नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काका नजरमा राष्ट्रिय टोलीमा डेब्यू गरेपछि सबैभन्दा छिटो प्रगति गर्ने क्रिकेटर हुन्, दीपेन्द्रसिंह ऐरी। पारसबाट नै दुई वर्षअघि ‘डेब्यू क्याप’ ग्रहण गरेका यी युवा अलराउन्डरले त्यसयता हासिल गरेको उचाइ क्रिकेटमा भविष्य खोज्ने जो कोहीका लागि पनि अनुकरणीय छ।
थोरैले मात्रै १९ वर्षमै राष्ट्रिय टोलीको उपकप्तानीको जिम्मेवारी पाउँछन्। त्यो सफलता उनले यसै महिना हासिल गरे। पछिल्लो समयमा नेपालले हासिल गरेका महत्वपूर्ण उपलब्धिमा उनको प्रदर्शन निर्णायक बनेको छ। घरेलु प्रतियोगिताका उनी सफल खेलाडी र कप्तान रहिसकेका छन्।
पारसले गत असोज अन्तिममा राष्ट्रिय टिमको कप्तानीबाट राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) यसै हप्ता राष्ट्रिय टोलीका नयाँ कप्तान र उपकप्तान चयन गरेको थियो। कप्तानमा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको क्यानले उपकप्तानीको जिम्मेवारी यिनै नेपाली टोलीको मध्यक्रमका मेरुदण्ड दीपेन्द्रलाई सुम्पियो।

यद्यपी अघिल्लो महिना नेपालले सिंगापुर र ओमान भ्रमण गर्दा नै दीपेन्द्रले उपकप्तानकी जिम्मेवारी निभाएका थिए। त्यसबेलाका उपकप्तान ज्ञानेन्द्र व्यक्तिगत घरायसी कारणले टोलीबाट नाम फिर्ता लिएपछि तत्कालिन कप्तान पारसको सहायकका रुपमा दीपेन्द्रले सिंगापुरमा भएको त्रिदेशीय र ओमान भएको पाँच देशीय शृंखलाका क्रममा काम गरेका थिए।
दीपेन्द्र भने जुनसुकै भूमिकामा रहे पनि टोलीका लागि प्रदर्शन गर्नु आफ्नो पहिलो दायित्व भएको बताउँछन। त्यसैले सामाजिक सञ्जालमा समेत सक्रिय रहने दीपेन्द्रले आफू उपकप्तान चुनिएकोमा कुनै पोस्ट गर्दै खुशी मनाएनन्। बरु कप्तान बनेकोमा ज्ञानेन्द्र मल्ललाई बधाई दिँदै उनको कप्तानीमा नेपालले थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे।
‘उपकप्तानमा चुनिएकोमा खुशी त लागेको छ। जिम्मेवारी थपिएको पनि महशुस भएको छ,’ उनले भने, ‘तर, जुन जिम्मेवारी दिइए पनि टिममा रहेपछि पहिलो दायित्व भनेको प्रदर्शन गर्नु नै हो। म मैदान छिरेपछि टोलीका लागि कति योगदान दिनसक्छु भन्ने कुरा मात्रै सोचेर निस्कन्छु।’
कप्तान र प्रदर्शन
दीपेन्द्र एक हिसाबले नेपाली उमेर समूहको टोली र घरेलु क्रिकेटमा टेस्टेड कप्तान हुन। पछिल्लो दुईवर्षमा उनले उमेर समूहको नेपाली टोली र घरेलु प्रतियोगिताका विभिन्न टोलीमा कप्तानको भुमिकासँगै प्रदर्शनबाट प्रभावित पार्दै आएका छन।

सन्दीप लामिछानेको स्थानमा नेपाली यू–१९ टोलीको कप्तानी सम्हाले लगत्तै दीपेन्द्रले सन् २०१७ को यू–१९ एसिया कपमा नेपाललाई ऐतिहासिक सफलताको स्वाद चखाएका थिए। त्यसबेला भारतलाई हराउँदै नेपालले त्यो सफलता हासिल गरेको थियो। भारतीय टोलीलाई नेपालले हराउन सकेको पहिलो र एकमात्रै प्रतियोगिता हो यो।
त्यसबेला दीपेन्द्रले राहुल द्रविडको प्रशिक्षकत्वमा रहेको भारतीय टोलीविरुद्ध ८८ रन जोड्नुका साथै ४ विकेट लिएपछि नेपालले उपाधिको मुख्य दाबेदार भारतलाई १९ रनले पराजित गर्दै समूह चरणबाटै बाहिर पठाइदिएको थियो। दीपेन्द्र ‘म्यान अफ द म्याच’ चुनिएका थिए।
त्यसलगत्तै भएको एसीसी यू १९ इस्टर्न रिजन प्रतियोगितामाको उपाधि पनि नेपालले दीपेन्द्रकै कप्तानीमा उचाल्यो। दीपेन्द्र प्रतियोगितामा उत्कृष्ट बलर चुनिएका थिए।
घरेलु क्रिकेटमा गतवर्ष (२०७५) फागुनमा ‘अन्डर डग’ मानिएको सीवाईसी अत्तरियालाई दीपेन्द्रले आफ्नै कप्तानीमा देशकै सर्वाधिक ठूलो पुरस्कार राशिको धनगढी प्रिमियर लिगको उपाधि दिलाएका थिए। प्रतियोगितामा उनी सर्वाधिक रन स्कोर गर्ने नेपाली खेलाडी थिए। उनले प्रतियोगिताको मोस्ट भ्यालुएबल खेलाडी चुनिँदै गोल्डेन बुट पनि जिते।
त्यसअघि पोखरामा भएको पोखरा प्रिमियर लिगमा पनि धनगढी ब्लुजको कप्तानी गरेका दीपेन्द्र प्रतियोगितामा सर्वाधिक स्कोर गर्ने शीर्ष पाँच खेलाडीमा एक्लो नेपाली खेलाडी थिए। लगत्तै भएको एभरेस्ट प्रिमियर लिगमा पनि चितवन राइनोजका कप्तानी गरेका दीपेन्द्र सर्वाधिक स्कोर गर्ने शीर्ष ९ खेलाडीमध्ये ८ विदेशी हुँदा एक्लो नेपाली खेलाडी थिए।
यसपटक राष्ट्रिय टिमकै उपकप्तानी जस्तो ठूलो जिम्मेवारी पाए पनि त्यसको दबाबले आफ्नो प्रदर्शन नथिचिने उनको विश्वास छ। उनी भन्छन्, ‘नेतृत्व भन्ने कुरा चुनौतीपूर्ण त हो। खेलेर मात्रै पुग्दैन पूरै टिमलाई अघि लिएर जानुपर्छ। तर, पारस दाइ, ज्ञानु दाइजस्ता सिनियर खेलाडीहरु टोलीमा भएकाले खासै चुनौती होला जस्तो लाग्दैन।’
पारसबाट नेतृत्व शिक्षा
यू–१९ टोलीमा लगातार उत्कृष्ट प्रदर्शनपछि २०७३ फागुनमा कीर्तिपुर मैदानमा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याविरुद्धको खेलमा पारस खड्काले नै दीपेन्द्रलाई डेब्यू क्याप हस्तान्तरण गरेका थिए। अन्तर्राष्ट्रिय प्रचलन अनुसार कुनै पनि खेलाडीको डेब्यूमा खेलअघि टिमका कप्तानले डेब्यू क्याप (राष्ट्रिय टोलीको क्याप) हस्तान्तरण गर्ने गर्छन्।

पारस अस्वस्थताका कारण केन्याविरुद्धका दुवै खेलमा वैकल्पिक खेलाडीका रुपमा बेन्चमा बसेपछि उनी खेल्ने चौथो नम्बरमा नै दीपेन्द्रले मौका पाएका थिए। त्यसयता उक्त स्थानमा दीपेन्द्रले स्थायी रुपमा डेरा जमाउँदा पारस भने विस्थापित हुँदै कहिले ओपनर त कहिले वान डाउनमा खेलिरहेका छन्।
अर्को संयोग के भने पारसको अवस्थतामा ज्ञानेन्द्र मल्लको कप्तानीमा उक्त खेलमा दीपेन्द्रले डेब्यू गरेका थिए। दुई वर्षपछि अहिले तीनै ज्ञानेन्द्र राष्ट्रिय टिमको कप्तान हुँदा दीपेन्द्र उपकप्तान चुनिएका छन्।
ज्ञानेन्द्र र दीपेन्द्रको जुगलबन्दी त्यसबेलै चम्केको थियो। केन्याविरुद्धको पहिलो खेलमा नेपाल पराजित भएपछि प्रतियोगितामा रहिरहन नेपाललाई दोस्रो खेल जित्नैपर्ने थियो। त्यसबेला दीपेन्द्र (६२) र ज्ञानेन्द्र(६४)ले१ सय ११ रनको शतकीय साझेदारी गरेपछि नेपालले खेल जित्दै आगामी सम्भावना जीवित राखेको थियो।
सुरुमा लजालु स्वभावका दीपेन्द्र यू–१९ टोली र घरेलु क्रिकेटमा कप्तानी गरेपछि विस्तारै खुल्न थालेका हुन्। दीपेन्द्रलाई नेतृत्वमा ल्याउने तथा बोल्न बनाउनेमा तत्कालिन कप्तान पारस खड्काको उत्तिकै भूमिका छ।
अघिल्लो वर्ष पारस र दीपेन्द्रसँगै एक संस्थाको कार्यक्रममा पन्ध्र दिन लामो अष्ट्रेलिया भ्रमणमा निस्केका थिए। त्यसबेला लजालु दीपेन्द्रलाई बोल्ने बनाउने वाचा पारसले सार्वजनिक रुपमै गरेका थिए। पारसले नै अघिल्लो महिना टोलीमा अन्य दाबेदार तथा सिनियर खेलाडीहरु हुँदाहुँदै दीपेन्द्रलाई पहिलो पटक राष्ट्रिय टोलको उपकप्तानी सुम्पेका थिए।
‘पारस दाइले सधैँ सबै कुरामा सहयोग गर्नुहुन्छ। उहाँको सुझाबलाई फलो गर्दै मैले आफूलाई तयार पारिरहेको छु,’ दीपेन्द्र भन्छन्, ‘मैदानमा कुन खेलाडी कहाँ लगाउने, के गर्ने भन्ने कुराबारे पारस दाइसँग छलफल भइरहन्छ। उहाँले भनेका कुराहरु फलो गरिरहेको छु।’
ऐतिहासिक उपलब्धिका मुख्य पात्र
२०१८ मार्चमा नेपालले एकदिवसीय विश्वकप छनोटमा पपुवा न्युगिनीलाई पराजित गर्दै ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। प्लेअफमा पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै नेपालले एकदिवसीय स्टाटस प्राप्त गरेको थियो।
नेपाललाई उक्त ऐतिहासिक उपलब्धि दिलाउने मुख्य पात्र दीपेन्द्र नै थिए। दीपेन्द्रले पपुवा न्युगिनीसँग ५० रनको अर्धशतकीय पारी खेल्दै ५ विकेट लिएपछि नेपालको जित सम्भव भएको थियो। उनी म्यान अफ द म्याच चुनिएका थिए।

उक्त विश्वकप छनोटमा नेपालका तर्फबाट सर्वाधिक स्कोरर कप्तान पारस खड्का(२३१ रन) थिए। दोस्रोमा दीपेन्द्र(१४३ रन) रहे। जसमा उनको एक अर्धशतक सामेल थियो। उनले ७ विकेट समेत लिए।
राष्ट्रिय टोलीमा उनका मिल्ने सहकर्मी सन्दीप लामिछानेले विभिन्न विदेशी लिगहरु खेलिरहेका छन्। दीपेन्द्रको पनि विदेशी फ्रेन्चाइजी लिग खेल्ने लक्ष्य छ। तर, सन्दीपले नेपाली खेलाडीहरुको सम्भावना खोलिदिए पनि एसोसियट राष्ट्रका खेलाडीहरुलाई गाह्रो हुने उनले बुझेका छन्।
उनी भन्छन्, ‘सन्दीपले आईपीएलदेखि बिगबास लिगसम्म खेल्दै नेपाली खेलाडीहरुको सम्भावना खेलिदिएका छन् तर एसोसियट नेसनका ब्याट्सम्यानहरुलाई ठूलो चुनौती छ। कडा मेहनत, समर्पण र खेलप्रति फोकस भएर लाग्यो भने त्यो असम्भव पनि छैन भन्ने मलाई लाग्छ। प्रयास गर्दैछु। हेरौं, कहिले सफल हुन्छ।’

प्रतिक्रिया