काठमाडौँ भित्रिने मुख्य नाका नौबिसे-नागढुंगा सडकमा सवारी आवागमन केही सहज भएको छ।
व्यवस्थापकीय कमजोरी सुधार गरेपछि शनिबारदेखि सवारी आवागमन केही सहज भएको ट्राफिक प्रहरीले जनाएको छ।
दसैँको मुखमा गरिएको निर्माण कार्यले यो सडकमा लामो सवारी जामका कारण केही दिनदेखि यात्रुले सास्ती पाउँदै आएका छन्।
जाममा फसेका यात्रुलको ज्यानै जान थालेपछि सरकारले समाधानको प्रयास थालेको छ। गृहमन्त्री रामवहादुर थापा ‘बादल’ ले दुई दिनअघि सबै पक्षलाई बोलाएर तत्काल समस्या समाधानका लागि निर्देशनसमेत दिएका थिए।
गृहमन्त्रीको निर्देशनपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल नेतृत्वको टोलीले शनिवार नौबिसे–नागढुंगा सडकको स्थलगत निरीक्षण गरेको छ।
नागरिकबाट चर्को आलोचना भएपछि सरकारले यातायात आवागमन सहज बनाउन सरकारले विभिन्न रणनीतिसमेत अपनाउन थालेको हो।
सडकमा जाम हुन नदिन तत्कालका लागि सडकमा भैपरी आउनसक्ने समस्याका लागि क्रेन र डोजर जस्ता उपकरण तयारी अबस्थामा राखिएका छन्।
आजदेखि १२ चक्के सवारीलाई निश्चित समयमा मात्र प्रवेश गर्न पाउनेगरी व्यवस्थापन गरिएको छ। १२ चक्के सवारीलाई सवारी चाप हेरेर रातको ९ बजेपछि मात्र प्रवेश अनुमति दिइने ट्राफिक प्रहरीले जनाएको छ।
सडकमा ओभरटेकको समस्या देखिएकाले प्रत्येक सय मिटरमा प्रहरी परिचालन गरी सवारी अनुशासनलाई कडाई गरिएको र प्रहरीलाई समन्वयात्मक भूमिकाको जिम्मेवारी दिइएको छ।
सडक विभागले सडकको अवस्था सुधार गर्दै खाल्डाखुल्डी पुर्ने लगायतका काम पनि गरिरहेको प्रमुख जिल्ला अधिकारी दाहालले बताए।
दसैँको बेला काठमाडौँ उपत्यकाबाट यही सडक हुँदै अधिकांश यात्रु बाहिरिने गरेका छन्।
Shares

प्रतिक्रिया