दशरथ रंगशालामा शनिबार भएको खेलमा एपीएफलाई १–० ले हराउँदै थ्री स्टार अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ।
३ खेलबाट थ्री स्टारको ७ अंकका भएको छ भने ६ अंक जोडेको मछिन्द्र तेस्रो स्थानमा छ। मनाङ मस्र्याङ्दी क्लब ९ अंकसहित लिगको शीर्षस्थानमा छ।
थीस्टारका लागि अनन्त तामाङले खेलको १५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। मिक्छेन तामाङले झन्डै २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकमा अनन्तले हेड गोल गरेका थिए।
सुमन श्रेष्ठलाई एपीएफका खेलाडीले फाउल गरेपछि थ्री स्टारले फ्रिकिक पाएको थियो। त्यसअघि एपीएफका प्रविण स्याङ्तानको प्रहारलाई थ्री स्टारका विदेशी गोलरक्षक प्रिसोले जोगाएका थिए।
१० औं मिनेटमा थ्री स्टारका सुशील राईको पासमा हम्जाताको प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो। यसअघिको जितमा सुशीलले गोल गरेका थिए।
३० औं मिनेटमा मिक्छेनको कर्नरमा कप्तान विक्रम लामाको हेडर बाहिरिएको थियो। ३६ औं मिनेटमा दिपेश घलेको बक्स बाहिरको सशक्त प्रहार क्रस बारमा लागेर बाहिरिदा थ्री स्टारले अग्रता दोब्बर पार्ने अवसर खेर फालेको थियो।
पहिलो खेलमा जावलाखेलविरुद्ध गोलरहित बराबरीमा रोकिएको थ्री स्टारले दोस्रो खेलमा विभागीय नेपाल पुलिस क्लबको चुनौती १–० ले पाखा लगाएको थियो।
थ्री स्टारले जित निकाल्दा एपीएफले जारी लिगमा दोस्रो हारको सामना गरेको छ। पहिलो खेलमा साविक वजेता मनाङसँग २–० ले पराजित भएको एपीएफ दोस्रो खेलमा यति हिमालयन शेर्पासँग १–१ गोलको बराबरीमा रोकिएको थियो।

प्रतिक्रिया