त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेका लागि न्याय खोज्दै प्राध्यपक र नागरिक समाजका सदस्यहरुले प्रदर्शन गरेका छन्।
मंगलबार बिहान काठमाडौं जिल्ला अदालतअगाडि पुगेर उनीहरुले नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका कार्यकर्ताबाट मरनासन्न हुने गरी कुटाई खाएका चलाउनेको पक्षमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरुले विश्वविद्यालयलाई राजनीतिक थलो बनाउन पाइँदैन, विश्वविद्यालयमा प्राज्ञिक मर्यादा कायम गर र अपराधको राजनीतिकरण गर्न पाइँदैन जस्ता प्लेकार्ड र ब्यानर बोकेका थिए।
प्रहरीले सोमबार काठमाडौं जिल्ला अदालत परिसरभित्रैबाट चलाउनेलाई घिसार्दै पक्राउ गरेको थियो। अदालत परिसरमै अनसन बस्न तयार भएपछि उनलाई प्रहरीले लछारपछार गर्दै समातेर लगेको थियो।
चलाउनेले न्याय खोज्दा उल्टै पक्राउ गरेपछि नागरिक समाजका सदस्य र अन्य प्राध्यापकहरू आन्दोलित भएका हुन्।
चलाउनेलाई २०७७ असोज २० गते सत्तारुढ नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका कार्यकर्ताहरूले आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए।
त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेलाई गम्भीर घाइते हुनेगरी कुटपिट गरेको थियो।
त्यसपछि आचार्यसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा चलिरहेको थियो। मुद्दाको अन्तिम सुनुवाइका लागि मंगलबार पेशी तोकिएको थियो।
तर त्यसअघि नै सरकारले नेविसंघका कार्यकर्ताविरुद्धको उक्त मुद्दा फिर्ता लिने निर्णय गरिसकेको छ।
Shares
प्रतिक्रिया