खेल


त्यसपछि अरुणालाई फुटबलको लत बस्यो (भिडिओ)

तीनपटक एसियन च्याम्पियनसिप खेलेकी एक मात्र नेपाली महिला फुटबल खेलाडी
त्यसपछि अरुणालाई फुटबलको लत बस्यो (भिडिओ)

लक्ष्मी जि.सी
जेठ २८, २०८२ बुधबार १९:३१, काठमाडौँ

सयौँ खेलको कोशेढुंगानजिक पुगेको नेपाली महिला फुटबलले ४० वर्षको यात्रा गर्दै छ। यो यात्रामा धेरै खेलाडीहरु सहभागी भइसकेका छन्।

तिनैमध्येकी एक हुन् अरुणा गुरुङ। नेपाली महिला फुटबलको पहिलो पुस्ताको प्रतिनिधित्व गर्ने खेलाडी। 

सन् १९८६ को एसियन च्याम्पियनसिपमा नेपालले हङकङविरुद्ध खेल्दै महिला अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यु’ गरेको थियो। त्यसपछि सन् १९८९ र १९९९ मा पनि नेपाल च्याम्पियनसिपमा सहभागी भयो। तीनैपटक अरुणाले खेल्ने मौका पाइन्।

यस्तो मौका पाउने उनी एक्ली महिला फुटबल खेलाडी हुन्।  

किनभने पहिलोपटक खेलेकाहरुमध्ये केहीले दोस्रोमा खेले पनि तेस्रो प्रतियोगिता खेल्न पाएनन्। 

‘पहिलो पुस्ताका कति खेलाडीको बिहे भयो, कति छनोटमा परेनन्’, अरुणा भन्छिन्। 

‘दाइहरुको लुगा मागेर खेल्थ्यौँ, पछि फिर्ता गर्थ्यौँ’
त्यसो त पहिलोपटक अन्तर्राष्ट्रिय फुटबलको अनुभव अरुणाका लागि अविस्मरणीय छ। 

उनका अनुसार त्यतिबेला नेपाली टोलीसँग फुटबल जर्सी नै थिएन। पुरुष टोलीसँग उनीहरुको जर्सी मागेर लगाउनुपर्ने अवस्था थियो। 

‘सन् १९८६ मा पहिलो पटक खेल्न जाँदा दाइहरुको लुगा मागेर लगेका थियौँ’, उनलाई याद छ, ‘मागेर लगाउँथ्यौँ, खेलिसकेपछि फिर्ता दिन्थ्यौँ।’

सन् १९८९ मा पनि अरुको नै लुगा लगाएको उनी बताउँछिन्। 

त्यतिखेर आफूसँग भएको एउटा जर्सी पनि प्रशिक्षण गर्दा र खेल खेल्दा दुवै अवस्थामा लगाउनुपरेको अरुणालाई सम्झना छ।

त्यसपछि भने महिला फुटबल टोली सदस्यलाई सरकारले एउटा सारीको व्यवस्था गरिदियो। त्यसपछि विस्तारै ट्राकसुट दिइयो। 

‘१९९९ को प्रतियोगितामा सरकारले एउटा सारी दिएको थियो’, उनले भनिन्, ‘औपचारिक कार्यक्रममा लगाउने भनेर। पछि एउटा ट्रयाक सुट दिन्थ्यो।’ 

अरुणाले सम्झिरहेको यो प्रसंग चार दशकअघिको हो। जतिखेर नेपालले महिला फुटबलमा आफ्नो पहिलो पाइला चाल्दै थियो।

इतिहासमै पहिलोपटक नेपाली महिला फुटबलको राष्ट्रिय टोली निर्माण हुँदा उनी त्यसको साक्षी मात्रै होइन, महत्त्वपूर्ण हिस्सा बनिन्। 

अरुणाले चितवनको शारदा नगरस्थित विद्यालयमा शिक्षक धोजबहादुरसँग फुटबल खेल्न सिकेकी थिइन्। तर छोटो लुगा लगाएर खेल्नुपर्ने खेलका लागि उनले समाजभन्दा पहिला परिवारलाई मनाउनुपर्‍यो।

घरबाट फुटबल खेल्न जान नदिने हुँदा उनी एक हप्ता अघिबाटै रुन सुरु गर्थिन्।

पञ्चायत शासनकालीन भएकाले समाज पनि अहिलेजति खुल्ला थिएन। महिलालाई घरबाहिरका गतिविधिमा लाग्दा रुचाउँदैनथ्यो। 

‘त्यतिबेलाको समाजमा छोरीले हाफ पाइन्ट लगाएर मैदानमा जानुहुँदैन। घरबाट बाहिर निस्किन हुँदैन भन्ने सोच हावी थियो’, उनी भन्छिन्, ‘सहज थिएन। छिमेकीले पनि छोरी बाहिर गई, अब बिग्रिन्छे भनेर कुरा लगाउँथे।’ 

‘त्यसपछि फुटबलको नशा लाग्यो’
वि.सं. २०४० (सन् १९८२/०८३ तिर) सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा अरुणाले पहिलो पटक सहभागिता जनाएकी थिइन्। 

त्यो बेला अर्को ‘बर्थ डे कप’ हुन्थ्यो। त्यसमा पनि खेलिन्। त्यसपछि फुटबलको नशा लाग्नथालेको उनी बताउँछिन्। 

‘पहिला भलिबल र एथलेटिक्स खेल्थेँ। पछि विस्तारै फुटबल खेल्न थालेँ’, उनी भन्छिन्, ‘खेल्दै जाँदा लत नै बसेजस्तो भयो।’ 

यस्तोमा एसियन च्याम्पियनसिपका लागि छनोट भइन्। पहिलो पटक सन् १९८६ मा नेपालले अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यु’ गर्ने भयो। 

त्यसपछि नेपालले १९८९ मा सातौँ एसियन गेम्स हङकङमा खेलेको थियो। 

त्यस्तै सन् १९९९ मा तेस्रो पटक एसियन च्याम्पियनसिप खेल्दा पहिलो पुस्ताबाट अरुणा मात्र एक्ली खेलाडी थिइन्। तीनै संस्करणमा उनले नेपालको प्रतिनिधित्व गरिन्।

डेब्यु अनुभव– अफसाइड भनेर छोडेको बल गोल भयो
हङकङसँगको पहिलो ‘डेब्यु’ खेल अविस्मरणीय थियो। त्यतिखेर दुवै टोली उस्तै रहेको अरुणा बताउँछिन्।

‘दुवै टोली उस्तै थियो। त्यो बेलामा ९९ प्रतिशत नेपालले दबाबमा राखेको थियो’, उनले भनिन्, ‘हामीले अफसाइड भनेर छोडेको बल गोल भयो। त्यसमा नै हामी पराजित हुन पुग्यौँ।’ 

सन् १९८९ मा पनि नेपाल हङकङसँग नै ३–० ले हारेको थियो। 

त्यो बेलामा हङकङ टोली १ वर्षको प्रशिक्षणपछि मैदान आएको थियो। यता नेपाली टोलीले भने १ महिना मात्र प्रशिक्षण गर्न पाएको थियो। 

‘त्यो बेलामा पनि हामीले राम्रो खेलेको भन्थे। त्यतिखेर पावरले नै खेल्ने हो, घरको दालभात खाएर खेल्ने हो’, उनको अनुभव छ।  

तर लगातार तीन प्रतियोगितामा पराजित भएपछि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता नै जनाउन छाडेको थियो। 

‘राज्यले लगानी नगर्ने अनि नतिजा पनि नआउने, त्यो बेलामा सिधै खेल्न पाइन्थ्यो। अहिले छनोट खेल्नुपर्छ’, उनी भन्छिन्।

पहिले खेलाडी, अहिले प्रशिक्षक
अरुणा अहिले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा फुटबलको मुख्य प्रशिक्षक तथा उपनिर्देशक समेत हुन्। 

अझ रोचक कुरा त राखेपको प्रशिक्षक बन्न उनलाई ह्यान्डबलले सिफारिसपत्र पठाएको थियो। 

अरुणाले ह्यान्डबलबाट पनि तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छिन्।

भर्खर एसएलसी दिएकी थिइन्। पास हुन सकिनन्। त्यसपछि उनलाई ह्यान्डबलको प्रशिक्षक हुन दिइएन। पत्र च्यातेर फालियो। त्यो समयमा उनलाई फुटबलबाट पत्र लेख्न भनियो। फुटबलको प्रशिक्षक बन्न १ महिनाको प्रशिक्षण लिइन्। जसमा उनी पास भइन्। 

फुटबलको प्रशिक्षकमा पास भएपछि राखेपले उनलाई ५ महिनाको नियुक्ति पत्रसहित ५ हजार ५ सय रुपैयाँ दियो। जुन उनको पहिलो कमाइ थियो। अरुणाले त्यो पैसा लगेर आमालाई दिइन्। छोरीको पहिलो कमाइ थापेपछि आमा दंग परेको उनी बताउँछिन्। त्यसपछि उनलाई घरबाट बाहिर निस्किन पनि सहज भयो। 

‘फुटबल खेल्ने बेलामा कमाइ केही भएन, त्यो बेलामा खान बस्न फ्रि, घुम्न पाएपछि के चाहियो र!’, उनी भन्छिन्।

‘अहिलेको फुटबल स्तरीय’
पहिलेभन्दा अहिलेको फुटबल स्तरीय रहेको उनको अनुभव  छ। 

‘अहिले टेक्निकल खेलिन्छ, त्यो बेलामा हामी दौडने मात्र हो। त्यो बेलामा टिम फिजियो भन्ने नै थाहा थिएन। खुट्टा मर्कियो भने आफैँ ब्यान्डेज लगाउने खेल्ने हो’, पहिले र अहिलेको समयबारे भन्छिन्। 

अहिले नेपाली महिला फुटबल धेरै माथि गइसकेको उनको अनुभव छ। 

‘पहिला त सबै एरिया कभर गर्नुपथ्र्यो। त्यो बेलामा डिफेन्स लाइनसम्म फरवार्ड आइपुथ्यो। अहिले त्यस्तो छैन’, अरुणा भन्छिन्। 

नेपालले सन् २०१० देखि १२ फाइनल खेले पनि उपाधि जित्न नसक्नुमा अरुणा नेपालकै आफ्नो व्यवस्थापकीय कमजोरी मान्छिन्। 

एएफसी र साफले पहिले नै खेलको तालिका दिए पनि त्यसमा केही काम गर्न नसकेको उनको बुझाइ छ। 

‘लक्ष्य विश्वकप खेल्ने राख्ने, तयारीचाहिँ शून्य’, उनको प्रश्न छ, ‘अनि कसरी उपाधि जित्न सकिन्छ?’

वर्तमान पुस्तालाई स्वर्णिम मान्ने उनी खेलाडीको क्षमतालाई चिन्न नसकेको गुनासो गर्छिन्। 

यो पुस्ता सकिएपछि महिला फुटबलमा यस्ता खेलाडी आउँछन् जस्तो नै नलागेको उनी बताउँछिन्। 

नेपाल हरेक पटक उपविजेता भइरहँदा कसरी विजेता बन्ने भनेर नेतृत्वले सोच्नुपर्ने बेला आएको अरुणाको सुझाव छ। यसबाहेक पुरुष टोलीलाई जस्तै महिला टोलीको आत्मविश्वास भर्न नसकेकोमा गुनासो गर्छिन् उनी।  

‘पुरुष टोलीले रजत पदक ल्याउँदा सिन्दुर जात्रा गर्ने तर महिला टोलीले पदक ल्याउँदा वास्ता छैन। स्वर्ण जित्न हाम्रो तयारी नै छैन’, उनी भन्छिन्, ‘सिरियस भएर प्रशिक्षण गर्ने हो भने यो टोलीले नै स्वर्ण पदक जित्छ।’ 

त्यसका लागि अहिलेको टोलीलाई ६ महिना कम्तीमा प्रशिक्षणमा राख्नुपर्ने उनको भनाइ छ। 

भिडिओ (सौगात दाहाल)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad