ad ad

खेल


यसरी बन्यो काठमाडौंका डाँडामा १०० माइलको मञ्जुश्री ट्रेल रेस, पायो सर्वाधिक अंक

यसरी बन्यो काठमाडौंका डाँडामा १०० माइलको मञ्जुश्री ट्रेल रेस, पायो सर्वाधिक अंक

यज्ञराज जोशी
कात्तिक २०, २०७८ शनिबार ७:४३, काठमाडौँ

रसिला तामाङले अल्ट्रा रनिङ सुरु गरेकी थिइन्। उनलाई सहयोग गर्न गैरसरकारी संस्थामा कार्यरत आशिष मिश्र पनि यसैमा होमिए।

पाँच वर्षअघि ट्रेल रेसका नेपालमा एक्स्प्लोररहरु थिएनन्। विदेशीहरुले नै रुट पत्ता लगाउँथे, ट्रेल रेस गराउँथे। सोही क्रममा नेपालमा अल्ट्रा रेसमा पहिलेदेखि नै काम गरिरहेका युरोपेली नागरिकहरु रिचर्ड बुल, लिजी वर्कर, जिमी वर्स्टमसँगै नेपालीहरु महेश दाहाल, महेश थापासँग आशिषको भेट भयो।

लिजीले युरोपका प्रतिष्ठित अल्ट्रा रेसहरुमा भाग लिइसकेका थिए। उनी एक्लै उपत्यका वरिपरि दौडिन्थे। 

छलफलपछि उनीहरु काठमाडौं उपत्यकामा राम्रो ट्रेल दौड गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगे। त्यही भेटबाट खोजी भएको हो, १०० माइलको मञ्जुश्री ट्रेल रेस। जसलाई अन्तर्राष्ट्रिय ट्रेल रेस महासंघले ६ अंक दिएको छ। जुन नेपालमा हुने रेसले पाएको सर्वाधिक अंक हो। 

मनमोहक दृश्यावलोकन, उपत्यकाको ग्रामिण जीवनको अनुभव लिन पाइने यो रेसले अहिले स्वदेशी र विदेशी सहासिक खेल पर्यटकका लागि प्रमुख गन्तव्य बन्ने सम्भावना देखाएको छ। 

‘विदेशीहरु आएर नेपालको ट्रेल एक्स्प्लोर गरिरहेका थिए। रेसहरु गराइरहेका थिए,’ आशिष सम्झिन्छन्, ‘आफैँले चाहिँ किन नगर्ने त भन्ने मेरो मनमा आयो। हामीले नै गर्नुपर्छ यहाँ भनेर ट्रेल एक्स्प्लोर गर्न मैले सुरु गरेको हुँ।’

अल्ट्रा रेस सडक नछोई गोरेटो बाटोमा हुने दौड हो। कुन गोरेटो जाँदा राम्रो दृश्यावलोकन गर्न सकिन्छ? गाउँको जनजीवन देखिने बाटोहरुलाई कसरी जोड्ने? कसरी धावक रमाइलो मान्दै अघि बढ्छ? त्यो रुट सुरक्षित कसरी बनाउने? यस्ता कुरा विचार गरेर दौडका लागि रुट तयार पार्ने जिम्मेवारी आशिषको हो।

मञ्जुश्री काठमाडौँको ऐतिहासिकतासँग जोडिएको नाम हो। पहिले काठमाडौं उपत्यकामा रहेको पानीलाई मञ्जुश्रीले बगाएर बस्न योग्य बनाएको विश्वास गरिन्छ। 

‘मन्जुश्रीले काठमाडौंको पानी बगाउँदा उनी हिँडेको भाग ट्रेलले छुने भएकाले यसको नाम मन्जुश्री ट्रेल राखिएको हो। ऐतिहासिकतालाई जीवन्त राख्नलाई यो नाम दिइएको हो,’ आशिष भन्छन्, ‘सोहीकारण यो रेसमात्रै होइन, ऐतिहासिक कुरा हेर्ने, चिन्ने बुझ्ने मौका पनि हो।’

नागढुंगाबाट मञ्जुश्री ट्रेलको रुट सुरु हुन्छ। त्यहाँबाट कालुपाण्डे मार्ग हुँदै अघि बढेका धावकहरु रामकोट, जामाचोक, तीनपिपले, गोजे भन्ज्याङ, शिवपुरी पिक, चिसापानी, जर्सिङ पौवा, नगरकोट, नालागुम्बा, साँगा, रानीकोट, लाकुरी भन्ज्याङ, फुल्चोकी, लेले, बागमती खोला, फर्पिङ, हात्तीवन, चन्द्रागिरि, चित्लाङ हुँदै पुनः नागढुंगामा पुगेर रेसको समाप्ति गर्छन्।​

 

यो ट्रेल एक्स्प्लोर गर्न आशिषको टोलीलाई दुई वर्ष लाग्यो। २०१८ मा सुरु भएको उनीहरुको योजना २०२० मा आएर पुरा भएको थियो। सो क्रममा धेरै चोटि उनीहरुले यी स्थानको यात्रा गरे, गोरेटोहरु जोडे, गाउँमा पुग्ने रुट खोजे, दृश्यालोकन गर्ने स्थानहरुको पहिचान गरे। ठाउँ ठाउँमा संकेत राखे। 

‘एकचोटि फाइनल गरिसकेको स्थानमा अर्को चोटि पुग्दा डोजर चलिसकेको हुन्छ। फेरि नयाँ ठाउँ खोज्नुपथ्र्यो,’ आशिष सम्झिन्छन्, ‘२ वर्ष रिसर्च गरेपछि हामीले नछुने स्थानबाट ८० प्रतिशत रुट बनाउन सफल भएका थियौँ।’ 

२०२० को मध्यमा उनीहरु सबै काम टुंग्याएर पहिलो रेस गराउन अघि बढेका थिए। सुरुमा साथीभाइले नै पैसा उठाएर रेस आयोजना गरे।

अन्तर्राष्ट्रिय ट्रेल रन महासंघमा आबद्ध गराउन कम्तीमा ३ जनाले रेस पुरा गर्नुपर्छ। पहिलो संस्करणमा ७ जना सहभागी भए। ३ जनाले पुरा गर्न सक्छन् कि सक्दैनन् भन्ने चिन्ता थियो, ५ जनाले रेस पुरा गरे। जसले उनीहरुलाई हर्षित बनायो। उक्त विवरण महासंघमा बुझाएपछि अहिले महासंघले यो ट्रेल रेसलाई ६ अंक दिएको छ। जसले मञ्जुश्री ट्रेललाई नेपालमा भइरहेका रेसमा सर्वाधिक अंक पाएको रेस बनाएको छ। 

‘६ अंक प्राप्त ट्रेल दौडेको प्रमाणपत्रले खेलाडीहरुलाई ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन सजिलो पार्छ,’ आशिष भन्छन्। 

पहिलो संस्करणका विजेता जीवन लामाले यो रेस ३३ घण्टा १४ मिनेटमा पुरा गरेका थिए। चार मिनेट पछि परेका भूमिराज राई दोस्रो भएका थिए। यस्तै अनिता राई, नाथन पार्क र सुवास थापाले दौड पुरा गरेका थिए। 

मनोरम दृश्यावलोकन
पहिलो संस्करणका विजेता जीवन लामा आफूसँग मञ्जुश्री ट्रेलको अविष्मरणीय अनुभव रहेको बताउँछन्।

‘हिमालय रेन्ज, काठमाडौं उपत्यका, जंगल, पहाड, गोरेटोका दृश्यअवलोकन गर्दै अघि बढ्दा म एकदमै एक्साइटेड भएको थिएँ,’ जीवन भन्छन्, ‘यो ट्रेलमात्रै होइन। सहरमा बसेकालाई प्रकृतिसँग रमाउने, गाउँले जनजीवन बुझ्ने लाइफटाइम एक्सपेरियन्स पनि हो।’

नागढुंगाबाट उकालो चढ्दै कालु पाण्डे मार्ग पुगेपछि मनास्लु, गणेश र लाङटाङ हिमाल शृंखलाहरु देख्दा मनै प्रफुल्लित हुने अनुभव जीवनले सुनाए। सोहीस्थानबाट तलतर्फ हेर्दा काठमाडौं उपत्यकाको मनोरम दृश्य देखिन्छ। 

‘वाइड गुम्बा, द्यामाचोक हुँदै नागार्जुन–शिवपुरीको घना जंगलमा दौड्दाको आनन्दले प्रकृतिको काखमा पुगेजस्तो अनुभव गराउँछ,’ जीवनले भने, ‘सहासिक पर्यापर्यटनका लागि उपत्यकामा यो उत्कृष्ट विकल्प बन्न सफल भएको छ।’

दौड सुरु गरेपछि गाह्रो भयो भने १० किलोमिटरको फरकमा बनाइएका चेक प्वाइन्टमा धावकले आराम गर्न पाउँछन्। चेक प्वाइन्टमा प्राथमिक उपचार, पानी, खानाको व्यवस्था गरिएको हुन्छ। ठाउँठाउँमा एम्बुलेन्स तम्तयार हुन्छ। दौडलाई सुरक्षित बनाउनु आफूहरुको पहिलो प्राथमिकता रहेको आशिष बताउँछन्। 

यो रुटमा दिउँसो दौडेर काठमाडौंका हरेक अग्ला ठाउँबाट हिमालको दृश्यावलोकन​ गर्न सकिन्छ। राति काठमाडौंको झिलिमिली देख्दा बेग्लै आनन्द आउँछ। त्यसबाहेक ट्रेलमा गाउँघरको जीवनशैली, संस्कृति, जनावर, चराचुरुङ्गी, पर्यटकीय गन्तव्यका रुपमा चिनिने शिवपुरी पिक, फुल्चोकी, नगरकोट, चन्द्रागिरिलगायत स्थानहरु हेर्दै अघि बढ्न सकिन्छ। 

‘काठमाडौंनजिकै विदा सदुपयोग गर्ने यो ट्रेल एकदमै उत्कृष्ट विकल्प बनेको छ,’ आशिष भन्छन्, ‘विस्तारै हिँडेर पनि काठमाडौँ भ्यालीका सबै मनोरम दृश्यावलोकन गर्दै प्रकृतिसँग रमाउन सकिन्छ।’

तयारी के, खर्च कति?
प्रत्येक वर्ष ट्रेलमान्डुले मञ्जुश्री ट्रेल रेसका लागि अनलाइन आवेदन खोल्छ। त्यसमा इच्छुकहरुले आवेदन दिन सक्छन्। 

सुरुमा धावक शारीरिक र मानसिक रुपमा तयार हुनुपर्छ। हरेक दिन दौडेर उनीहरुले आफ्नो क्षमता कति छ भन्ने बुझेर मात्र रेसमा सहभागी भए उत्तम हुने आशिष बताउँछन्।

धावकले दौडिँदा चाहिने सामग्रीसहितको एउटा ब्याग अनिवार्य बोक्नुपर्छ। जसमा पानी, खानेकुरा लगायत अत्यावश्यक सामग्रीहरु हुन्छन। त्यसबाहेक राति कुद्नुपर्ने भएकाले कम्तीमा एउटा ब्याट्रीले १२ घण्टा धान्ने ‘हेडल्याम्प’ र राम्रो रनिङ सुजको व्यवस्थापन गर्नुपर्छ। 

दर्ता शुल्क र अन्य व्यक्तिगत खर्च समेत गरेर ६० हजारसम्म लाग्ने आशिष बताउँछन्। ४५ घण्टाभित्र सय माइल पुरा गर्नुपर्ने ट्रेलमान्डुले नियम बनाएको छ। उक्त समयभित्र रेस पुरा गरेन भने धावकहरु जहाँ छन्, त्यहीँबाट बाहिरिन्छन्। 

लोभिँदै धावक
ट्रेलको अर्को संस्करण आगामी अप्रिलमा हुँदैछ। यो वर्ष आयोजकले सय माइल पुरा गर्न नसक्नेहरुका लागि पनि क्याटागोरी थपेका छन्। अब १००, ७५, ५० र २१ किलोमिटरका दौडहरु पनि सोही रुटमा विभिन्न स्थानबाट सुरु गर्न सकिने आशिषले बताए। 

‘सोहीकारण व्यवसायिक धावक नभएर जो कोही इच्छुक पनि दौडिन सक्छन्,’ आशिष भन्छन्, ‘राम्रोसँग हिँड्ने हो भने ४५ घण्टामा जसले पनि सय माइल पुरा गर्नसक्छन्।’

पहिलो संस्करणमा ७ जना धावक भए पनि यस संस्करणमा सबै क्याटागोरी गरी दुई सय जना धावक पुग्ने अनुमान आयोजकको छ। सय माइलमा न्यूनतम २५ जना पुग्ने लक्ष्य राखिएको छ।

अहिले रेसका लागि हङकङ, फ्रान्स, भारतबाट नियमित सोधपुछ भइरहेको उनले बताए। 

सरकारी लगानी आवश्यक
सरकारले ट्रेललाई व्यवस्थित बनाउन सरकारी लगानी आवश्यक रहेको आशिष बताउँछन्। पहिलो संस्करण आयोजना गर्नुअघि उनीहरुको ८–१० लाख खर्च भएको थियो। 

‘स्थायी मार्किङ गर्ने, राम्रा बोर्ड राखिदिने, म्यापलाई ठाउँठाउँमा राखिदिने काम सरकारले गरिदिए हिँड्नेहरुलाई सजिलो हुन्थ्यो,’ आशिष भन्छन्, ‘हामीसँग ट्रयाकिङ गरेको जीपीएस छ। त्यसमा क्यूआर कोड बनाएर ठाउँठाउँमा राखिदिए त्यहाँबाट घुम्न जानेले मोबाइलमै स्क्यानिङ गरेर हरेक सूचना पाउन सक्थे। हराउने चान्स एकदमै घट्थ्यो। निर्धक्क घुम्न सकिन्थ्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .