पाँच महिनाअघि विभिन्न विश्वविद्यालयमा अध्ययनरत् नेपाली इन्जियनिरिङका विद्यार्थीहरुले एउटा सपना पालेका छन्, आफैँले बनाएको रकेट अमेरिका गएर उडाउने।
अमेरिकामा ‘द स्पेसपोर्ट अमेरिका कप’ प्रतियोगिता हुने गर्छ। जसमा विश्वभरका कलेज र विश्वविद्यालयका विद्यार्थीहरुबीच रकेट उडाउने प्रतिस्पर्धा हुन्छ। हरेक वर्ष आयोजना हुने सो प्रतियोगितामा विद्यार्थीले आ–आफ्नो रकेटको डिजाइन प्रस्तुत गर्छन्। प्रतियोगिताको मापदण्डअनुसार विद्यार्थी टोलीले ठोस, तरल वा हाइब्रिड प्रोपेलेन्ट रकेटको डिजाइन बनाउने गर्छन्।
मापदण्डअनुरुप डिजाइन राम्रो भएमा तिनको रजिस्ट्रेसन गरिन्छ र डिजाइनअनुरुप विभिन्न चरणमा छनोट हुँदै गएमा अन्त्यमा रकेट उडाउने अवसर प्राप्त हुन्छ।
यसपटक अन्तरिक्षसम्बन्धी अध्ययन र विकास गर्न विद्यार्थीहरुको अन्तर्राष्ट्रिय सञ्जाल (सिड्स)को नेपाली शाखा अन्तर्गत रकेटसम्बन्धी काम गर्ने ओपन रकेट एन्ड स्पेस सोसाइटी नेपाल (ओर्यास)मार्फत विद्यार्थीहरुले उक्त प्रतियोगितामा आवेदन दिएका थिए।
यसपटक नेपाली विद्यार्थीहरुले तयार पारेको ‘गरुडा’ नामक रकेटको डिजाइन गत कार्तिकमै स्पेसपोर्टमा छनोट भएको थियो। त्यसपछि विद्यार्थीहरु आफूहरुले दिएको डिजाइनअनुरुप रकेट बनाउने काम सुरु गरेका हुन।
थापाथली इन्जिनियरिङ कलेज, पुल्चोक इन्जिनियरिङ कलेज र काठमाडौं विश्वविद्यालयका ल्याबमा पाँच महिना लगातार काम गरेपछि उनीहरुले रकेट परीक्षणका लागि शनिबारको मिति तय गरेका थिए।
रकेट लन्चका लागि मानवीय वस्तीभन्दा टाढा खुल्लास्थान चाहिने भएकाले नेपाली सेनासँगको सहकार्यमा धनुषाको भिमानस्थित नेपाली सेनाको ब्यारेकलाई रोजिएको थियो। लन्च कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापा समेत उपस्थित भएका थिए।
उक्त रकेट प्रक्षेपण अभियानमा ३० जना नेपाली विद्यार्थीले काम गरिरहेका छन। जसमध्ये १३ जना विद्यार्थी अघिल्लो दिन शुक्रबार नै भिमान हिडेका थिए।
काठमाडौंबाट भिमान हिँड्दा विद्यार्थीहरुले रकेटका पार्टहरु अलग अलग पारेर लगेका थिए। उनीहरुसँग लन्च प्याडका सामग्री पनि थिए। रकेट उडाउने योजनासहित धनुषातर्फ जाँदैगर्दा उनीहरुमा निकै उत्सुकता बढिरहेको थियो। उनीहरु जतिजति भिमान नजिक पुग्थे उति उनीहरुको धड्कन झनझन् बढ्दै थियो।
‘लामो समयदेखि काम गर्दै आएको प्रोजेक्टको नतिजा हेर्न हामी भिमान पुगेका थियौंं,’ उक्त रकेट प्रक्षेपणका मुख्य नेतृत्वकर्ता मोहन तामाङ भन्छन्, ‘उड्छ कि उड्दैन भनेर सबैलाई एकदमै चासो थियो। हाम्रो धड्कन एकदमै बढेको थियो।’
शनिबार बिहानैदेखि उनीहरु एसेम्बलको काममा जुटेका थिए। उनीहरुलाई एसेम्बलको काममा ६ घण्टा लागेको थियो। त्यतिञ्जेलसम्म परीक्षणको प्रत्यक्षदर्शी बन्न प्रधानसेनापति थापा र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबिर पुन पनि परीक्षण स्थलमा पुगिसकेका थिए।
लन्चप्याडहरु राख्न र रकेटलाई ठाडो बनाउन नेपाली सेनाले उनीहरुलाई सहयोग गरेको थियो। लन्चप्याडभित्र रकेट तयार पारिसकेपछि उनीहरुले रकेडसँग सामूहिक तस्बिर खिचाए। त्यसपछि लन्च गर्न रेडी भएको संकेत दिँदै ठाउँ खाली गरे।
केहीबेरमा उक्त परीक्षणको प्रमुख अतिथि रहेका प्रधानसेनापति थापालाई रिमोर्टको स्वीच थिचेर लन्च गर्न आग्रह गरियो। थापाले रिमोर्टमा स्वीच थिचेसँगै रकेटको इन्जिन स्टार्ट भयो। पुछारबाट धुवाँ निस्किन थाले। इन्जिनको गति बढेसँगै आगोको मुस्लो निक्सियो र रकेटले आकाशको दिशा समात्यो।
त्यसबेला एकातिर तालीको गडगडाहट थियो भने अर्कोतर्फविद्यार्थीहरु पनि खुशीले चिच्याइरहेका थिए।
तर केहीबेरमै रकेटले आफ्नो दिशा मोड्यो। माथि उडेको रकेट भुईंतर्फै फर्कियो र नजिकै बजारियो। यो उनीहरुको परीक्षण पूर्णरुपमा सफल नभएको अवस्था थियो।
रकेटलाई कम्तिमा १ हजार मिटर उडाउने उनीहरुको लक्ष्य थियो। तर मोहनका अनुसार रकेट १० सेकेन्ड उडेको थियो। २०० मिटर उडेर रकेटले भुईंतर्फैै फर्किएको हो।
‘उड्न त उड्यो तर सोचेको जस्तो भएन। त्यसमा अलि नरमाइलो लागेको छ,’ उनले भने, ‘उठ्दै नउडेको पनि हैन। केही उचाईसम्म उडेको भएर खुशी पनि छौं।’
उपस्थितहरुले उनीहरुको हौसलामा भने कमी हुन दिएनन। ताली बजाएर सबैले सम्मान जनाए। प्रधानसेनापति थापा र पुनले पनि यसलाई असफलताका रुपमा नलिन भन्दै हौसला बढाएका थिए। आगामी दिनमा पनि आफूहरुले निरन्तर सहयोग गर्ने उनीहरुले वचन दिएका छन।
किन आंशिक सफलता?
रकेट परीक्षण किन सफल भएन उनीहरु अझै अनविज्ञ छन। आइतबारमात्रै काठमाडौं फर्किएका उनीहरुले विस्तृत अध्ययनपछि कहानेर केहि कमजोरी रह्यो भन्ने पत्ता लगाउन सक्ने बताए।
रकेट अभियानमा सुरुदेखि नै खटिएकी काठमाडौं विश्वविद्यालयमा इलेक्ट्रोनिक इन्जिनियरिङमा स्नातक अध्ययनरत् आश्विनी खरेलले हावाको दिशा र लन्ज रेञ्ज पनि निश्चित नभएका कारणले परीक्षण सफल हुन नसकेको अनुमान लगाइन्। यद्यपी काठमाडौंमा त्यससम्बन्धी विस्तृत अध्ययन हुने उनीहरुले बताएका छन।
यस परीक्षणमा मुख्यतयाः उनीहरुले मोटर र इन्जिन टेस्ट गर्न खोजेका थिए। उनीहरुले अबको डेढ महिनामा सबै टेक्निकल समस्या समाधान गर्दै अर्को चरणमा फाइनल परीक्षण गर्ने लक्ष्य लिएका छन।
स्पेसपोर्टमा कहिले?
यसपटक स्पेसपोर्ट अमेरिकामा विश्वभरका ३ सय बढी टोलीले आवेदन दिएका थिए। तीमध्ये नेपालसहित १ सय ५४ टोली छानिएका हुन।
आयोजकका अनुसार यसपटक ६३ प्रतिशत रकेट डिजाइन अमेरिकाबाट छनोट भएका छन्। त्यसबाहेक क्यानडा, बेलायत, भारत, अस्ट्रेलिया, टर्की, ब्राजिल, स्वीट्जरल्यान्ड, मेक्सिको, जर्मनी, रुस, नर्वे, पोल्यान्ड, ग्रिस, अल्जेरिया, इजिप्टसँगै नेपालको ‘गरुडा’ पनि स्वीकृत भएको हो।
सबै देशका समूहले आआफ्नो देशमा नेपाली विद्यार्थीजस्तै अहिले रकेट बनाइरहेका छन। आगामी जुन महिनामा हुने प्रतियोगितामा सबैले प्रतिस्पर्धामा भाग लिनेछन।
आफूहरुले बनाएको रकेटको डिजाइन सोलिड साउन्डिङयुक्त भएको खरेलले बताइन्। यसको लम्बाइ ९० इन्च छ। यसले स्याटेलाइट लगेर छाड्न सक्छ।
यस प्रतिस्पर्धालाई आफूहरुले अवसरको रुपमा लिएको विद्यार्थीहरु बताउँछन। प्रतिस्पर्धामा राम्रो डिजाइन भए संसारका ठुल्ठूला स्पेस कम्पनीहरुले हायर गर्ने सम्भावना पनि मोहनले बताए।
‘स्पेस कम्पनीहरुअघि आफ्नो क्षमता देखाउने यो मौका पनि हो,’ उनले भने, ‘हामी अन्तिम चरणमा पुग्दा अन्य विद्यार्थीहरुलाई पनि त्यसले उत्प्रेरणा दिनेछ। साथमा विश्वलाई पनि नेपाल र नेपालीको क्षमता कम छैन भन्ने सन्देश जान्छ।’
आर्थिक अभाव
नेपाली विद्यार्थीहरुले रकेट बनाउन तथा सहभागिताका लागि १७ लाखभन्दा बढी खर्च हुने अनुमान गरेका छन। रकेटका विभिन्न भागहरु नेपालमा नपाइने भएकाले उनीहरुले विदेशबाट झिकाउनुपर्ने बाध्यता समेत छ।
यसक्रममा विभिन्न व्यक्ति तथा निकायले उनीहरुलाई ६ लाख सहयोग गरेका छन। हालसम्म त्यो सबै रकम सकिएको मोहनले बताए। बाँकी दुई महिनामा प्रोजेक्ट सकाउने लक्ष्य रहेको तत्काल पैसाको खाँचो उनीहरुलाई छ।
यसबीच सरकार तथा नास्टले आर्थिक सहयोग गर्ने भनेपनि हालसम्म उनीहरुले एक रुपैयाँ पनि सहयोग नगरेको मोहनले बताए।
भिडिओ:
Shares
प्रतिक्रिया