ad ad

खेल


राखेप नेतृत्वलाई गिज्याइरहेको दशरथ रंगशाला

मंगलबार देखियो अन्तर्राष्ट्रिय मान्यता फर्केको मैदानको हालत
राखेप नेतृत्वलाई गिज्याइरहेको दशरथ रंगशाला

तस्बिर : सरोज नेपाल


लक्ष्मी जि.सी
साउन ३०, २०८१ बुधबार ९:६, काठमाडौँ

काठमाडौँस्थित दशरथ रंगशालामा फेरि अन्तर्राष्ट्रिय खेल हेर्न पाउँदा मंगलबार दर्शक जोसमा देखिन्थे।

एसियाली फुटबल महासंघ (एएफसी) ले गत जेठमा खोसेको दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मान्यता एक वर्षका लागि फिर्ता गरेपछि म‌ंगलबार नेपाली दर्शकले घरेलु मैदानमा अन्तर्राष्ट्रिय स्तरको खेल हेर्ने मौका पाएका थिए।  

उक्त दिन (साउन २९ गते) दशरथ रंगशालामा च्यालेन्ज कप लिगको प्ले अफका लागि सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज क्लब भुटानको लिग विजेता पारो एफसीसँग भिडिरहेको थियो। 

पारोको कप्तानी गरिरहेका जापानी केसुके होन्डाको नेपाल आगमनले पनि उल्लेख्य संख्यामा दर्शक रंगशाला पुग्नुको अर्को कारण बनेको थियो। 

०००

खेल साँझ ६ बजे सुरु हुँदै थियो। अपराह्न ४ बजेदेखि रंगशाला आसपास ठूलो वर्षा सुरु भयो। तर लगातार झण्डै एक घन्टा भएको वर्षाले पनि दर्शकलाई रोक्न सकेन। सयौँको संख्यामा दर्शक रंगशाला पुगे।

उत्साहित दर्शकका बीच खेल सुरु भयो। तर, केही समयपछि नै हिलाम्मे मैदानले निराश बनायो। अधिकांश खेलाडीका जर्सी हिलोमा लतपतिए। बल कतिसम्म गुड्छ खेलाडीले अनुमान गर्न सक्ने अवस्था थिएन।

मैदानको कतिपय ठाँउमा खेलाडीको बुट हिलोमा जाकियो। युट्युबमार्फत खेलको प्रत्यक्ष प्रसारण हेर्ने अधिकांश दर्शकले मैदानको अवस्था देखेर आलोचना गरिरहेका थिए। यस क्रममा कतिपयले नेपाललाई अन्तर्राष्ट्रिय खेल खेलाउन दिन नहुने प्रतिक्रियासमेत दिए।

मैदानको कमजोर अवस्था, असुरक्षा, फ्लड लाइट कारण देखाउँदै गत जेठमा एएफसीले दशरथ रगंशालालाई अन्तर्राष्ट्रिय खेल खेल्न अयोग्य भनेपछि विश्व कप छनोटको होम म्याच नेपाली टोलीले उक्त रंगशालामा खेल्न पाएन।

त्यति बेलासम्म अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दिएको मैदान संरक्षणको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद (राखेप) आफैँले फिर्ता लिइसकेको थियो। तर यसको ४ महिनापछि पनि मैदानको अवस्थामा खासै अन्तर देखिएन। अर्थात् मैदानको स्तरोन्नति हुन सकेन। 

नेपाल-भुटान खेल्ने दिन मंगलबार बिहानसम्म रंगशालामा घाँस काट्ने काम जारी थियो।

फुटबल खेल हेर्न पहिलाजस्तै उत्साहित देखिए पनि अधिकांश दर्शकलाई रंगशालाको अवस्थाले निराश बनाएको हुनुपर्छ।

त्यसमाथि चर्च ब्वाइज घरेलु मैदानमै पारो एफसीसँग २–१ ले पराजित भयो। यसले नेपाली दर्शकको निराशा झन् बढायो। 

दशरथ रंगशालाले पुन: अन्तर्राष्ट्रिय मान्यता  मान्यता पाएको खुसियाली मनाउने अवस्था रहेन। 

रंगशालाको अवस्था देख्दा यसअघि अन्तर्राष्ट्रिय मान्यता दिन नसकिने एएफसीको निर्णय ठिकै लाग्थ्यो। 

मंगलबारको उत्साहजनक उपस्थितिले अहिले पनि फुटबलप्रति दर्शकको रुचि पहिला जस्तै रहेको पुष्टि गरेको छ।

अत: खेल आयोजना गरेर मात्र हुँदैन, मैदानको अवस्था पनि ठीक राख्न अति आवश्यक देखिन्छ। 

रंगशालाको ड्रेनेज पद्धति स्तरोन्नति गर्न अनिवार्य भइसकेको छ।

अन्तर्राष्ट्रिय मान्यता फर्क्यो भनेर प्रेस विज्ञप्ति जारी गर्न हतारिएको राखेप नेतृत्वलाई मंगलबार रंगशालाको अवस्थाले गिज्याइरहेको थियो। 

गत नोभेम्बरमा यमनविरुद्ध खेलेयता दशरथ रगंशालामा अन्तराष्ट्रिय खेल हुन सकेको थिएन।

पछिल्लो समय नेपालमा क्रिकेट र भलिबलमा दर्शकको आकर्षणले फुटबलको दर्शक घटेको अनुमान गरिएको थियो।

तर, मंगलबारको उपस्थिति हेर्दा दर्शकमा फुटबलप्रतिको लगाव अझै उस्तै रहेको पुष्टि गरेको थियो।

यसलाई जोगाइराख्न राखेप र एन्फाले गम्भीरतापूर्वक सोच्नु पर्ने देखिएको छ। 

अर्को कुरा, एन्फाको आफ्नै कुनै प्रतियोगिता नहुँदा नेपाली दर्शक र खेलाडीले दशरथ रंगशाला पुग्न महिनौँ कुर्नुपर्ने अवस्था छ।

कहिलेकाहीँ रंगशाला पुग्ने साइत जुर्दा पनि मैदानको अवस्थाले नाक खुम्चाउनुपर्ने बाध्यता छ।

यही अवस्था रहिरहे आगामी दिनमा दर्शक टिकट काटेर रंगशाला जान उत्साहित होलान्? राखेप र एन्फा गम्भीर हुन जरुरी छ। 

हेर्नुहोस् मंगलबार देखिएको दशरथ रंगशालाको मैदानको हालत-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .