घरेलु टोली नेपालले आज (शुक्रबार) भुटानविरुद्ध साफ महिला च्याम्पियनसिप अन्तर्गत सुरुवाती खेल खेल्दैछ।
बिहीबार भएको उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि ५–२ को फराकिलो जित दर्ता गर्दै च्याम्पियनसिपमा फेरि एकपटक आफ्नो उपाधि दाबेदारी प्रस्तुत गरिसकेको छ।
यता नेपाललाई भने आजको खेलमा भुटानलाई पन्छाउनु पर्ने चुनौती छ। नेपाल र भुटानबीचको खेल साँझ साढे ५ बजेदेखि सुरु हुने तालिका छ।
च्याम्पियनसिपको सातौँ संस्करण चलिरहँदा नेपालले पाँच पटक फाइनल खेलिसकेको छ। र पाँचै पटक नेपाल उपविजेतामै सिमित बनेको छ।
नेपालले सन् २०१६ बाहेकको हरेक संस्करणमा फाइनल खेलेको छ। तर विजेता बन्न भने सकेको छैन। सातौँ संस्करण घरेलु मैदानमा सुरु हुँदा नेपालले लगातार तेस्रो पटक साफ आयोजनाको मौका पाएको छ। साफ आयोजनामा ह्याट्रिक गरेको नेपाल सामु च्याम्पियन बन्दै उपाधि उचाल्नुपर्ने चुनौती पनि छ।
त्यसैले भुटानविरुद्ध मैदान उत्रदा नेपाली महिला टोली सुखद सुरुवातको योजनामा हुनेछ। यद्यपी भुटानविरुद्ध नेपाललाई त्यति सहज भने पक्कै हुनेछैन।
भुटानी टोली पछिल्लो समय निकै लयमा छ। एक समय नेपालले सहजै पराजित गर्ने भुटान अहिले बलियो बन्दै आउँदा नेपाली टोलीमाथि चुनौती पनि थपिदै गएको छ। भुटानी टोली लगातार प्रशिक्षणमा जुट्दै प्रदर्शन सुधार गर्दा नेपाली टोलीको प्रर्दशनमा खासै सुधार हुन सकेको छैन।
त्यसैले पनि अहिले भुटानी टोली नेपाली महिला टोलीका लागि चुनौतीपूर्ण छ।
भुटानविरुद्ध नेपाल मैदान उत्रदा टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा टोलीमा हुने छैनन्। जसको फाइदा उठाउने योजनामा भुटानी टोली छ।
फ्रान्सेली क्लब एन अभान्टा गुएङ्ग्याम्पमा व्यवसायिक लिग खेलिरहेकी साम्बा शनिबार क्लबको खेलपछि मात्र नेपालका लागि प्रस्थान गर्नेछिन्। उनी माललिभ्सविरुद्ध हुने खेलमा मात्र नेपाल आइपुग्नेछिन्।
टोलीकी अर्की फरवार्ड रेखा पौडेल भने मंगलबारबाट टोलीमा मिसिएकी छिन्। यूएईमा व्यवसायिक लिग खेलिरहेकी रेखा साफका लागि टोलीमा फर्किएकी हुन्। साम्बा नहुदा नेपालको आक्रमणको जिम्मा रेखा र रश्मी कुमारी घिसिङले सम्हाल्नेछन्।
साम्बा टोलीमा नहुँदा आफुहरुलाई केही सहज हुने भुटानी टोलीकी कप्तान पेमा छोदेन छिरिङले बताइसकेकी छिन्।
भुटानले उमेर समूहको फुटबलमा लगानी बढाइरहँदा त्यसको फाइदा सिनियर टोलीलाई परिहेको छ। व्यवसायिक लिगको अनुभव बोकेका भुटानी खेलाडीले एसियन च्याम्पियन लिगको अनुभव नेपालविरुद्ध प्रयोग गर्ने रणनितिमा हुनेछ।
नेपाल २ साताको तयारीमा मैदान उत्रदा भुटानले भने ९ महिना लामो तयारी गरेर आएको छ।
भुटानी टोलीलाई निकोला डेमिनले हेरिरहेकी छिन्। च्याम्पियनसिपको पहिलो खेलमा नै घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल नै दबाबमा रहने अनुमान भुटानी टोलीले गरेको छ।
भुटानको लक्ष्य सेमिफाइनलमा पुग्नु हो। समूह ‘बी’ को समिकरण हेर्दा यो समूहबाट यी दुई टोली नै सेमिफाइनल पुग्ने सम्भावना छ।
अघिल्लो संस्करण सेमिफाइनल खेलेको भुटान यो पटक अझ सुधारिएको प्रर्दशन गर्ने योजनामा छ। साफ इतिहासमा पहिलो पटक सेमिफाइनल खेलेको भुटान साविक विजेता बंगलादेशसँग ८–० को फराकिलो हार व्यहोरेको थियो।
हेड टु हेड
साफमा नेपाल र भुटान चिर प्रतिद्धन्दी टोली हुन्। यिनीहरुलाई एकअर्काको सबल र दुर्बल पक्ष राम्रोसँग थाहा छ। सन् २०१४ बाट एकै समूहमा पर्दै आएका नेपाल र भुटान लगातार चार पटक समूह चरणमा नै भिडेका छन्।
यो चारै भेटमा नेपालले नतिजा आफ्नो पक्षमा पारेको छ।
पछिल्लो पटक भएको भेटमा नेपालले भुटानमाथि ४–० को फराकिलो जित दर्ता गरेको थियो।
२०१९ मा नेपालले भुटानमाथि ३–० को जित निकालेको थियो। सन् २०१६ र २०१४ मा नेपालले ८–० को जित निकालेको थियो। त्यो नै साफमा नेपालले निकालेको फराकिलो जित हो। सन् २०१६ मा भुटानमाथि नेपाल हाबी हुँदा सावित्रा भण्डारी एक्लैले ६ गोल गरेकी थिइन्।
Shares

प्रतिक्रिया