राजस्व अनुसन्धान विभागले १६ किलो सुनसहित पक्राउ परेका धनकमल गुरुङविरुद्ध रु ३५ करोडभन्दा बढी जरिवाना र छ वर्ष कैद मागदाबीसहित मुद्दा दायर गरेको छ। गएको साउन ९ गते पक्राउ परेका धार्चे गाउँपालिका–३ केरौँजाका गुरुङविरुद्ध विभागले रु ३५ करोड ६६ लाख ७२ हजार जरिवाना माग गरेको हो।
विभागले आफ्नो अनुसन्धान पूरा गरी जिल्ला अदालत गोरखामा उक्त माग दाबीसहित मुद्दा दर्ता गरेको अदालतका स्रेस्तेदार विनोदप्रसाद अधिकारीले जानकारी दिए। विभागबाट सुन तस्करीसम्बन्धी अनुसन्धान सकेर मिसिल र अभियोगपत्र अदालतमा प्राप्त भएको उनले बताए।
‘अहिलेसम्मको अनुसन्धानको सम्पूर्ण मिसिल र अभियोग पत्र प्राप्त भएको छ’, जिल्ला अदालतका स्रेस्तेदार अधिकारीले भने, ‘प्रतिवादीविरुद्ध राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनसम्बन्धी मुद्दा दर्ता गरिएको छ।’ राजस्व अनुसन्धान विभागले राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन २०५२ तथा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार मुद्दा दर्ता गराएको हो।
प्रतिवादी गुरुङले बयान क्रममा आफूले लोप्साङ लामा भन्ने व्यक्तिबाट सुन लिएको बताएका छन्। गुरुङले दिएको बयानका आधारमा लामाको पूरा ठेगाना खुलेमा लोप्साङ लामाविरुद्ध पूरक अभियोग लगाएर अनुसन्धान गरिने अभियोग पत्रमा उल्लेख छ। बरामद भएको सुनको मूल्य आठ करोड ९१ लाख ६८ हजार रुपैयाँ कायम भएको छ। रासस
Shares

प्रतिक्रिया