खेल


पहिलो एनपीएल फाइनल : दुई सशक्त टिमको महाभिडन्त (भिडिओ)


लक्ष्मी जि.सी
पुस ५ , काठमाडौँ

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल शनिबार हुँदै छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदै छन्। नेपाली क्रिकेटको अहिलेसम्मकै ठूलो प्रतिस्पर्धाको उपाधि भिडन्त मध्याह्न साढे १२ बजे सुरु हुनेछ। एनपीएलको सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरिरहेका दुवै टिम फाइनल पुगेपछि यो खेल झनै रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ। दुवै टोली उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिँदै छन्। अर्थात्, दुई सशक्त टिमको महाभिडन्त बन्दै छ फाइनल खेल।

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले मैदानमा शत प्रतिशत योगदान दिने र उपाधि जित्ने विश्वास व्यक्त गरेका छन्। फाइनल खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान ऐरीले फाइनल खेलका लागि भनेर त्यस्तो कुनै विशेष योजना भने नबनाएको बताए। उनले भने, ‘त्यस्तो कुनै विशेष योजना छैन। दुई टिममध्ये एउटाले जित्ने हो। हामी मैदानमा शत्प्रतिशत दिन्छौँ।’

प्रतिस्पर्धा एकदम रोमाञ्चक र उत्कृष्ट हुने उनको भनाइ छ।

जनकपुर बोल्ट्सका कप्तान आशिफ शेखले पनि फाइनल खेलमा राम्रो प्रदर्शन गर्ने विश्वासका साथ तयारी गरिरहेको बताए। उनले नतिजाभन्दा गुणस्तरीय खेलमा ध्यान दिएको पनि स्पष्ट पारे। उनले भने, ‘आफूसँग जे जति छ, त्यो मैदानमा दिनेछौँ। फाइनल खेलको नतिजाका बारेमा अहिले नै सोचेका छैनौँ तर उत्कृष्ट प्रदर्शन गर्नेछौँ। भोलि एउटा क्वालिटी क्रिकेट खेल्छौँ। हामीसँग जे जति छ, त्यो भोलि मैदानमा दिन्छौँ। रिजल्टका बारेमा त्यस्तो केही सोचेका छैनौँ। मैदानमाबाट निस्कने बेलामा यति मात्र महसुस हुनुपर्‍यो कि, आफूसँग जे जति थियो सबैलाई दियौँ।’

भिडिओ : सरोज नेपाल

पुस ५, २०८१ शुक्रबार २२:२४

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad