चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा एक बालकको मृत्यु भएको छ।
शिवनाथ गाउँपालिका–२ टाणीखर्कका रामसिंह मडैका ७ वर्षीय छोरा सुदीपको चितुवाको आक्रमणबाट ज्यान गएको हो।
शुक्रबार साँझ घरको आँगनमा खेलिरहेका बेला एक्कासि चितुवाले बालकलाई आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।
चितुवाले बोकेर बेपत्ता बनाइएका बालकको शव राति १० बजेतिर घरभन्दा ५०० मिटर टाढा दक्षिणतिरको जङ्गलमा फेला परेको चन्दले बताए।
बालकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लैजाने तयारी छ।
चितुवाको आक्रमणबाट बालकको ज्यान गएपछि त्यस क्षेत्रका वासिन्दा त्रसित बनेका स्थानीय वीरेन्द्र महताले बताए।
स्थानीयवासी त्रसित बनेपछि थप सुरक्षार्की परिचालन गर्ने तयारी भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।
बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणबाट ०६८ यता २४ जनाको ज्यान गइसकेको छ।

प्रतिक्रिया