खेलकुदको महाकुम्भ गृष्मकालीन ओलम्पिकको ३२औं संस्करण आज शुक्रबारदेखि सुरु हुँदै छ।
टोक्यो ओलम्पिकको आज औपचारिक उद्घाटन हुन लागे पनि खेलहरु भने बुधबारदेखि नै सुरु भइसकेका छन्।
गत वर्ष नै हुनुपर्ने टोक्यो ओलम्पिक कोरोना भाइरसको संक्रमणका कारण १ वर्ष ढिला सुरु हुँदै छ। कोभिड १९ को महामारी जारी रहँदा नै अन्तर्राष्टिय ओलम्पिक कमिटी, जापान ओलम्पिक कमिटी र जापान सरकारले बन्द रंगशालामा नै टोक्यो ओलम्पिक गर्ने निर्णय गरेको हो।
कोरोना भाइरसको संक्रमणका कारण जापानले सामान्य रुपमा उद्घाटन समारोह गर्ने तयारी गरेको छ।
टोक्यो ओलम्पिकमा २०४ भन्दा बढी राष्ट्रका खेलाडी सहभागी हुँदै छन्।
३३ खेलमा ३ सय ३९ पदकका लागि ११ हजार ५ सय खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। जापानको ४६ स्थानमा हुने ओलम्पिकमा ५१ प्रतिशत पुरुष र ४९ प्रतिशत महिला सहभागी हुँदै छन्।
ओलम्पिकको उद्घाटनमा हुने मार्चपासमा नेपालको झण्डा पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाहले बोक्नेछन्।
नेपालबाट चार खेलमा ५ खेलाडीले टोक्यो ओलम्पिकमा सहभागिता जनाउँदै छ। नेपालबाट पौडीबाट गौरिका सिंह र एलेक्स शाह, जुडोकी सोनिया भट्ट, सुटिङकी कल्पना परियार र एथलेटिक्सबाट सरस्वती चौधरीले प्रतिस्पर्धा गर्नेछन्।
Shares
प्रतिक्रिया