पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको चोरमारामा गिरुवारी खोलाको पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक बाटो हुँदै सञ्चालनमा आएका छन्।
गए राति पुल भाँचिएपछि नारायणगढ–बुटवल सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। पुल भाँचिएपछि रोकिएका सवारी अहिले वैकल्पिक बाटो हुँदै पठाउने कार्य गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।
पश्चिमबाट पूर्वका लागि छुटेका सवारी चोरमारास्थित फूलबारीबाट दक्षिणतर्फ लागी रानीटार, तम्सरिया गाउँ हुँदै चोरमारास्थित राजमार्गमा निस्कने गरेका छन्।
ठूला लरीहरू भने मोड नपुग्ने कारण उक्त बाटोबाट सञ्चालनमा रोक लगाइएको छ। भाँचिएको पुलबाट समेत पूर्ण रूपमा सवारी आवतजावत गर्न रोक लगाइएको छ।
पुल तत्काल सञ्चालन हुने सम्भावना नभएको प्रहरी नायब उपरीक्षक नेपालले बताए। गए राति क्लिङकर बोकेको ट्रक पुलबाट पार गर्दै गर्दा पुल भाँचिएको हो। रासस
Shares

प्रतिक्रिया