ad ad

खेल


प्रधानमन्त्री कप थ्री नेसन्स प्रतियोगिताको पहिलो खेल नेपाल र लाओसबीच

प्रधानमन्त्री कप थ्री नेसन्स प्रतियोगिताको पहिलो खेल नेपाल र लाओसबीच

नेपालखबर
चैत ७, २०७९ मंगलबार १६:१७, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीले बुधबार लाओससँग खेल्दै प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिताको सुरुआत गर्दैछ। 

दशरथ रंगशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ। नेपाल र लाओस ७ वर्षपछि आमानेसामने हुदैछन्। सन् २०१६ मा भएको सोलिडारिटी कपमा यी दुई टोली पहिलो पटक खेलेका थिए।  

नेपालको यो पटकको टोलीमा सात नयाँ खेलाडी थपिएका छन्। टोलीका अनुभवी खेलाडी विदेश पलायन भएपछि नयाँ खेलाडीले मौका पाएका छन्। 

खेल अघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक शिनसेन्जो अल्बर्टो एनेसेलेले भने, ‘नेपाली खेलाडीमा धेरै क्वालिटी छ।

आफूसँग छोटो समय भएको र खेलाडी छनोट गर्न पनि आफुलाई गाह्रो भएको सुनाए। ‘ए डिभिजन लिग भएका सबै ठाउँमा पुगेर खेल हेरेँ, थोरै समयमा धेरै खेल भए, त्यसकै आधारमा खेलाडी छनोट गरेँ, यो पटक टोलीमा धेरै नयाँ खेलाडी छन्।’

फुटबलमा वरियता भन्दा पनि खेल महत्वपूर्ण रहेको भन्दै प्रशिक्षक शिनसेन्जोले यो आफूहरुका लागि अवसर भएको सुनाए। उनले भने, ‘छोटो समयको तयारी भएपनि खेल कस्तो हुन्छ भनेर भोलि नै थाहा हुन्छ।’

टोलीका कप्तान किरण चेम्जोङले भने, ‘छोटो तयारीमा प्रतियोगिता खेल्दैछौँ। लिगको विश्रामको समयमा खेल हुन लागेको हो। प्रशिक्षकलाई पनि छोटो समय रह्यो।’ 

यो पटक टोलीमा नयाँ खेलाडीहरु रहेकाले आफूहरुका सामु नयाँ चुनौती रहेको कप्तान चेम्जोङले सुनाए। 

उनले भने, ‘धेरै खेलाडीहरु विदेश पलायन भएका छन्। त्यो उनीहरुको रोजाइ हो। हामीले अझै धेरै चुनौतीहरु फेस गर्नुपर्नेछ। प्रशिक्षकको नयाँ तरिका र रणनीतिलाई हामीले फलो गर्नुपर्नेछ।’ 

टोलीमा जो खेलाडी आएपनि आफुहरुले देशको प्रतिनिधित्व गर्ने कारणले आफुहरुले शतप्रतिशत दिएर खेल्ने बताए। खेल अघि नै नतिजाको बारेमा थाहा नहुने भएका कारण अहिले नै नतिजाको बारेमा केही भन्न नसकिने कप्तान चेम्जोङले बताए। 

सन् २०१६ पछि लाओससँग खेल्न लागेकाले फरक अनुभव हुने कप्तान चेम्जोङले सुनाए। 

उनले थपे, ‘अहिले लाओस्को टोलीमा पनि धेरै परिवर्तन आएको छ। त्यसैले अहिले नै केही भन्न सकिँदैन।’ 

लाओसका प्रशिक्षक माइकलले आफूहरुको तयारी छोटो रहेको सुनाए।

‘फुटबलमा जित भन्दा पनि विकास पनि महत्वपूर्ण कुरा हो। टोलीमा धेरै नयाँ खेलाडी छन्। पुराना खेलाडीलाई नयाँ खेलाडीले विस्थापित गरेका छन्’ उनले भने, ‘नेपाललाई घरेलु मैदानको फाइदा छ त्यसको फाइदा नेपालले लिन सक्नेछ। टोलीका कप्तानले नेपालको खेललाई इन्टरनेटमा हेरेको भन्दै नेपाल आउन पाउँदा खुसी लागेको छ।’

उता भुटान भने ३ वर्षपछि अन्तराष्ट्रिय फुटबलमा फर्कंदैछ। नेपाल र भुटान सन् २०१८ को साफ च्याम्पियनसिप पछि खेल्न लागेका हुन्।

भुटान र नेपालबीचको १३ खेलमा नेपालले सबै खेलमा जित निकालेको छ। भुटानले अहिलेसम्म नेपाललाई हराउन सकेको छैन। नेपाल भने यो प्रतियोगितामा सोही लयलाई निरन्तरता दिन चाहान्छ। 

भुटानका प्रशिक्षक पेमा पेमाले भने, ‘यो पटक टोली राम्रो छ। हामीले २ महिनाको तयारी गरेका छौँ। टोलीमा अहिले नयाँ र युवा खेलाडी छन्। टोलीमा सबै प्रशिक्षकको आफ्नो आफ्नो रणनिति हुन्छ। मैले आफ्नो शतप्रतिशत दिएको छु।’ प्रशिक्षक पेमाले थपे, ‘नेपाल बलियो टोली हो, प्रतियोगितामा सबै टोलीको लक्ष्य जित्ने नै हुन्छ। हाम्रो पनि त्यही हो।’ 

भुटानी टोलीका कप्तान चेन्चोले नेपालबाट आफूहरुलाई सर्पोट मिल्ने भन्दै यो पटक पनि त्यस्तै अपेक्षा गरेको सुनाए। 

‘टोलीमा नयाँ खेलाडी छन्। उनीहरुले आफ्नो सय प्रतिशत दिन्छन् भन्नेमा म विश्वस्त छु,’ चेन्चोले थपे, ‘नेपाल हाम्रो लागि बलियो टोली हो तर हामीले लाओसलाई पनि कम सोचेका छैनौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .