समाज


युरोप-अमेरिका हिँडेका भारतीयलाई दुबईबाट दलालले यसरी ल्याएका थिए काठमाडौँ

३८ वर्षदेखि नेपालमै थिए गिरोहको नाइके
युरोप-अमेरिका हिँडेका भारतीयलाई दुबईबाट दलालले यसरी ल्याएका थिए काठमाडौँ

उजिर कार्की
फागुन ४, २०८० शुक्रबार १८:४२, काठमाडौँ

दलालले युरोप र अमेरिकामा रोजगारीका लागि पठाउने भन्दै ११ जना भारतीय नागरिकलाई काठमाडौँमा बन्धक बनाएको खुलेको छ। उनीहरुलाई दलालले पुस र माघमा छुट्टाछुट्टै काठमाडौँ ल्याएका थिए। 

यीमध्ये ६ जनालाई दिल्लीबाट दुबई पुर्‍याएर त्यहाँबाट काठमाडौँ ल्याइएको नेपाल  प्रहरीको अनुसन्धानबाट खुलेको छ। काठमाडौँको गौशालास्थित एक घरबाट ११ जना पीडितलाई उद्धार गर्दै प्रहरीले गिरोहका ८ जनालाई पक्राउ पनि गरेको छ। 

गत माघ २८ गते राजपुरा पञ्जाबका ३३ वर्षीय गुरप्रित सिंहलाई एयर अरेबियाबाट दुबई हुँदै दलालले काठमाडौँ ल्याएका थिए। उनले अमेरिका जाने लोभमा तीन हजार अमेरिकी डलर नेपाली एजेन्टलाई दिएको बताएका छन्।

राजपुरा, पञ्जाबकै २३ वर्षीय राकेश कुमार, २३ वर्षीय कुलदीप सिंह र हरियाणाका आशिष कुमारले पनि युरोप र अमेरिकाको सपनामा माघ २८ गते नै देश छाडे। एयर अरेबियामा उनी दिल्लीबाट दुबई पुगे। दलालले दुबईबाट अमेरिका लैजानु पर्ने थियो, ल्याइपुर्‍याए छिमेकी देश नेपाल। र, काठमाडौँको एउटा घरमा बन्धक बनाए। 

उनले भारतमा एक रुपैयाँ तिरेनन्, तर नेपालमा उनीहरुले ३ हजार डलरका दरले दलाललाई बुझाए।

माघ २५ गते भुपेन्द्र सिंह पनि हिमालय एयरलाइन्सबाट दुबई हुँदै काठमाडौँ आइपुगेका थिए। उनले पनि अमेरिका जाने सपनामा ४५ लाख भारतीय रुपैयाँ भारतमै दलाललाई बुझाए। ३३ सय अमेरिकी डलर र १२ हजार भारतीय रुपैयाँ नेपालमा एजेन्टले खाइदिए। 

हरियाणाका २३ वर्षीय प्रतीक पनि उसैगरी दलालको फन्दामा परे। माघ २५ गते नै उनी पनि दुबई हुँदै काठमाडौँ आइपुगेका थिए। उनले पनि भारतीय दलाललाई ४५ लाख भारतीय रुपैयाँ र नेपालमा दलाललाई ३३ सय अमेरिकी डलर नेपाली एजेन्टलाई तिरे।

अरु ५ जनालाई त अमेरिका र युरोप लैजाने भन्दै दिल्लीबाट सीधै काठमाडौँ ल्याएर बन्धक बनाएको खुलेको छ। 

माघ १९ गते एयर इन्डियाबाट गुरप्रित सिंह, माघ ११ गते गुरुयुन्दर सिंह र विस्तारा एयरलाइन्सबाट सुवास कुँवर माघ २३ गते काठमाडौँ आएका थिए। उनीहरुसँग पनि दलालले २५ लाख भारु र नेपाल आएपछि अमेरिकी डलर ३ हजारका दरले उठाए। 

माघ १९ गते काठमाडौँ आएका मानवीर सिंह र २४ गते आएका जगदीप सिंहले पनि अमेरिका र युरोप जाने भन्दै दलाललाई भारतमा २५ लाख र नेपालमा ३ हजार डलरका दरले बुझाए। तर उनीहरुलाई गौशालाको एउटा घरमा ल्याएर बन्धक बनाइयो। 

यसरी परे भारतीय एजेन्ट नेपाल प्रहरीको फन्दामा
भारतीय नागरिकलाई युरोप, अमेरिका, अस्ट्रेलिया र क्यानडा पठाउने भन्दै काठमाडौँमा बन्धक बनाएर राखेको सूचना प्रहरीसम्म पुग्यो।

सूचना पाउनासाथ जिल्ला प्रहरी परिसर काठमाडौँले सूक्ष्म अनुसन्धान सुरु गर्‍यो। अनुसन्धानका क्रममा गौशालास्थित एक घरमा केही भारतीयले घर भाडामा लिई भारतीय नागरिकहरुलाई राखिरहेको तथ्य पत्ता लाग्यो। 

११ जना भारतीय नागरिकलाई बन्धक बनाइरहेको पत्ता लागेपछि जिल्ला प्रहरी परिसर काठमाडौँ र वृत्त गौशालाको संयुक्त टोलीले रेस्क्यु अप्रेसन चलायो।

उक्त घरमा प्रहरीले खानतलासी गरी बन्धक बनाएका ११ जना भारतीय नागरिकहरुलाई उद्धार गरेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले बताए। 

यस्तै प्रहरीले उनीहरुलाई नेपाल ल्याएर बन्धक बनाउने ८ जनालाई पनि पक्राउ गरेको छ।

काठमाडौँ आएपछि कागजपत्र र रकम दलालको नियन्त्रणमा
यसरी ठगी गर्ने दलालले दुबई र दिल्लीबाट काठमाडौँ ल्याएका पीडितलाई काठमाडौँको एक घरमा जम्मा गर्ने गरेका थिए। काठमाडौँ आएपछि कसैलाई विमानस्थलसम्म लिन आफैँ जाने र कसैलाई होटल बुक गरेर पठाइदिने गरेका थिए। 

केही दिन होटलमा राखेपछि काठमाडौँको रातोपुलस्थित धोबीखोला करिडोरको एक घरमा पुर्‍याएर उनीहरुका कागजात, मोबाइल फोन लगायतका सम्पूर्ण सामग्री खोस्थे।

उनीहरुसँग भएको अमेरिकी डलर लगायत सम्पूर्ण रकम पनि दलालले नै लैजाने गरेको पीडितले प्रहरीलाई बताएका छन्। उनीहरुलाई दिल्लीबाट हिँड्ने बेलामै ३ हजारका दरले अमेरिकी डलर बोक्न भनिएको थियो। 

दलालको दबाबमा आफन्तलाई सन्देश : अमेरिका जाँदैछौँ
दलालले उनीहरुलाई बन्धक बनाएर आफन्तलाई समेत अमेरिका जाँदै गरेको भन्न लगाउने गरेका थिए। काठमाडौँ प्रहरी परिसरका अनुसार पीडितलाई दबाब दिएर आफ्नै परिवारलाई समेत झुटो सन्देश दिन लगाउने गरेको खुलेको छ। 

दलालले अमेरिका जाने रुटमा पर्ने विभिन्न देशको आवागमन र प्रस्थानको नक्कली छाप समेत लगाएका कागजात आफन्तलाई पठाइदिने गरेका थिए। एयरलाइन्सका बोर्डिङ पास, टिकट पनि नक्कली बनाएर भारतमा रहेका आफन्तलाई पठाउने गरेको अनुसन्धानबाट खुलेको छ। उनीहरुलाई परिवारसँग सामाजिक सञ्जालबाट सम्पर्क गर्न लगाइएको प्रहरीले जनाएको छ। 

उनीहरुलाई बन्धक बनाइएको काठमाडौँको घरमा पेन्टिङ लगायतको सेटिङ पनि मेक्सिकोको जस्तै बनाइएको थियो। अमेरिका पुग्ने अन्तिम विन्दु भनिएको मेक्सिकोकै भाषा, समय र संगीत देखिने, सुनिनेगरी आफन्तलाई सामाजिक सञ्जालमार्फत सन्देश पठाउन लगाइन्थ्यो। दलालको दबाबमा पीडितले नै परिवारलाई समेत यसरी झुटा सन्देश/भिडिओहरु पठाउन लगाएका थिए।

भिडिओ कलमार्फत भारतमा रहेका आफन्तलाई अमेरिका जाने अन्तिम विन्दुमा पुग्न लागेको भन्दै भारतमा रहेका एजेन्टको खातामा ४० लाख भारतीय रुपैयाँ जम्मा गरिदिन लगाएका थिए। यसरी दबाब दिएर रकम असुल्न उनीहरुलाई बन्धक बनाइएको स्थानबाट प्रहरीले उद्धार गरेको हो। 

३८ वर्षपहिले नेपाल आएका यादव गिरोहका नाइके
यसरी आफ्नै देशका नागरिकलाई बन्धक बनाउने भारतीय गिरोहका नाइके भने ३८ वर्ष पहिलेदेखि नेपालमै रहेको खुलेको छ। २०४२ सालमा नेपाल आएर कपडा गार्मेन्टमा काम सुरु गरेका ५८ वर्षीय इन्दुसिंह यादव एजेन्टहरुको प्रमुख रहेको प्रहरीले जनाएको छ। 

उनी ललितपुरको बुङमतीमा बस्दै आएका थिए। 

यस्तै २०४६ सालमा नेपाल आएर घडी पसलमा काम गरेका निपुण गुप्ता पनि पक्राउ परेका छन्। भारतीय नागरिकलाई बन्धक बनाउने घर उनको नाममा भाडामा लिइएको थियो। भारतको जनकपुरी पञ्जाबका ५१ वर्षीय गुप्ता काठमाडौँ नरदेवीमा बस्दै आएका छन्। 

अरु ६ जना भारतीय एजेन्ट पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतीय नागरिकहरु ५४ वर्षीय अब्दुल रहिम, ४२ वर्षीय चरणजित सिंह, अशोक कुमार, ४७ वर्षीय मनीषकुमार मलहोत्रा, ३० वर्षीय रवि मेवाडे र ४८ वर्षीय रामचन्द्र शर्मा छन्। 

उनीहरूको साथबाट पीडितहरूका पासपोर्ट, विभिन्न देशका मुद्रा, विभिन्न एयरलाइन्सका नक्कली बोर्डिङ पास, ल्यापटपहरू, नक्कली रबर स्ट्याम्पहरू, कैँची, पेपर कटरलगायत सामग्री पनि प्रहरीले बरामद गरेको छ। 

घटनाको सम्बन्धमा जिल्ला अदालत काठमाडौँबाट म्याद लिएर अनुसन्धान अगाडि बढाएको एसएसपी खत्रीले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .