ad ad

खेल


एन्फा अध्यक्षमा दोहोरिन खोजेका शेर्पा भन्छन् : मेरो कार्यकाललाई विवादित भन्न मिल्दैन

एन्फा अध्यक्षमा दोहोरिन खोजेका शेर्पा भन्छन् : मेरो कार्यकाललाई विवादित भन्न मिल्दैन

लक्ष्मी जि.सी
असार ६, २०७९ सोमबार ८:३६, काठमाडौँ

आज अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनाव हुँदैछ। अध्यक्ष कर्माछिरिङ शेर्पा दोस्रो कार्यकालका लागि चुनावी दौडमा छन्। उनलाई टक्कर दिँदैछन्, अघिल्लो पटक शेर्पाकै प्यानलबाट चुनाव जितेका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले।

गत चार वर्षमा कोरोनाको कारण काम गर्न नपाएकाले बाँकी काम पुरा गर्न पुनः एन्फा अध्यक्षका लागि उम्मेदवारी दिएको शेर्पाको भनाइ छ।

शेर्पाले आफ्नो पहिलो कार्यकाल भने विवादरहित बनाउन सकेनन्। वरिष्ठ उपाध्यक्ष र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवाद होस् अथवा खेलाडी प्रशिक्षकको विवाद अथवा मधेशविरोधी अभिव्यक्ति दिएर नै किन नहोस्, उनी विवादमा तानिइरहे। त्यसमाथि विवाद समाधानमा बेलैमा पहलकदमी लिन नसकेको आरोप पनि उनीमाथि लाग्दै आएको छ।

पहिले आफ्नै प्यानलमा रहेका वरिष्ठ उपाध्यक्षसँगको यो प्रतिस्पर्धालाई शेर्पाले स्वभाविक रुपमा लिएका छन्।

‘फुटबलमा एउटा खेलाडीले सधैँ एउटै क्लबबाट खेल्दैन, टोली परिवर्तन गरिरहेको हुन्छ, अहिले भएको पनि त्यस्तै हो,’ शेर्पाले नेपालखबरसँग भने, ‘नीतिगत मतभेद हुनु ठिक हो तर व्यक्तिगत रुपमा हिँड्नु गलत हो। एकलौटी भएर पनि फुटबलको विकास भएको छ भने त्यसलाई पनि मान्नुपर्छ नि!’

सामाजिक सञ्जालमा देखिएका विवादका विषयमा भने एन्फाको आफ्नै नीति नियम नभएका कारण चाँडै सम्बोधन गर्न नसकिएको उनले बताए। छानबिन समिति बनाएर आफूहरुले विवाद समाधानको प्रयास गरेको उनको भनाइ छ।

‘सामाजिक सञ्जालमा कसले के लेख्छ भनेर हेरिरहने होइन, लेख्नेले लेखिरहन्छन्, मैले काम गर्ने हो,’ शेर्पाले भने।

शेर्पा आफ्नो कार्यकाल विवादित रहेको स्वीकार गर्न तयार छैनन्। 

‘महिला फुटबलका अन्तर्राष्ट्रिय प्रतियोगिता भइरहेका छन्, नियमित लिग भइरहेको छ। कोभिडको बीचमा पनि लिग गरिरहेका छौँ, नेपालको इतिहासमा महिला पुरुषका फुटबल र फुटसलका कामहरु भइरहेका छन्, रेफ्री र प्रशिक्षक उत्पादन भइरहेका छन्, त्यसलाई विवाद मान्ने?’ उनले प्रतिप्रश्न गरे।

‘घरमा स–साना ठाकठुक भइरहेका हुन्छन्, त्यसलाई मिलाएर लैजाने हो,’ शेर्पा थप्छन्, यथास्थितिवादीहरुले फुटबलमा विवाद सिर्जना गरिरहेका छन्।’

आफ्ना प्रतिस्पर्धी नेम्वाङ एन्फाका पूर्वअध्यक्ष गणेश थापाको प्यानलबाट चुनाव लड्न लागेको समेत शेर्पाले बताए। 

‘जसले २२ वर्षसम्म फुटबललाई तहसनहस गरेको छ उसैसँग साँठगाँठ गरेर चुनाव लड्नु राम्रो होइन,’ शेर्पाले भने।

पछिल्लो समय महिला फुटबलमा पनि व्यवसायिकता सुरु हुनु, आर्थिक नियमावली बन्नु, संघीय संरचनाअनुसार एन्फाको विधान संशोधन, प्रदेश फुटबल संघ गठन र नीतिगत रुपमा फुटबल संघलाई सञ्चालन गर्नुजस्ता काममा आफू सफल भएको उनको दाबी।

ग्रासरुट कार्यक्रमलाई व्यापकता दिने, क्षमता निर्माण गर्ने, लिगलाई थप व्यवस्थित बनाउने, एन्फाले गर्ने आगामी कार्यक्रम सञ्चालनका लागि सबै पक्षसँग मिलेर काम गर्ने, आर्थिक सबलीकरण र व्यावसायिकताका लागि स्थानीय सरकार र जिल्ला फुटबल संघको सहकार्य अगाडि बढाउने, प्रदेश सरकार र प्रदेश फुटबल संघबीच सहकार्य गर्ने वातावरण तयार पार्न प्रयास गर्ने उनका आगामी योजना छन्।

विद्यालयसँगको सहकार्यमा सिटी लिग आयोजना गर्ने, जसमा आफ्नै मैदान भएका विद्यालय मात्र सहभागी जनाउन पाउने र होम एन्ड अवेको अवधारणामा लिग गर्ने, क्लबलाई प्राइभेट लिमिटेडमा लैजाने, युथ लिग, ग्रास रुटको लिग, नेपाली फुटबलको जग बलियो बनाउने काम गर्ने, धेरैभन्दा धेरै कृत्रिम रंगशाला निमार्ण गर्ने, जग्गा उपलब्ध भएको जिल्लामा प्रशिक्षण सेन्टर बनाउने र क्लबको आफ्नै प्रशिक्षण केन्द्र बनाउन पहल गर्ने शेर्पा समूहले एजेन्डा छन्।

यस्तै पोखरामा एक्सिलेन्स सेन्टर बनाउने उनले बताएका छन्। 

‘स्थानीय सरकारसँग मिलेर काम गरिरहेका छौँ। अझै गर्न बाँकी छ, त्यसैलाई पुरा गर्न पनि म दोहोरिन चाहेको हो,’ शेर्पाले भने।

पछिल्लो समय प्रतियोगिता नहुँदा उमेर समूहको प्रदर्शन खस्किएको उनको भनाइ छ।

‘जेठ, असार र साउनमा कोरोनाको तीन लहर आउँदा एन्फाले काम गर्ने मौका पाएन। समय हुँदा काम गर्यौँ। क्विक्स कप र ललित स्मृति प्रतियोगिता गरेका थियौँ तर कोरोनाले गर्दा विद्यालय बन्द भए,’ उनले भने, ‘विद्यालय खुला हुँदा पनि प्रतियोगिता आयोजना नगरेको भए भन्न मिल्थ्यो।’

आफ्नो यो चार वर्षे कार्यकाल अविष्मरणीय रहेको उनको दाबी छ। विगत १६ वर्षदेखि परिवर्तनको नारा लिएर आफू हिँडेको सम्झना गर्दै शेर्पाले भने, ‘पहिलो निर्वाचनमा पराजित भयौँँ। अर्को निर्वाचनमा हामीले पराजित नहुनका लागि सबैलाई समेट्ने बरु पद त्यागेर बाहिर बस्ने भनेर विभिन्न विचार समूहका व्यक्ति मिलेर टिम बनायौँ। चुनाव लड्यौँ, जित्यौँ र नेतृत्वमा आयौँ।’

एन्फाको निर्वाचनमा आफू पराजित भइहाले पनि फुटबलमा सँधै सक्रिय रहने शेर्पाले बताए।

‘मलाई फुटबलबाट कसैले हटाउन सक्दैन, साधारण सभाले जुन हैसियत दिएको थियो, त्यसैमा लागेर काम गर्छु। मसँग ए डिभिजन क्लबको हैसियत छ, त्यही हैसियतमा रहेर काम गर्छु। कार्यसमितिको काममा अनावश्यक हस्तक्षेप गर्दिनँ,’ उनले भने।

शेर्पा ए डिभिजन क्लब हिमालय शेर्पाको अध्यक्ष समेत हुन्। ए डिभिजन क्लबको अध्यक्ष हो फुटबलमा काम गर्छु अनावश्यक हस्तक्षेप गर्दिनँ। 

‘चुनाव जिते फुटबलको विकास गर्ने हो, नजिते क्लबको विकासमा लाग्ने हो। हारलाई सहज ढङगले लिनपर्छ,’ उनी भन्छन्, ‘राम्रो गर्नेलाई सहयोग गर्ने हो।’

आफ्नो कार्यकाल र निर्वाचनका बेला शेर्पाले आर्थिक चलखेल गरेको आरोप पनि छ। तर, उनले त्यसलाई पुष्टि गरेर देखाउन चुनौती दिए।

‘मलाई त्यस्तो चलखेल गर्नु्पर्ने जरुरत छैन। आज चलखेल गर्नेले भोलि कमाउन पर्छ अनि फुटबलमा अनियमितता सुरु हुन्छ,’ उनले भने, ‘उहाँहरुमाथिको आरोप हेर्ने हो भने नेपालमा भएको प्रोजेक्टभन्दा बढी भ्रष्टाचार भएको छ, आर्थिक प्रलोभनमा को परेका थिए त्यो प्रष्ट छ।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .