खेल


साफ यू–२० को फाइनल प्रवेश गरेपछि के भन्छन् प्रशिक्षक र कप्तान?

साफ यू–२० को फाइनल प्रवेश गरेपछि के भन्छन् प्रशिक्षक र कप्तान?

लक्ष्मी जि.सी
भदौ ९, २०८१ आइतबार २०:१६, काठमाडौँ

टाइब्रेकरमा भुटानलाई पराजित गर्दै साफ यू–२० च्याम्पियनसिपको फाइनलमा स्थान बनाएपछि नेपाली युवा टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले पहिलो हाफमा खेलाडीलाई सहज रुपमा लिएकाले रणनीति अनुसार प्रदर्शन गर्न नसकेको बताएका छन्।

खेलपछि पत्रकारसँग कुरा गर्दै मुख्य प्रशिक्षक श्रेष्ठले भने, ‘पहिलो हाफ सोचेको जस्तो भएन, हामीले जुन रणनीति बनाएका थियौँ त्यसमा खेल्न सकेनौँ। भुटानले राम्रो खेल्यो। पहिलो हाफमा खेलाडीहरुले भुटानलाई सहज रुपमा लिए जस्तो लाग्यो त्यसैले प्रेसर पर्यो। सुरुवातबाट नै दबाबमा राख्ने रणनितिमा थियौँ त्यसलाई खेलाडीले सहज लिए।’

च्याम्पियनसिपमा सेमिफाइनलसहित भुटानले खेलेको तीन खेलमा नै रातो कार्ड खाँदै १० खेलाडीमा समेटियो।

नेपालविरुद्ध भुटानले राम्रो खेलेको नेपाली प्रशिक्षक श्रेष्ठले बताए।

उनले थपे, ‘सुरुवातमा हामी पछि परेका थियौँ तर हामी पनि राम्रो पूनरागमन गर्यौँ।’

प्रशिक्षक श्रेष्ठले फाइनलमा जुन टोली आएपनि आफूहरूको रणनीति भनेको जित्नु नै रहेको बताए।

उनले भने, ‘फाइनलमा कुन टिम आउँछ भन्ने होइन। धेरै पटक हामी चुकिसकेका छौँ, धैरै पटक हार्दाको महसुस भोगिसकेका छौँ त्यसैले यो जेनेरेसनले त्यो भोग्न नपरोस् भन्ने हो।’

भुटानविरुद्ध युवा टोलीका कप्तान कुशल देउवाले पहिलो पहेँलो कार्ड पाएपछि दबाबमा खेलेको प्रशिक्षक श्रेष्ठले बताए।

प्रशिक्षक श्रेष्ठले भने, ‘कप्तानले सुरुमा पहिलो पहेँलो कार्ड खाएकाले दोस्रो पहेँलो कार्ड खायो भने अर्को खेल छुट्छ भनेर दबिएर खेले जस्तो लाग्यो। त्यसैले कप्तानलाई परिवर्तन गर्यौँ।’

नियमित कप्तान देउवाले मैदान छाडेपछि टोलीको नेतृत्व गोलरक्षक जियारथ शेखले गरेका थिए।

गोलरक्षक शेख

पेनाल्टीमा कप्तान तथा गोलरक्षक शेखले २ पेनाल्टी प्रहार विफल पार्दा १ गोल आफैंले गरे।

उनले भने, ‘सेमिफाइनल जित्दा खुसी लागेको छ। पहिलो हाफ गाह्रो भयो। धेरै दबाबमा खेल्यौँ। दोस्रो हाफमा प्रशिक्षकले दबाब नलिकन खेल भनेर भुटान टोलीको बारेमा बताएपछि हामीले त्यही अनुसार खेल्यौँ।’

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेल निर्धारित समयमा १–१ को बराबरी भएपछि टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा नेपालले भुटानलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनायो।

नेपालले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनलमा सोमबार समूह ‘बी’ को विजेता भारत र समूह ए को उपविजेता टोली बंगलादेश भिड्नेछन्।

बराबरीपछि खेल टाइब्रेकरमा जाँदा केही फाइदा भएको महसुस कप्तान शेखले गरेका छन्।

कप्तान शेखले भने, ‘१० खेलाडीमा सिमित भएपछि भुटान केही दबाबमा आएको थियो। हामीले खेल जित्छौँ भन्नेमा म विश्वस्त थिएँ। यो लेभलको प्रतियोगितामा पहिलो पटक फाइनल पुग्दा खुसी लागको छ।’

पहिलो रोजाइका गोलरक्षक शेखले च्याम्पियनसिप अघि आफूले पेनाल्टीका लागि धेरै मेहनत गरेको सुनाए।

‘यो पटक पेनाल्टीका लागि पनि धेरै मेहनत गरेका थियौँ। यो पटक एक साता पेनाल्टीका लागि नै अभ्यास गरेका थियौँ’ उनले थपे, ‘अघिल्लो संस्करणको सेमिफाइनलमा पनि पेनाल्टीमा नै हारेका कारण यो पटक धेरै मेहनत गरेका थियौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad