काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (मंगलबार) को जारी पहिलो खेलमा कप्तान रोहित पौडेलको उत्कृष्ट ब्याटिङमा लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध १ सय ६८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रनको योगफल तयार पारेको हो।
पाचौँ विकेटका लागि कप्तान रोहित पौडेल र साद विन जफरले १ सय १४ रनको साझेदारी गर्दै लुम्बिनीको इनिङ्स सम्हालेका थिए। लुम्बिनी एक समय ७.५ ओभरमा ४–४९ को अवस्थामा रहेको थियो।
कप्तान पौडेलले बनाएको ८० रन नै लुम्बिनीका लागि सर्वाधिक रह्यो। उनले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। रोहितले १४.१ ओभरमा ४३ बलमा २ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरे।
जफर ३५ बलमा ५३ रन थप्दै रनआउट भए। जफरले ३४ बलमा ४ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरे। सन्दीप जोरा ४ रनमा अविजित रहे।

ओपनर अर्जुन साउद सातौँ ओभरको पाचौँ बलमा १५ रन बनाउँदा रञ्जित कुमारको बलमा कुशल मल्लको हातबाट क्याच आउट भए।
ओपनर आशुतोष घिरैया दोस्रो ओभरको पहिलो बलमा रिजन ढकालको बलमा बोल्ड आउट भए।
सोही ओभरको तेस्रो बलमा उन्मुक्त चन्द रिजन ढकालको बलमा विकेट किपरको हातबाट आउट हुन पुगे।
टोम मोरिस १० रन बनाउँदै कुशल मल्लको बलमा जान निकोन लफ्टी इटोनको हातबाट क्याचआउट भए।
चितवनका रिजन ढकालले तीन विकेट लिए। कुशल मल्ल र रन्जित कुमारले समान एक विकेट आफ्नो नाममा गरे।
सोहेल तनविर एनपीएलको दोस्रो खेलमा विकेटविहीन भएका हुन्। तनविर यसअघि कर्णालीविरुद्धको खेलमा मात्र विकेट विहिन थिए।
मंगलबार जारी खेलमा लुम्बिनीले अघिल्लो खेलबाट एक खेलाडी परिवर्तन गरेको छ। वेन कटिङको स्थानमा उसले उन्मुक्त चन्दलाई सुरुवाती ११ मा ल्याएको हो।
चितवनले भने अघिल्लो खेलबाट २ खेलाडी परिवर्तन गरेको छ। चितवनले हसन इसाखिलको स्थानामा लुक वेनकेस्टाइनको र दीपक बोहोराको स्थानमा नर बहादुर कार्कीलाई मौका दिएको छ।
एनपीएलमा पाचौँ खेल खेलिरहेको लुम्बिनी पहिलो जितको खोजीमा छ।
चितवन भने चौथो जित निकाल्दै प्लेअफ नजिक पुग्न चाहन्छ।








Shares

प्रतिक्रिया