खेल


संगिना : जसले ओलम्पिकमा छनोट भएर इतिहास रचिन्

संगिना : जसले ओलम्पिकमा छनोट भएर इतिहास रचिन्

लक्ष्मी जि.सी
साउन ७, २०७८ बिहिबार ७:२२,

विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिक हरेक चार वर्षमा हुन्छ। 

तर कोरोना महामारीका कारण यसपालि भने १ वर्ष ढिला हुँदै छ। यद्यपि शुक्रबारबाट सुरु हुने ओलम्पिकको नाम टोकियो ओलम्पिक २०२० नै छ।

सन् १९६४ देखि नेपालले ओलम्पिकमा भाग लिन थालेको थियो। नेपालका सन्दर्भमा ओलम्पिकको खास चर्चा भने २००४ को एथेन्स ओलम्पिकपछि हुने गरेको छ। 

त्यसको एक मात्र कारण नेपालको इतिहासमा पहिलोपटक कुनै पनि खेलाडीले छनोट चरण पार गरेर ओलम्पिक खेल्नु। त्यो इतिहास रच्ने तेक्वान्दो खेलाडी हुन् संगिना वैद्य। 

आफ्नो पुस्ताकी सबैभन्दा सफल तेक्वान्दो स्टार हुन् संगिना। त्यसअघि  छनोट चरण पार गरेर ओलम्पिक खेल्न सकिन्छ भन्ने कसैले सोचेका थिएनन्। 

त्यसको ४ वर्षपछि छनोट चरण पार गरेरै तेक्वान्दोका अर्का स्टार दीपक विष्टले बेइजिङ ओलम्पिक खेलेका थिए। 

ओलम्पिक सहभागिताको ५ दशक लामो इतिहासमा छनोट भएरै ओलम्पिक खेल्ने नेपाली खेलाडी यी दुई मात्र हुन्। त्यसैले वैद्य र विष्ट खेल क्षेत्रका लागि विशेष हुन्। 

किनभने छनोट चरण पार गरेरै अर्को नेपाली खेलाडीले कहिले ओलम्पिक खेल्न पाउने हुन्, त्यसको हिसाब छैन। अहिलेसम्म ओलम्पिक खेल्नका लागि नेपालजस्तो देशले युनिभर्सालिटी प्लेस र वाइल्ड कार्डकै भर पर्नुपर्ने बाध्यात्मक अवस्था छ। 

टोक्यो ओलम्पिकमा पनि ५ नेपालीले प्रतिस्पर्धा गर्दै छन्। जसमा ३ जनाले युनिभर्सालिटी र २ ले वाइल्ड कार्डका आधारमा खेल्न लागेका हुन्।

दक्षिण एसियाली खेलकुद (साग) को दुई पटकको स्वर्ण पदक विजेता संगिना, तेक्वान्दोको एसियन च्याम्पियनसिप जित्ने एक्लो नेपाली हुन्। ओलम्पिकमा त छनोट हुने खेलाडीका रुपमा इतिहास नै रचिन्।

स्वदेशमा १९९९ मा भएको आठौँ सागमा स्वर्ण जित्नुअघि नै उनी एसियन च्याम्पियन भइसकेकी थिइन्। १९९६ मा अष्ट्रेलियाको मेलवर्नमा भएको एसियन च्याम्पियनसिपमा स्वर्ण जितेपछि उनी चर्चामा आएकी थिइन्।

तर, एउटा दुर्घटनाले उनको खेल जीवन झन्डै अन्त्य हुने अवस्थामा पुगेको थियो। सन् १९९८ मा बैंकक एसियाडअघिको दुर्घटनामा पर्दा उनको सपना अधूरो रहने डर उनमा थियो।
 
एसियाडमा उनले पदक जित्ने धेरैले आशा गरेका थिए। तर, दुर्भाग्य दुर्घटनाले पदक त के उनलाई सहभागी हुन समेत दिएन। एसियाडको बन्द प्रशिक्षणमा बस्ने तयारीकै क्रममा उनी दुर्घटनामा परेकी थिइन्।

‘त्यो बेलामा क्लोज क्याम्प सुरु भएको थियो। एक दिनअघि साथीहरु होटलमा बसिसकेका थिए। म एक दिनपछि बस्ने तयारीमा थिएँ। त्यो बेलामा प्रशिक्षण सकेर म घरमा लगेज लिनका लागि निस्किएको थिएँ’, त्यो दिन स्मरण गर्दै उनले भनिन्, ‘त्यही बेलामा त्रिपुरेश्वरमा ठूलो दुर्घटनामा परेँ। मैले चलाएको मोटरसाइकललाई मिनीबसले ठक्कर दियो। खुट्टा भाँच्चियो। दुर्घटनाले उनको खुट्टा मात्र भाच्चिएको थिएन, सँगै उनको सपना पनि भाँच्चिएको थियो।’

त्यही कारण उनले एसियाड गुमाउनुपर्यो। संगिनाकै समकालीन तेक्वान्दोकै सविता राजभण्डारीले देशका लागि पहिलो रजत पदक जितेर इतिहास रचिन्। 

त्यो भयानक दुर्घटनालाई संगिना कसरी भुल्न सक्लिन् र ? भन्छिन्, भदौ २९ गते म दुर्घटनामा परेको थिएँ। मिल्ने भए म त्यो दिनलाई मेटाउथेँ।

उपचारका क्रममा खुटटमा स्टिल राख्नुपर्यो। उनलाई सामान्य अवस्थामा फर्किन झण्डै ५ महिना लाग्यो। त्यसपछिको जीवनलाई उनी आफ्नो दोस्रो जीवन मान्छिन्।

‘त्यो बेलामा म मोटरसाइकलबाट हाम नफालेको भए अहिले हुन्थिन होला’, उनले विगत सम्झिइन्, ‘मलाई चिन्ने एक जनाले वीर अस्पताल लगेका रहेछन्। पछि बीएण्डबीमा भर्ना गरेर मेरो उपचार भएको थियो।’

दुर्घटनाले उनको खुट्टासँगै मन पनि टुटेको थियो। खेल जीवनमा फर्किन्छु भन्ने आशा पनि उनले मारेकी थिइन्। 

तर, उनको उपचारमा संलग्न डाक्टरहरुले हिम्मत हार्न दिएनन्। तिमी खेलमा फर्किन सक्छौ भनेर मनोबल बढाइरहे। डाक्टरले आफ्ना सबै बिरामीलाई त्यस्तै भन्छन् भन्ने संगिनालाई लाथ्यो। उनलाई फर्किन्छु भन्ने विश्वास नै थिएन।

‘खुट्टामा स्टिल राखिएको थियो। साथीहरु एसियाडको तयारीका लागि बाहिर गए। सम्झिँदा पनि पीडा हुन्छ। एसियन गेम खेल्ने सपना थियो। सबै चकनाचुर भयो’, त्यो समय स्मरण गर्दै संगिना भन्छिन्, ‘आफ्नो खुट्टाको अवस्था। एक्स–रे रिपोर्ट हेर्दै रुन्थेँ। साथीहरु खेल्न गएका छन्, आफू हस्पिटलको बेडमा त्यो समयमा पीडा बयान गरी साध्य छैन।’

दुर्घटनापछि दोस्रो जीवनले उनलाई फेरि एकपटक बालापनको याद दिलायो। हिँड्न सिक्दै गर्दाको बालापन फर्केर आएझैँ लाग्यो संगिनालाई। जसरी हिँड्न सिक्दै गरेको बच्चालाई ताते–ताते गरेर हात समाएर हिँड्न सिकाइन्थ्यो उनको अवस्था त्यस्तै थियो। 

‘अरुको काँधमा हात राखेर पाइला सारिरहेको हुन्थेँ, दौडिन डराउथेँ’, उनले भनिन्, ‘घुडाँभित्रबाट दुई बित्ताको स्टिल राखेको थियो। तीन महिना त टेक्न पनि सकिनँ। खुट्टा सुकिसकेको थियो। विस्तारै हिँड्डुल गर्न सक्ने भएँ। अनि फेरि खेल्छु भन्ने हिम्मत जुटाउँदै गएँ।’

आठौँ साग स्वदेशमा आयोजना हुने भएकोेले पनि उनमा ऊर्जा आयो सायद। सागमा पहिलो पटक तेक्वान्दो र कराते समावेश गर्न लागिएको थियो। तेक्वान्दो समावेश हुने भएपछि भर्खरै तंग्रिँदै गरेकी संगिना उत्साहित भइन्।

दुर्घटनाको झण्डै एक वर्षपछिको सागमा उनले स्वर्ण जितेर फेरि खेलमा फर्केको सन्देश दिइन्। स्टिल राखेकै खुट्टाले उत्रेकी उनले देशका लागि स्वर्णपदक दिलाइन्। त्यही सागमा नेपालले तेक्वान्दो र करातेमा क्लिन स्विप नै गरेको थियो। जसका कारण नेपाल साग इतिहासमा पहिलोपटक पदक तालिकाको भारतपछि दोस्रो स्थानमा रहन सफल भएको थियो।

त्यसपछि हङकङमा भएको एसियन च्याम्पियनसिप पनि पनि उनले प्रतिस्पर्धा गरिन्। कांस्य पदक जितिन््। त्यो कांस्यले उनलाई ओलम्पिक खेल्न सक्छु भन्ने आशा पुनः दिलायो।

ओलम्पिक छनोट
ओलम्पिकका लागि तेक्वान्दोको एसिया तथा ओसियाना क्षेत्रको छनोट प्रतियोगिता थाइल्यान्डको बैंककमा हुँदै थियो। फेब्रुअरी १५ र १६ मा बैंककमा छनोटमा संगिनाले फ्लाइ–वेटमा प्रतिस्पर्धा गरेकी थिइन्। त्यसमा उनले कांस्य पदक जितेर ओलम्पिकका लागि छनोट हुने पहिलो खेलाडीका रुपमा इतिहास रचिन्।

तर, ओलम्पिकमा भने सोचेअनुसारको प्रदर्शन गर्न सकिनन्। पहिलो खेलमा चाइनिज ताइपेईकी खेलाडीसँग पराजित भइन्। संगिनाले रिपिचेजमा अर्को मौका पाइन्। त्यसमा पनि कम्बोडियाकी खेलाडी संगिनाको ओलम्पिक यात्रामा बाधक बनिन्।
***

ओलम्पिकको केही समयपछि नै पाकिस्तानमा भएको नवौँ सागमा उनले पुनः देशका लागि अर्को स्वर्णपदक जितिन्। 

सफल इतिहास बनाइसकेकी संगिनाले सन् २०१० मा श्रीलंकामा भएको दसौँ सागमा भने त्यो सफलतालाई निरन्तरता दिन सकिनन्। ह्याट्रिक गर्ने योजना उनको पूरा हुन सकेन। त्यसपछि भने उनले खेल जीवन अन्त्य गरेर पूर्ण रुपमा प्रशिक्षणमा आबद्ध भइन्। 

स्वदेशमै भएको १३औँ सागमा उनी तेक्वान्दो टोलीकी प्रशिक्षकमध्ये एक दिइन्।
***

नुवाकोट विदुर नगरपालिका त्रिशूलीकी संगिना नजानिँदो तरिकाले खेलकुदमा तानिएकी हुन्। 

स्कुल जीवनमा वीरेन्द्र शिल्डमा पदक जित्न थालेपछि खेलकुदबाट टाढा हुन सकिनन्। 

त्यो बेलामा जिल्लाको ठूलो प्रतियोगिताको रुपमा लिइन्थ्यो। विद्यालयमा सधैँ कि त पहिलो हुनेलाई कि त अन्तिम हुने विद्यार्थीलाई याद गरिन्थ्यो। तर खेलकुदमा राम्रो गर्नेलाई पनि सम्झिन्छन् भन्ने धारणाले संगिनाको मनमा जरा त्यति बेला गाडेको थियो।

स्कुलस्तरको अधिकांश प्रतिस्पर्धामा उनी स्वर्णपदक जित्थिन्। पदकको लोभले पनि उनलाई खेलबाट टाढा जान मन लागेन। वीरेन्द्र शिल्डबाट खेलकुदमा होमिएकी उनी फुटबल, भलिबल, एथ्लेटिक्स खेल्थिन्।

एसएलसी दिएपछि उनी अरु जस्तै काठमाडौं छिरिन्। काठमाडौंमा पढ्ने त बहाना थियो, खास उनको रुचि खेलमै थियो। जिल्लामा हुँदा मार्सलआर्ट पनि सिकेकी उनी पछिमात्रै तेक्वान्दोमा जोडिएकी थिइन्। तेक्वान्दो सिकेको केही महिनामा उनको जितेको सिलसिला सुरु भयो। 

पहिलो प्रतियोगितामै स्वर्णपदक जितेबाट सुरु भएको उनको यात्राले ओलम्पिकसम्म तय गरेको थियो।

देशका आफ्नो समयमा सफल खेलाडी विदेश जाने परम्परा नै बनिसकेको छ। संगिनालाई पनि अमेरिका बस्ने अवसर मिलेको थियो। तर देशले आफूमाथि गरेको लगानी यसै खेर जान दिनुहुन्न भन्ने सोच्दै संगिना स्वदेशमै बसिन्।

तेक्वान्दोकै कारण संगिनाले आफ्नो मात्र होइन देशकै पहिचान बढाइन्। खेल जीवनमा उतारचढावलाई भोगेकी संगिना भन्छिन्, ‘खेलाडी जीवनमा जसरी उचाइ छुँदै गइन्छ नि त्यसरी नै तल पनि झर्नुपर्छ भन्ने खेलाडीले मनन गर्नुपर्छ। यो नियमित प्रक्रिया नै हो। आफ्नो समयमा सक्दो राम्रो गर्न कोशिस गर्ने हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .