समाज


जापानी खानाको उत्कृष्ट सेफ बनेका वसन्तलाई विश्व चर्चित होटलले गरे अफर

जापानी खानाको उत्कृष्ट सेफ बनेका वसन्तलाई विश्व चर्चित होटलले गरे अफर

यज्ञराज जोशी
माघ १९, २०७७ सोमबार १३:३३,

जापानको कृषि, वन तथा मत्स्य मन्त्रालयले प्रत्येक वर्ष जापानी खानासम्बन्धी प्रतियोगिता आयोजना गर्छ। जसलाई ‘वासोकु वर्ल्ड च्यालेन्ज’ भनिन्छ। यसमा जापानी खाना र खाना संस्कृतिबारे रुचि भएका अन्य देशका नागरिकले पनि सहभागी हुन पाउँछन्।

त्यसका लागि पेरिस, न्युयोर्क, लस एन्जल्स, बैंकक र ओसाकामा क्षेत्रीय प्रतिस्पर्धा हुन्थे र त्यहाँबाट छानिएका उत्कृष्टहरुबीच अन्तिम प्रतिस्पर्धा टोकियोमा हुन्थ्यो।

तर, प्रतियोगिताको आठौँ संस्करण भने कोभिड १९ का कारण भर्चुअल रुपमा हुने भयो। जसमा जापानी खाना र खानपान संस्कृतिबारे रुचि भएका ४१ देशका १९९ जना सेफले आवेदन दिए।

अमेरिका, ब्राजिल, कुवेत, चीन, भारत, यूएईदेखि यूरोपका सेफहरुसँगको प्रतिस्पर्धामा यसपटक नेपाली सेफ वसन्त बान्तवा राई पनि थिए। जो सबैलाई पछि पार्दै ६ फाइनलिस्टमध्ये एक बन्न सफल भए।

यसपाली महामारीका कारण टोकियोमा अन्तिम प्रतिस्पर्धा हुन सम्भव भएन। त्यसैले फाइनलिस्ट ६ जनालाई नै विजेता घोषित गरिएको छ।

स्पेन, मकाउ, अमेरिका, ताइवान, ब्राजिलका सेफसँगै नेपालका वसन्त यस संस्करणको उपाधि विजेता बनेका छन्।

‘यो मेरोमात्रै उपलब्धी होइन। मसँगै नाम जोडिएर आउने नेपाल र नेपालीहरुको पनि उपलब्धि हो,’ वसन्त भन्छन्, ‘विश्वभरका सेफहरुलाई पछि पार्दै फाइनलिस्ट बन्नु ठूलो उपलब्धी हो। यसले नयाँ पुस्तालाई प्रेरित गर्ने मैले विश्वास लिएको छु।’

किचन हेल्परदेखि सेफसम्म
मोरङका वसन्त स्नातक अध्ययन गर्दागर्दै घरको आर्थिक स्थिति सुदृढ बनाउन २०१० मा यूएई पुगेका थिए। जहाँ उनी एक जापनिज रेस्टुरेन्टमा किचन हेल्परको रुपमा काम गर्थेे। किचनको सरसफाई, सेफले भनेका कुरा गर्नु उनको जिम्मेवारी थियो।

बिस्तारै किचनमा सँगै काम गर्ने सेफहरुसँग उनको घनिष्ठता बढ्दै गयो। काम सिक्न सधैँ इच्छुक देखिने वसन्तलाई सेफले बनाएका नयाँ नयाँ परिकारले लोभ्याउँथ्यो। आफू पनि त्यस्तै बनाउन पाएको भए हुन्थ्यो झैँ लाग्यो। सेफले पकाएका खानेकुरा, रेसिपीहरु ध्यान दिएर हेर्थे र आफैँपनि अभ्यास गर्थे। कुकिङमा इच्छा देखाएपछि सेफ साथीहरुले पनि उनलाई प्रोत्साहन गर्न थाले।

‘मैले सेफका लागि कुनै डिग्री हासिल गरेको छैन। औपचारिक तालिमपनि लिएको छैन,’ वसन्त भन्छन्, ‘सुरुमा सेफ बन्छु भन्ने पनि थिएन। हेर्दै सिक्दै आएको हो। साथीहरुले पनि सिकाउनुभयो। अभ्यासले नै म विभिन्न खानेकुरा बनाउन सक्षम भए।’

जापानी खाना बनाउन सिकिसकेपछि उनले सेफको काम खोज्न थाले। सुरुमा यूएईका विभिन्न रेस्टुरेन्ट तथा होटलमा जुनियर, कार्यकारी सेफ हुँदै उनी प्रमुख सेफको पदमा बढुवा हुँदै गए। यूएईमा उनले पन्च दुबई, जुमेरा इमिरेट्स टावर्स होटल र पछिल्लो समय कात्सुया रेस्टुरेन्टमा सहायक सेफका रुपमा काम गरिरहेका थिए।

प्रतियोगिता
कात्सुयामा काम गरिरहेका बेला उनका जापानी सेफ साथीहरुले जापानी मन्त्रालयले आयोजना गर्ने प्रतियोगिताबारे वसन्तलाई बताएका हुन्। सेप्टेम्बर वसन्तले प्रतिस्पर्धामा सहभागी हुने निधो गरे।

कोरोनाका कारण प्रतियोगिताका नियमानुसार सुरुमा सहभागी हुन चाहने सेफहरुले दुईवटा जापानी खानाका परिकारहरु उनीहरुकै शैलीमा पकाएर पठाउनुपर्ने थियो। खानाको तस्बिरसँगै त्यसलाई कसरी तयार पारिएको हो र जापानी खानाको स्वाद र शैलीसँग कसरी मेल खान्छ, विस्तृतमा लेखेर पठाउनुपथ्र्यो।

No description available.

वसन्तले जापानी तरिकाबाटै माछालाई प्यानमा पकाएर आकर्षक रुपमा तयार पारिएको ‘पान सिअर्ड सी बास विथ मिसो बटर सस’ र ‘सेभिच’ बनाएर पठाएका थिए।

निर्णायकहरुले सामाग्रीको मात्रा, फुड कलर र एरेन्जमेन्ट, काट्ने तरिका, खाना पकाउने शैली र जापानी स्वादहरुको आधारमा निर्णय गरेका थिए।

‘हामीले पठाएको तस्बिर र विवरणका आधारमा जापानका पाँच जना टप सेफहरुले हाम्रो मूल्यांकन गरेका थिए,’ उनी भन्छन्, ‘मैले थुप्रो रिसर्च गरेर जापानी खानामा प्रयोग हुने सरसमान, उनीहरुको स्वादमा ती परिकार तयार पारेको थिएँ। सोहीकारण ४१ देशका १९९ सेफहरुमध्येबाट जज सेफहरुले मलाई दोस्रो चरणमा छनोट गर्नुभयो।’

पहिलो चरणमा खानाको तस्बिर र विवरण पठाएको एक महिनापछि त्यसको नतिजा प्रकाशित गरिएको थियो। जसमा वसन्तसहित स्पेन, चीन, कुवेत, मकाउ, अमेरिका, अस्ट्रिया, हङकङ, थाइल्यान्ड, बेलायत, ताइवान र ब्राजिलका १५ सेफ छनोट भएका थिए।

No description available.

दोस्रो चरणमा जापानिज जजहरुले दिएको थिममा आधारित रहेर खाना बनाउँनुपथ्र्यो। जुन भिडियो मार्फत जजहरुले लाइभ हेर्थे। यस चरणमा बसन्तले माछाकै अर्को परिकार ‘हिमाची कामा’लाई टमाटरको स्वादमा पस्किएका थिए।

उनले अनलाइनमार्फत एकातिर खाना बनाउँदै अर्कातिर त्यहाँ मिसाइने मात्रा र काट्ने, पकाउने, सजाउने तरिकाबाट जानकारी दिँदै गए। निर्णायकले सेफको जापानी खानाप्रतिको ज्ञान, सीप र लगावलाई हेर्थे।

वसन्तले आफ्नो खाना बनाइसकेपछि निर्णायकले त्यसबेला धन्यवाद मात्रै भनेका थिए। एक महिनापछि सार्वजनिक गरिएको नतिजामा उनी उत्कृष्ट ६ भित्र परेका थिए।

फाइनलिस्टहरुलाई जापानी मन्त्रालयले अहिले अनलाइन तथा प्राइभेट कक्षाहरु दिइरहेको छ। जापानी खाना तथा खाना बनाउने शैलीबारे पारंगत बनाउँदै छ। यसले आफ्नो क्षमता अझै विस्तार भएको वसन्त बताउँछन्।

नेपाली सेफका लागि अवसर
यससँगै नेपाली सेफहरुका लागि अवसरको ढोका खुलेको वसन्त बताउँछन्। आफूले सो स्थान हासिल गर्दा नेपालीहरुमा जापानी खानाप्रति राम्रो ज्ञान भएको सन्देश पनि गएको उनको भनाइ छ।

‘म विश्वभरको प्रतिस्पर्धाबाट फाइनलिस्ट बन्दा नेपाली सेफहरुको पनि प्रवद्र्धन भएको छ। नेपाली सेफहरुपनि विश्वस्तरका छन् भन्ने सन्देश गएको छ,’ वसन्त भन्छन्, ‘नेपालमा अझैपनि सेफलाई सम्मानित पेसाका रुपमा लिइन्न। सेफमा भविष्य खोज्ने पुस्ताका लागि पनि यो सफलता प्रेरणा बन्ने विश्वास लिएको छु।’

प्रतियोगिताको फाइनलिस्ट बनेपछि विश्वका चर्चित होटलहरुले वसन्तलाई जागिरको प्रस्ताव पनि गरेका छन्। गत डिसेम्बरबाट मात्रै उनी माल्दिभ्सको चर्चित सिसाइड फिनोलु रिसोर्टमा रेस्टुरेन्ट इन्चार्जका रुपमा काम गर्दैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .