खेल


एनपीएल खेल्न उत्साहित ८ टिम, क्याप्टेनहरू भन्छन्- विश्वले खेल हेर्छ, क्षमता देखाउने अवसर छ

एनपीएल खेल्न उत्साहित ८ टिम, क्याप्टेनहरू भन्छन्- विश्वले खेल हेर्छ, क्षमता देखाउने अवसर छ

लक्ष्मी जि.सी
मंसिर १४, २०८१ शुक्रबार २१:५६, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सबै फेन्चाइज टोलीले आफ्नो अन्तिम तयारी पूरा गरिसकेका छन्।

शनिबार देखि सुरु हुने पहिलो संस्करणको एनपीएलको उद्घाटन खेलमा जनकपुर बोल्टस् र विराटनगर किंग्स् भिड्दैछन्। किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल सवा १२ बजे सुरु हुनेछ।

एनपीएलका लागि फ्रेन्चाइज टोलीमा आवद्ध विदेशी खेलाडीहरु लगभग नेपाल आइपुगेका छन्।

एनपीएलको पहिलो संस्करणमा जनकपुर र विराटनगरसँगै पोखरा एभेन्जर्स, काठमाडौ गुर्खाज, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज्, लुम्बिनी लायन्स, कर्णाली याक्स गरि आठ फ्रेन्चाइज टोलीले स्पर्धा गर्दैछन्।

पहिलो संस्करणको एनपीएलका लागि आयोजक नेपाल क्रिकेट संघ (क्यान) सँगै खेलाडी र क्रिकेट समर्थक सबै उत्साहित छन्। पहिलो संस्करणको एनपीएल सुरु नहुँदै सामाजिक सञ्जालमा यसले छुट्टै चर्चा बटुलिरहेको छ। त्यसमाथि फ्रेन्चाइज टोलीले गरेको विदेशी खेलाडी अनुबन्धले पनि क्रिकेट समर्थक उत्साहित छन्। एनपीएलमा सहभागी टोली लिगका लागि तयार छन्। सबै टोलीको एउटै लक्ष्य छ, पहिलो संस्करणको एनपीएलको उपाधि जितेर इतिहास बनाउने।

एनपीएलमा जनकपुरबाहेक अन्य टोलीले आफ्नो मार्की खेलाडीलाई नै कप्तानी जिम्मेवारी दिएको छ। मार्की खेलाडीमा आशिफ शेख भएपनि जनकपुरले आफ्नो कप्तानमा अनिल शाहलाई जिम्मेवारी दिएको छ।

एनपीएल पुर्वसन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा पनि सबै टोलीका कप्तानले एनपीएलका लागि आफुहरु उत्साहित रहेको बताए। खेलअघि कुन टोलीका कप्तानले के भने त?

रोहित कुमार पौडेल, लुम्बिनी लायन्स
इण्डियन प्रिमियर लिग (आइपीएल) ले जसरी भारतिय खेलाडीलाई सहयोग गरेको छ त्यसरी नै एनपीएलले पनि नेपाल क्रिकेटलाई सहयोग जस्तो लाग्छ मलाई। जुन हिसाबले अहिले एनपीएलको चर्चा छ यो ठुलो हो। हामी सबैजना उत्साहित छौँ।

दिपेन्द्रसिंह ऐरि, सुुदुरपश्चिम रोयल्स
हाम्रो तयारी राम्रो भैरहेको छ। मुलपानीमा अभ्यास खेलेर राम्रो भयो। एनपीएल खेल्न उत्साहित छौँ।

कुशल भुर्तेल, पोखरा एभेन्जर्स
हामीले घरेलु मैदान पोखरामा गएर ८,९ दिनदेखि तयारी गरेका थियौँ। भारतबाट कोचिङ स्टाफहरु आएर सहयोग गर्नुभएको थियो। हामीले मुलपानीमा एक अभ्यास खेल पनि पाएका थियौँ। हामी सन्तुलनमा छौँ, हामी सबैजना उत्साहित छौँ।

सन्दीप लामिछाने, विराटनगर किंग्स
सुरुवातको दिनमा केही चुनौतीपूर्ण थियो। होम प्लेसहरुमा केही अफ्ट्यारो भयो तर पछि वातावरणसँग सहज भयौँ। एनपीएलका लागि हामी सबैजना उत्साहित छौँ। टोली सन्तुलनमा रहेकाले राम्रो गर्नेछौँ। क्यानलाई एनपीएल आयोजना गरेकोमा धेरै धन्यवाद।

अनिल शाह, जनकपुर बोल्ट्स
हाम्रो तयारी काठमाडौमा आएर मात्र सुरु भयो। घरेलु मैदानमा राम्रो मैदान उपलब्ध थिएन त्यसैले औपचारिक तयारी यहीबाट सुरु भयो। एक अभ्यास खेल राम्रो भयो। टोली ब्यालेन्समा छ। विदेशी खेलाडीको साथले पनि टोली अझ सन्तुलित र बलियो देखिएको छ। यो सबैको लागि राम्रो स्थान हो एनपीएलले जसी चर्चा पाइरहेको छ त्यो हिसाबमा हामी सबैलाई थाहा छ यो हाम्रो लागि कति महत्वपुर्ण छ। हामी सबैजना उत्साहित छौँ।

करण केसी, काठमाडौँ गुर्खाज
एनपीएलका लागि हामी तयार छौँ। विदेशी खेलाडी सबै आइसकेका छन्। स्थानिय खेलाडीसँग करिब १ महिनादेखि अभ्यासमा सँगै छौँ। वसन्त गुरुसँग राम्रो प्रशिक्षण भैरहेको छ। यो एनपीएलले युवा खेलाडीलाई आफ्नो क्षमता देखाउनका लागि राम्रो ठाउँ दिएको छ। त्यसैले युवा खेलाडीले आफ्नो क्षमता देखाएर अवसरको सृजना गर्नेछन्। जसका लागि क्यानलाई धेरै धन्यवाद।

विश्वभर सबैले एनपीएल हेर्छन् त्यैसैले राष्ट्रिय खेलाडीलाई पनि आफ्नो क्षमता देखाउनका लागि अवसर छ।

कुशल मल्ल, चितवन राइनोज
हाम्रो तयारी चितवनमा भएको थियो। एक साताको अभ्यास गरेर काठमाडौ आएका छौँ। करण दाइले भने जस्तै स्टार स्पोर्टस्मा लाइभ हुन लागेकाले विश्वले नै हामीलाई फोकस गर्छ जस्तो लाग्छ।

सोमपाल कामी, कर्णाली याक्स
तयारी एकदम राम्रो भएको छ। काठमाडौमा आएर एक साता अभ्यास सुरु गर्यौँ। मलाई एकदम खुसी लागेको छ की कर्णालीले ट्यालेन्ट हन्ट र ड्राफ्टबाट जतिपनि खेलाडी छनोट गर्यौ सबै क्षमतावान छन्। उनीहरुलाई अवसर चाहिएको थियो। सबैलाई थाहा होला हाम्रो टोली युवा खेलाडीले भरिएको छ। विदेशी खेलाडी अनुभवी छन्। मलाई विश्वास छ हामीले यो प्रतियोगितामा राम्रो गर्नेछौँ। तर हाम्रो लक्ष्य शिखर धवन, बावरलाई टोलीमा अनुबन्ध गरेका छौँ विदेशी खेलाडीहरुबाट कति सिक्न सकिन्छ। भन्ने हो।  

एनपीएलले नेपाल क्रिकेटलाई एकदम सहयोग गर्नेछ। रोहितले भने जस्तै आइपीएलले एउटा खेलाडीलाई तयार पारेर राष्ट्रिय टोलीमा पुर्याउँछ। त्यसरी नै एनपीएलले स्थानिय खेलाडीलाई पनि ठुलो स्थान दिएको छ। मलाई विश्वास छ, यसमा राम्रो प्रर्दशन गरेर यहाँबाट राष्टिय टोलीमा राम्रो गर्ने खेलाडी निकाल्नेछौँ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad