समाज


सर्लाहीमा जंगली हात्तीको आतंक, आक्रमणको डरले स्थानीय रातभर सुत्दैनन्

सर्लाहीमा जंगली हात्तीको आतंक, आक्रमणको डरले स्थानीय रातभर सुत्दैनन्

नेपालखबर
जेठ १२, २०७८ बुधबार ४:११,

सर्लाहीमा जंगली हात्तीको कारण स्थानीय आतंकित भएका छन्। विगत एक महिना अघिदेखि सर्लाहीमा जंगली हात्ती देखापरेको हो।

हात्तीले हरिवन, लालबन्दी लगायतका ठाउँमा स्थानीयका घर भत्काउनुका साथै बालिनाली खाएर नोक्सान गरेको छ। हात्तीको डरले स्थानीयबासी रातभर जाग्राम बस्न थालेका छन्।

तीनवटाको समूहमा आएका जंगली हात्तीले गएराति हरिवन ८ मा आतंक सिर्जना गरेको छ। हात्तीले कम्तिमा पनि दुईवटा घर भत्काउनुका साथै स्थानीयको बालीनाली खाएर नोक्सान गरेको छ।

हात्तीले हरिवन ८ बेलातीस्थित मोहन भुजेल र डाँडाटोल निवासी सावी श्रेष्ठको घर भत्काएको हो। राति साढे ११ बजे हात्तीले लखेट्दा मोहन भूजेल घाइते भएका छन्। ‘मध्यराति एक्कासी हात्तीले घर भत्काउन थाल्यो,’ भुजेलले भने, ‘म अर्को घरमा सुतेको थिएँ। अलिपरको घरभित्रबाट हात्तीले मार्यो भन्दै आमा र दिदी चिच्याउन थाल्नुभयो। उठेर धपाउन जाँदा मलाई लखेट्यो। धन्न भाग्न सकेकोले बाँचियो।’

हात्तीले घर भत्काएर केही अन्न खाएको र मकैमा हाल्न ठिक्क पारेर राखेको खाद पोखेर नष्ट गरेको उनले बताए। ‘पछि सबै गाउँले जम्मा भएर विभिन्न घरेलु सामग्री ठटाएर कराउन थालेपछि हात्ती भाग्यो,’ भुजेलले भने।

विगत एक महिना अघिदेखि सर्लाहीको लालबन्दी क्षेत्रको जंगलमा बस्दै आएका तीनवटा हात्तीको समूह गएराति हरिवनतिर आएका हुन्।

हात्तीले मानवीय क्षति नगरे पनि केही घर भत्काएको र बालीनाली खाएर नोक्सान गरेको हरिवन ८ का वडाध्यक्ष यज्ञविनोद ढुंगलले जानकारी दिए। ‘हात्तीको डरले हामी पनि रातभर सुतेनौँ। हाम्रो गाउँमा पनि केही स्थानीयको केराबारीमा हात्तीले क्षति गरेको छ,’ ढुंगेलले भने। हरिवन ८ को डाँडाटोलबाट बुधबार बिहानीपख चापिनी हुँदै हात्ती पुनः पूर्वतिरै फर्किएको उनले जानकारी दिए।

जिल्ला वन कार्यालय सर्लाहीका प्रमुख मदन देवले विगत एक महिनादेखि सर्लाहीमा जंगली हात्ती देखिएको बताए। ‘यता आएका हात्ती तीनवटा छन्। बयस्क ती हात्ती प्रायः एउटै समूहमा हिँड्छन्,’ उनले नेपालखबरसँग भने, ‘हात्तीले अहिलेसम्म मानवीय क्षति नगरे पनि केही घर भत्काएको र तरकारीसहित अन्य बालीनाली खाएको विवरण हामीलाई प्राप्त भएको छ,। हामी क्षतिको मूल्यांकन गरेर पीडितलाई राहत प्रदान गर्ने छौँ।’

हात्तीले उखु, केरा लगायतको बालीमा क्षति गरेको स्थानीयले बताएका छन्। प्रायः चुरे क्षेत्र र वन जंगलआसपासका गाउँमा हात्तीले दुःख दिने गरेको छ। दिनभर नजिकैको जंगलमा बस्ने हात्ती साँझ परेपछि बस्तीतिर जाने गरेको वन अधिकृत देवले बताए।

‘हात्ती गाउँतिर आए धपाउनको लागि हामीले टोली परिचालन गरेका छौँ। जंगलमा बस्ने हात्तीलाई लखेट्ने कुरा हुँदैन,’ उनले भने, ‘हात्तीलाई नियन्त्रण गर्ने अन्य कुनै विधि हामीसँग छैन। स्थानीय सचेत हुनुपर्यो। हात्तीलाई जिस्क्याउने, तर्साउने, लखेट्ने नगरे हात्तीले केही गर्दैन। ऊ आफूले वर्षौंदेखि प्रयोग गर्दै आएको बाटो हिड्छ।’

यसअघि मंगलबार बिहान हात्तीले हरिवन नगरपालिका–१ गमडिकुनास्थित भैरव बहादुर सिंंहको घरमा भत्काएको थियो। हात्तिले सिंहको घर पूर्ण रुपमा भत्काई घरभित्र रहेको एक क्वीन्टल धान र चार क्वीन्टल मकै खाईदिएको प्रहरीले जनाएको छ। हात्तिको आक्रमणबाट घर र खाद्यान्न गरी दुई लाख रुपैंया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, मलंगवाले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad