खेल


रेफ्रीले अन्तिम सिट्ठी फुकेपछि जब खेलाडी रंगशालामै भिडे ...

रेफ्रीले अन्तिम सिट्ठी फुकेपछि जब खेलाडी रंगशालामै भिडे ...

लक्ष्मी जि.सी
पुस २४, २०७६ बिहिबार ७:२९,

दशरथ रंगशालामा सोमबार ए डिभिजन लिगको साविक विजेता मनाङ मस्र्याङ्दी र मच्छ्रिन्द्र क्लबबीचको बहुप्रतीक्षित खेल चलिरहेको थियो।

लिगको पाँचौ चरणकोे दोस्रो खेल निकै महत्वपूर्ण थियो। कारण, मनाङ लिगको सदाबहार दाबेदार हो। र, उसलाई चुनौती दिन मछिन्द्र नयाँ शक्तिको रुपमा उदाएको छ।

अर्कोतिर कप्तान विराज महर्जनसहित ८ जना खेलाडीले यो सिजन मनाङ छाडेर मछिन्द्र रोजेका थिए। धेरैलाई खेल निकै रोमाञ्चक हुने आशा थियो। त्यसैले अन्य दिनभन्दा सोमबार रंगशालामा दर्शक बढी थिए।

दर्शकको अपेक्षाअनुरुप खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक रह्यो। नतिजा २–२ को बराबरी।

निर्धारित ९० मिनेटको खेल सकिएपछि रेफ्रीले अन्तिम सिट्ठी फुके। त्यसपछि दुवैतर्फका खेलाडीले एकअर्काप्रति सौहाद्र्रता र सम्मान व्यक्त गर्दै मैदानबाट बाहिरिनुपर्ने थियो। तर, सोमबार रंगशालामा त्यसो भएन।

बरु दुई क्लबका खेलाडी आपसमा भिडे। मनाङका जगजित श्रेष्ठ र मछिन्द्रका दीपक राईबीच हानाहान भयो। स्थिति त्यतिमै रोकिएन। दुवै टोलीका खेलाडी, अफिसियल र बेन्चका खेलाडी मैदान प्रवेश गरे। कतिपयले आफ्ना साथीलाई रोके। सुरक्षाकर्मीले मैदानमै छिरेर स्थितिलाई नियन्त्रणमा लिनुपर्ने स्थिति आयो।

जे भयो त्यो नेपाली फुटबलका लागि सुखद् थिएन।

ए डिभिजन लिग संयोजक सञ्जीव मिश्रले फुटेज हेरेर कस्तो खालको कारवाही गरिने बताएका छन्। ‘आजभोलिमा निर्णय हुन्छ। टोलीलाई आर्थिक जरिवानासम्मको कारवाही हुने प्रावधान रहेकाले फुटेज हेरेर मात्र निर्णय गर्न सकिन्छ,’ उनले भने।

यद्यपि, पछिल्लो घटनाक्रमलाई हेर्ने हो भने घरेलु फुटबलमा अनुशासनहीनता बढ्दै गएको प्रष्ट देखिन्छ। मैदानमा होस् वा मैदान बाहिर खेलाडीहरु व्यवहार अनुशासन विपरीत मात्रै छैन, उनीहरुले समग्र खेलक्षेत्रलाई नै लज्जित तुल्याउनेगरी उदण्डता प्रदर्शन गरिरहेका छन्। र, यस्ता घटनालाई रोक्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले पर्याप्त कदम चालेको देखिँदैन।

सोमबारको घटना मैदानभित्रको थियो। यसमा कस्तो कारवाही गर्छ केही दिनमा पक्कै सार्वजनिक होला। तर, अनुशासन विपरीत काम गर्दा खेलाडीले सहजै उन्मुक्ति पाएका उदाहरण पनि हाम्रासामु प्रशस्त छन्। यस्तालाई छुट दिँदा त्यसले अन्य खेलाडीमा मनोवैज्ञानिक प्रभाव पार्नु स्वभाविक हो।

साउन २०७५ मा एसियाड र साफ च्याम्पियनसिपको बन्द प्रशिक्षणमै रहेका बेला राष्ट्रिय टोलीका विमल घर्तीमगरसहित अन्जन विष्ट, विशाल राई, छिरिङ शेर्पा र हेमन्त थापा मगर राति एकेडेमी छाडेर बाहिरिएका थिए। राति डिस्कोमा गएर मादकपदार्थ सेवन गरेको र होहल्ला गरेको सार्वजनिक भएपछि एन्फाले उनीहरुलाई स्पष्टीकरण सोधेको थियो।

खेलाडीसहित टोली व्यवस्थापक बाबुकाजी बस्नेत, होस्टेल वार्डेन टक्कर थापा र सेक्युरिटी कम्पनीसँग पनि लिखित जवाफ एन्फाले मागेको थियो।

उनीहरुले एन्फाको गेटमा लात्ताले हानेको भिडियो फुटेजमा प्रष्ट देखिएपनि एन्फाले उनीहरुलाई कारवाही गर्न सकेन।

यसबाट पनि केही मनोबल बढेका विमल, अन्जन, सन्तोष तामाङ र दिनेश राजवंशी गत कात्तिक ३० गते विश्वकप छनोटअन्तर्गत कुवेतसँगको मैत्रीपूर्ण खेलका लागि भुटान प्रस्थान गर्नुअघि ठमेलको डिस्कोमा पुगेर मादक पदार्थ सेवन गरेका थिए।

त्यसपछि भने अनुशासन मिचेको भन्दै प्रशिक्षक योहान कालिनसहित काठमाडौँमा उपलब्ध एन्फा पदाधिकारी र सदस्यको बैठकले ४ खेलाडीलाई घर फर्काएको थियो। उनीहरुमध्ये ४५ दिन निलम्बनमा परेका अन्जन र सन्तोष फुटबलमा फर्किसकेका छन्। विमल र दिनेशको भने निलम्बन अझै बाँकी छ।

यस्तै, गत असारमा राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ र फिजियो विवेक अधिकारीबीच विवाद भएपछि चिया छ्यापाछ्याप भएको थियो। एन्फाले चेम्जोङलाई सम्झाइबुझाइ मात्र गरेको थियो भने अधिकारीलाई फिजियोबाट हटाएको थियो।

झन्डै ७ वर्षअघि मध्यपुर युथ एसोसियसन ए डिभिजनबाट रेलिगेसनमा पर्दा रंगशालामा हुलदंगाकै अवस्था सिर्जना भएको थियो। दर्शकदीर्घाबाट कुर्सी तोड्नेदेखि अफिसियलहरुले मैदानमा नै धर्ना दिएका थिए। त्यो बेला तत्कालीन मध्यपुरका अध्यक्ष र प्रशिक्षक रहेका उपेन्द्रमान सिंह सोमबारको खेलमा म्याच कमिस्नरको भूमिकामा थिए। त्यसबेला एन्फाले सिंहसहित ७ अफिसियललाई १ वर्ष प्रतिबन्ध लगाएको थियो।

एन्फा कम्प्लेक्समै तीन वर्षअघि श्री कुमारी क्लबका अफिसियल तथा खेलाडीले रेफ्रीलाई हातपात गरेका थिए। मोफसलका केही प्रतियोगितामा पनि यस्ता घटना बारम्बार दोहोरिएका छन्। तर त्यस्ता घटनामा एन्फा कडा रुपमा प्रस्तुत हुन नसक्दा दोषी खेलाडी तथा अफिसियल बच्ने गरेका छन्।

यी केही उदाहरण मात्र हुन्। कतिपय मामलामा एन्फाले कारवाही गरेको पनि छ। कारवाही गरेपनि अनुशासनहीन गतिविधि भने रोकिन सकेको छैन। खेललाई मर्यादित बनाउने दायित्व त्यसमा संलग्न सबैको हो।

राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जन खेलाडीले अनुशासन गरेका घटना बारम्बार दोहोरिनु चिन्ताजनक विषय भएको बताए।

‘पहिलेपनि अनुशासन तोड्ने काम भएका थिए। बेलाबेला पुनः दोहोरिरहेका छन्। प्राय यस्ता घटनामा खेलाडीहरु दोषी देखिन्छन्,’ विराजले नेपालखबरसँग भने, ‘राष्ट्रिय टोलीबाट खेल्ने खेलाडीको अनुशासन अति महत्वपूर्ण हुन्छ।’

खेलाडीले अनुशासन तोड्दा नकारात्मक सन्देश जाने उनको भनाइ छ।

‘खेलाडीको खराब व्यवहारले फुटबल प्रेमीमा पनि नकरात्मक सन्देश जान्छ। आफूसँगै खेलेका साथीहरुले यसो गर्दा मलाई पनि दुःख लाग्छ। खेलाडीले आफ्नो धर्म र कर्म कहिलै बिर्सनु हुँदैन,’ उनले भने।

सबैलाई अनुशासित राख्न भनेर नियम बनाइएका हुन्छन्। कसैले नियम तोड्दा सोही अनुसारको कारवाहीको व्यवस्था पनि हुन्छ। तर, समयमा कारवाही नहुँदा गलत संस्कारको विकास भइरहेको छ।

खेललाई मर्यादित र व्यवस्थित बनाउन जिम्मेवार निकाय र त्यसमा रहने पदाधिकारीले यस्तो हुन नदिन समयमै आवश्यक कदम चाल्नुपर्छ। अन्याथा त्यो घरेलु फुटबलको विकासका लागि अवरोध बन्न सक्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad