काठमाडौं महानगरपालिकाले खुल्ला मञ्चमा रहेको सिटी बसपार्क १५ गतेदेखि हटाएको छ। महानगरले बसपार्कलाई हटाएर खुल्ला मञ्चलाई पुरानै अवस्थामा फर्काउने निर्णय गरेको हो।
गत हप्ता काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीचको बैठकले खुल्ला मञ्चमा भएको बसपार्क हटाउने निर्णय गरेका थिए।
पुरानो बसपार्कमा काठमाडों टावर बनाउने सुरु भएसँगै खुल्लामञ्चको आधा भागलाई बसपार्कको रुपमा प्रयोग गरिएको थियो। महानगरले टावरका ३ वटा तल्ला बसपार्कको रुपमा प्रयोग गर्ने बताए पनि टावर निर्माण कछुवा गतिमा भैरहेको छ।
महानगरले हाल खुल्लामञ्च प्रयोग गर्दै आएका छोटोदुरीका बसलाई पिक एण्ड ड्रप प्रणाली लागू गर्ने जनाएको छ। मध्यम दूरीका बसलाई भने नयाँ बसपार्क गोंगबुमा सारिने भएको छ।
महानगर प्रहरी उपरीक्षक धनपति सापकोटाका अनुसार पुरानो बसपार्कबाट करीब ४० कम्पनीका ६ सय सवारी साधन सञ्चालनमा थिए । जसमध्ये करीव २७ वटा कम्पनी छोटो दुरीका र करीब १३ वटा कम्पनी मध्यम दुरीका सवारी सञ्चालन गर्छन् ।
महामारी रोकथामका लागि जिल्ला प्रशासन कार्यालयबाट जारी आदेशको अवधिपछि यहाँबाट सञ्चालन हुने सार्वजनिक यातायातका साधनलाई २ तरिकाबाट व्यवस्थापन गरिनेछ । टिकट काउन्टर राखेर चलेका मध्यम दूरीका गाडी गोङ्गबु बस पार्कबाट सञ्चालन हुनेछन् ।
यस्तै छोटो दूरीका सवारी पिक एण्ड ड्रप प्रणालीबाट चल्नेछन् । पिक एण्ड ड्रप प्रणालीमा चल्ने गाडीहरुका सार्वजनिक सूचना प्रकाशन गरेर महानगरले निवेदन माग गरेको थियो । प्राप्त निवेदनका विषयमा महानगर र ट्राफिक प्रहरी महाशाखाले व्यवस्थापन गर्नेछन् ।
Shares

प्रतिक्रिया