बिहीबार राति सम्पदा बचाउ अभियानका आलोकसिद्धि तुलाधरलाई उनका एक साथीले भनेका थिए, ‘कमलपोखरीमा त कंक्रिटको संरचना ढलान भएको छ।’
महानगरले कमलपोखरीमा कंक्रिटको कमल फुलाउने योजना बनाएको थियो। तर त्यसले मौलिकता मासिने भन्दै सुरुदेखि नै तुलाधारलगायत सम्पदाप्रति चासो राख्नेहरुले विरोध गर्दै आएका थिए।
त्यो खबर पाएपछि उनलाई छटपटी भएको थियो। शुक्रबार बिहानै माइतीघरमा जारी बृहत नागरिक आन्दोलनका अभियान्ताहरुलाई तुलाधरले सो खबर सुनाए।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनविरुद्ध नागरिक अगुवाहरुले बृहत् नागरिक आन्दोलन घोषणा गरेका थिए।
गत मंगलबार सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरिदियो। तैपनि नागरिक सर्वोच्चता कायम नभएसम्म आन्दोलन जारी रहने भन्दै उनीहरु शुक्रबार पनि माइतीघर मण्डलमा ओर्लिएका थिए।
यसपटक बालाजु सडक विस्तारविरुद्ध बोल्नेहहरुलाई पक्राउ गरिएको विरोधमा प्रदर्शन आयोजना गरिएको थियो। बृहत् नागरिक आन्दोलनले उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवाः देः दबु लगायतको सयुंक्त ब्यानरमा सो कार्यक्रम गरेको थियो।
नारायण वाग्ले, राजेन्द्र महर्जन, विद्या श्रेष्ठजस्ता अभियान्तालाई तुलाधारले कमलपोखरीमा कंक्रिट राखिएको खबर सुनाएपछि तत्कालै योजना बन्यो– माइतीघरको कार्यक्रम सकेर मार्चपास गर्दै कमलपोखरी जाने र सांकेतिक रुपमा कंक्रिट तोडेर विरोध गर्ने।
माइतीघरबाट अघि बढेको मार्चपास भद्रकाली, सहिदगेट, सुन्धारा, जमल, हात्तीसार हुँदै कमलपोखरी पुगेको थियो।
‘सम्पदा मास्न पाइदैन, कंक्रिटको कमलपोखरी चाहिँदैन’, उनीहरुको मुख्य नारा थियो।
कमलपोखरी पुग्दा त्यहाँ ठूलो संख्यामा प्रहरी जम्मा भइसकेका थिए। अभियान्ताहरुले सुरुमा पोखरीमा बनाएको पहिलो कंक्रिटको संरचना घेरे। जसलाई फाउन्टेन बनाउने भन्दै ढलान गरिएको थियो।
नाराबाजीकै बीचमा जुलुसमा सहभागीहरुले सो ढलान भत्काए।
उनीहरुले ठाने– पोखरीमा एउटा मात्रै कंक्रिटको संरचना बनेको होला। त्यसैले उनीहरु कार्यक्रम समापनतर्फ लागे र माइक समाते नागरिक आन्दोलनका अगुवा लेखक तथा पत्रकार नारायण वाग्लेले।
‘यही कमलपोखरीको कालोमाटो निधारमा दलेर हामीले बालुवाटार मार्चपास गरेका थियौँ। त्यहाँ हामीले पानीका फोहोरा खायौँ,’ प्रतिगमनविरुद्धको आन्दोलन सम्झिदैँ वाग्लेले भने, ‘कालोमाटो यो सरकारका लागि कति घृणाको कुरो रैछ भन्ने उदांगो भएको छ। सांकेतिक रुपमा आज नागरिकहरु गोलबद्ध भएका छौँ। सम्पदा, प्रकृतिविरुद्ध यही क्रम जारी रह्यो भने नागरिकहरु थप आन्दोलित भएर हरेक संघर्षमा यसरी उत्रिनेछन्।’
वाग्लेको मन्तव्य सकिन नपाउँदै एकजनाले अर्को कंक्रिटको संरचना पनि देखिएको बताए। सबैजना उतै लागे।
पोखरीको बीचमा ठूलो ढलान बनाइएको थियो। ढलानमाथि पानी थियो। आन्दोलनकारीका अनुसार कंक्रिटको कमल फुलाउन त्यो ढलान गरिएको थियो। आन्दोलनकारीहरु पानीभित्रै पसे र कंक्रिट फुटाउन थाले। ढलानमाथि सांकेतिक विरोधस्वरुप माटो हाल्न थाले।
त्यतिकैमा एक अभियान्ताले तेस्रो स्थानमा पनि ढलान भेटाए। उनी धमाधम कंक्रिटमाथि घन बजाइरहेका थिए। त्यसपछि प्रहरीले हस्तक्षेप गर्यो। प्रहरी र अभियान्ताबीच घन खोसाखोस भयो। केही अभियान्ताले ढलान फुटाउन ढुंगा समेत समाएका थिए। प्रहरीसँग अभियान्ताको केहीबेर दोहोरो भनाभन र धकेलमधकेल भयो। अन्ततः प्रहरीले अभियान्ताको हातमा भएको घन, ढुंगा सबै खोस्यो।
त्यसपछि नारा लाग्यो– ‘विद्यासुन्दर शाक्य मुर्दावाद, प्रहरी दमन मुर्दावाद!’
धकेलाधकेलपछि अभियान्ताहरु आइतबार बिहान महानगरको कार्यालयमा जाने भन्दै त्यहाँबाट विदा भए।
अभियान्ता तुलाधारले मौलिकता मास्नेविरुद्ध घन उठाएर अभियान्ताहरुले खबरदारी गरेको बताए।
‘स्वस्फूर्त रुपमा घन उठाएर नागरिकहरुले संस्कृति, सम्पदामाथि भएको हमलाविरुद्ध रोष प्रकट गरेका हु्न,’ तुलाधरले भने, ‘उहाँहरुको दिमागमा जनताको आवाजप्रति चासो छ, दम्भ, अहम छैन् भने यो काम रोक्न आह्वान गर्न चाहान्छु। हामी पछि यस्तो मुडभेड नहोस भन्न चाहन्छौँ।’
उनले कयौं दिनदेखि प्राकृतिक स्वरुपको पोखरीमा कंक्रिट नराख्न भन्दै उठेको आन्दोलन र अदालतमा परेको मुद्दालाई बेवास्ता गर्दै महानगरपालिका गैरजिम्मेवार रुपमा प्रस्तुत भएको जनाए।
तुलाधरका अनुसार वर्षातको बेला वरिपरिको ठाउँबाट आएर पानी कमलपोखरीमा जम्मा हुने गर्छ। जसले गर्दा बस्ती डुब्न पाउँदैन। वर्षात् बाहेकका महिनामा कमलपोखरीमा जम्मा भएको पानीले जमिनलाई रिचार्ज गर्छ। जसका कारण वरपरका बस्तीका इनार, ढुंगेधाराहरु सुक्न पाउँदैनन्।
तर सिमेन्टको संरचना बनाएपछि त्यो प्राकृतिक बहाव रोकिने र पोखरीको मर्म नै टुट्ने भएकाले आफूहरुले त्यसको विरोध गरेको उनले बताए।
प्रतिक्रिया