमित फेला पर्न थाल्दा नेपालमा डाक्टरहरुले पीपीई समेत नपाउने अवस्था थियो। यसक्रममा थुप्रै स्वास्थ्यकर्मीहरु संक्रमित भए। केहीले ज्यानै गुमाए।

परिवारसँग महिनौँ टाढा बसेर बास्तोलाजस्ता चिकित्सकले यस अवधिमा संक्रमितहरुको उपचार गरेका थिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा सानी छोरीलाई मावल पठाएर कोरोनाविरुद्धको लडाइँमा होमिएकी थिइन्। सो प्रयोगशालाले एक वर्षको अवधिमा करिब २ लाख ४७ हजार नमुना परीक्षण गरिसकेको छ। जसमा झा अग्रपंक्तिमा रहिन्। उनी बुधबार खोप लगाउने पहिलो महिला पनि बनिन्।

‘आजकै दिन एक वर्षअघि हामीले नेपालमा कोभिडको पहिलो परीक्षण सुरु गरेका थियौँ,’ झाले भनिन्, ‘ठिक एक वर्षपछि आज खोप लगाउन पाएका छौँ। तर हामीले सतर्क हुन अझै छाड्नुहुन्न।’

एकसाता अघि भारत सरकारले उपहार स्वरुप नेपाललाई १० लाख डोज खोप उपलब्ध गराएको थियो। कोभिसिल्ड नाम दिइएको सो खोप अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेका हुन् भने भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको हो।

सोही खोप बुधबारबाट लगाउन सुरु भएको हो। सातै प्रदेशमा रहेका ६२ अस्पताल, काठमाडौँ उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई खोप लगाउन सुरु गरिएको छ।

पहिलो चरणमा फोहरमैला व्यवस्थापक, स्वास्थ्यकर्मी, एम्बुलेन्स तथा शववाहन चालकलगायत अग्रपंक्तिमा खटिएकाहरुलाई खोप लगाइँदैछ। खोप अभियान उद्घाटन कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कोरोनाविरुद्धको लडाइँमा आजको दिन महत्वपूण भएको बताए।

‘आज कोरोनाविरुद्धको लडाइँका लागि महत्वपूर्ण दिन हो। संक्रमण बिस्तार रोक्न र निर्मूल पार्न खोपको भूमिका महत्वपूर्ण हुन्छ,’ मन्त्री त्रिपाठीले भने, ‘नेपालले सोचेभन्दा छिटो खोप ल्याउन सफल भएको छ। आज देशभरका स्वास्थ्यकर्मी र सफाइकर्मीबाट सुरु गर्दैछौँ। चाँडै सबैलाई खोप दिइनेछ।’

खोपको पूर्ण प्रभावकारिताबारे अझै अध्ययन जारी रहेकाले खोप लगाएकाले पनि स्वास्थ्य मापदण्ड पालना र सतर्कता अपनाउन छोड्न नहुने उनको भनाइ छ।

‘सुरक्षित र प्रभावकारी खोपले विद्यमान परिस्थितिमा आमूल परिवर्तन ल्याउन सक्छ। तर आगामी दिनमा पनि मास्क लगाउने, भौतिक दुरी कायम गर्ने र भीडभाडयुक्त स्थानमा नजाने कुराको पालना गरिरहनुपर्छ,’ उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसक्ने बताएका छन्। तर, भारतले दिएको यो १० लाख डोजबाहेक खोप ल्याउन नेपालले कुनै मुलुक वा कम्पनीसँग सम्झौता गरेको छैन।

‘कोभिड १९ विरुद्धको लडाइँमा आजबाट हामी माथि उठेका छौं,’ ओलीले भने, ‘योसँगै हामी कोरोनालाई पराजित गर्ने आकांक्षालाई मूर्तरुप दिन थालेका छौं। आगामी तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसक्छौं।’

खोप अभियानको सुरु गर्दै उनले अन्य देश र अन्तर्राष्ट्रिय संस्थासँग खोपका लागि समन्वय भइरहेको बताए।

‘सुरुमा एक ठाउँमा पनि परीक्षणस्थल नहुने अवस्थाबाट हामी ८२ स्थानबाट दैनिक २५ हजारभन्दा बढीलाई दैनिक सेवा दिन सक्ने अवस्थामा पुगेका थियौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिलेसम्म कोभिड अस्पताल निर्माणमा लागेका थियौँ, अब त्यसलाई रोक्नुपर्नेछ, अब विगतमा झैँ कोभिड–१९ बढ्दैन तर सावधानी अपनाउने कुरामा भने ध्यान दिनैपर्छ।’

बुधबारको तथ्यांकअनुसार नेपालमा तीन हजार २८६ जना सक्रिय संक्रमित छन्। नेपालमा २ लाख ७० हजार ३७५ जनालाई संक्रमित भइसकेको छ। त्यसमध्ये २ लाख ६५ हजार ०६९ जना निको भइसकेका छन्।

नेपालमा निको हुने दर ९८ प्रतिशत छ भने कोरोनाबाट २०२० जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .