सन् २०२४ को पेरिस पाराओलम्पिकमा नेपालका तेक्वान्दो खेलाडी पलेसा गोवर्धन र भरत सिंह महतले नेपालको प्रतिनिधित्व गर्दै छन्।
यसकै तयारीका लागि पारा तेक्वान्दोका प्रशिक्षक र खेलाडीले ४ वर्षदेखि मिहिनेत गरिरहेका थिए। यसैको परिणामस्वरुप यो वर्षको पारा ओलम्पिकमा दुई खेलाडीले फरक तौल समूहमा स्पर्धा गर्नलागेका हुन्।
पेरिस पाराओलम्पिकमा सहभागी हुँदा तेक्वान्दोकी ‘क्विन’ पलेसा गोवर्धनले लगातार दोस्रो पटक ओलम्पिक खेल्दै कीर्तिमान बनाउनेछिन्।
पेरिस २०२४ पाराओलम्पिकका लागि भएको एसियाली छनौटमा पलेसाले स्वर्णपदक जित्दै ओलम्पिकका लागि छनोट भएकी थिइन्।
यसपटक उनले ४४ तथा ५७ किलोमुनिको तौल समूहमा स्पर्धा गर्नेछिन्।

पारा ओलम्पिकमा तेक्वान्दो सन् २०२० को टोक्यो ओलम्पिकबाट राख्न थालिएको हो। सन् २०२३ मा भएको हाङझाओ एसियाडमा पनि तेक्वान्दोले पहिलोपटक स्थान पाएको थियो।
पलेसाले २०२० मा वाइल्ड कार्डमार्फत पाराओलम्पिक खेलेकी थिइन्। त्यो बेलामा उनी ऐतिहासिक पदक नजिक पुगेर असफल भएकी थिइन्।
पाराओलम्पिकको तयारीमा रहेकी पलेसा नेपालखबरसँग भन्छिन्, ‘एकदम उत्साहित छु। ओलम्पिक खेल्नु भनेर पहिलोपटक सरप्राइज गिफ्टजस्तो आएको थियो। यो पटक छनोट भएको छु।’
देशलाई पदक उपहार दिने पलेसाको चाहना
ओलम्पिकको तयारीका लागि नै पलेसाले चीनमा अध्ययन गरिरहेको इन्जिनियरिङलाई छाडेर प्रशिक्षण गरिरहेकी छिन्।
उनले भनिन्, ‘पहिला म चीनमा पढिरहेको थिएँ। धेरैले म छनोट हुन्छु भनेर विश्वास गरेका पनि थिएनन्। सबैले खेल भएन भने वाइल्ड कार्डमा अप्लाइ गरौँला भनेका थिए। त्यो बेलामा म केही निराश पनि भएको थिएँ।’
तर आफूले गरेको प्रशिक्षणअनुसारकै नतिजा आएकोमा उनी खुसी छिन्।
‘मलाई भित्रभित्रै विश्वास थियो– छनोट हुन्छु भनेर नै मैले प्रशिक्षण गरिरहेको थिएँ’, उनी भन्छिन्, ‘मिहिनेतअनुसारकै नतिजा आयो। धेरै खुसी लागेको छ।’
पाराओलम्पिकका लागि तेक्वान्दो टोलीले १ महिना म्यानचेस्टरमा अभ्यास गर्ने तयारीमा छ। यसले नयाँ वातावरणमा हुँदा धेरै फाइदा हुने पलेसा बताउँछिन्।
‘परिवार र सबैबाट टाढा भएपछि पूरै ध्यान खेलमै केन्द्रित हुन्छ’, उनी भन्छिन्।

दोस्रो पटक ओलम्पिक खेल्दै गर्दा पदक जित्ने भोक पलेसामा बढिरहेको छ। तर भविष्यको अनुमान गर्न सकिँदैन। यसका लागि मिहिनेतमा ध्यान दिनुपर्ने उनको तर्क छ।
उनी यो पटक पदक ल्याएर देशलाई एक उपहार दिन चाहान्छिन्। त्यसका लागि छनोटभन्दा धेरै मिहिनेत गरिरहेकी छिन्।
उनी भन्छिन्, ‘एक समय मलाई मेरो कमजोरी देखाउन डर लाग्थ्यो तर तेक्वान्दोमा आएपछि यो मेरो पावर बनेको छ।’
१५ महिनामै भरतको ओलम्पिक यात्रा
भरतले भने वाइल्ड कार्डमार्फत पाराओलम्पिक खेल्न लागेका हुन्।
खेल जीवन सुरु गरेको १५ महिनामा नै भरतले पाराओलम्पिकसम्मको यात्रा तय गरे। यति छोटो समयमा अोलम्पिकसम्मको यात्रा तय गर्ने भरत भाग्यमानी खेलाडी हुन्।
हेर्दा १५ महिना छोटो भए पनि अरुको तुलनामा आफ्नो संघर्ष भने लामो रहेको भरत सुनाउँछन्।

‘तेक्वान्दोसम्म पुग्न धेरै मिहिनेत गरेको छु’, उनी भन्छन्।
भरत खेलमा मात्र हैन व्यवसायमा पनि अब्बल छन्। उनी तेक्वान्दोसँगै गाईफर्म पनि सञ्चालन गर्छन्। तर पाराओलम्पिक खेल्ने भएपछि गाइफार्मको पूरै काम उनकी श्रीमतीले सम्हालेकी छिन्। त्यसैले उनी ढुक्कले प्रशिक्षण गरिरहेका छन्।
तेक्वान्दोमा उनी मुख्य प्रशिक्षक कविराज नेगी लामालाई गड फादर मान्छन्। पूरै समानले उनलाई हेच्चाइरहेको बेला प्रशिक्षक नेगीले उनलाई हौसला दिलाएका थिए।
पदक नै लक्ष्य
त्यसैले पाराओम्पिककमा सहभागिताभन्दा पनि पदक नै उनको मुख्य लक्ष्य हो। ओलम्पिक उनको तेस्रो अन्तराष्ट्रिय प्रतियोगिता हो।
यसअघि भएको छनोटमा भरत इन्डोनेसियाका खेलाडीसँग अंकका आधारमा पराजित भएका थिए। सो छनोटपश्चात् उनी विश्व वरीयताको ८१ औँ स्थानमा थिए। यसले उनलाई ओलम्पिकमा वाइल्ड कार्ड पाउन सहज भयो। भरतले ४४ र ५८ किलो तौलमुनिको समूहको स्पर्धा गर्नेछन्।
तेक्वान्दोमा पारा खेलाडीलाई मुख्य प्रशिक्षक कविराज नेगी लामा स्वंयसेवकको रुपमा काम गर्छन्।
खेलाडीको मनोबल बढाउन उनी कुनै कसर बाँकी राख्दैनन्। त्यसैले त उनलाई खेलाडीहरु ‘गडफादर’को दर्जा दिन्छन्।
के भन्छन् प्रशिक्षक नेगी?
सन् २०१३ मा नेगीले प्रशिक्षण सम्हालेयता उनले १० पदक दिलाउन सफल भएका छन्।
उनी भन्छन्, ‘यो पटक ऐतिहासिक पदक ल्याउने चाहना छ। सोहीअनुसार मिहिनेत गरिरहेका छौँ।’
यसको लागि तयारी पनि राम्रो भइरहेको नेगीको भनाइ छ।

‘बिहान बेलुका प्रशिक्षण भइरहेको छ। दिउँसो खेलाडीहरुले आफैँले पनि प्रशिक्षण गर्छन्’, उनले भने, ‘नेपाल तेक्वान्दो संघले यसका लागि चार वर्षअघि नै तयारी गरेको थियो। त्यही भएर दुई जना खेलाडी ओलम्पिक खेल्दै छन्।’
उनका अनुसार योजनाअनुसार नै प्रशिक्षण भइरहेको छ।
साउन १० मा म्यानचेस्टर उड्ने
बेलायती सहर म्यानचेस्टरमा हुने प्रशिक्षणका लागि नेपाली टोली साउन १० गते त्यसतर्फ जाने तयारीमा छ। करिब १ महिनाको प्रशिक्षणपश्चात् नेपाली टोली भदौ ७/८ गते उतैबाट पेरिस जानेछ।
पेरिसमा भदौ १३ गते भरतले स्पर्धा गर्नेछन्। पलेसाको खेल १४ गते छ। उनीहरु दुवैको तौल समूहमा समान १२ खेलाडी छन्।

पलेसाको तौल समूहमा उनले हराइसकेका खेलाडीसमेत छन्। त्यसैले नतिजा राम्रो आउने आशामा पलेसा र प्रशिक्षक नेगी छन्।
नेगी भन्छन्, ‘पलेसाको तौल समूहमा उनले जितिसकेको खेलाडी छन्। केही बलिया प्रतिद्वन्द्वी पनि छन्। पलेसाले आफ्नो पढाइ छाडेर प्रशिक्षणमा व्यस्त छिन्। पहिलाको तुलनामा अहिले सुविधाहरु पनि राम्रो छ। त्यसैले पदक आउँछ भन्ने विश्वास छ।’






प्रतिक्रिया