खेल


क्याप्टेन रेनुका र अभिषेकको सात वर्षे प्रेम यसरी परिणत भयाे विवाहमा (भिडियो)

क्याप्टेन रेनुका र अभिषेकको सात वर्षे प्रेम यसरी परिणत भयाे विवाहमा (भिडियो)

लक्ष्मी जि.सी
पुस २, २०७७ बिहिबार १२:५९,

राष्ट्रिय महिला फुटबल टोलीकी क्याप्टेन रेनुका नगरकोटे गत मंसिर १६ गते विवाह बन्धनमा बाधिईन्।

रौतहट चपुरकी रेनुका र जनकपुर शिवबानीका अभिषेक लामाले ७ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्।

क्याप्टेन रेनुका नगरकोटे र अभिषेक लामालाई फुटबलले नै नजिक बनाएको हो।

विभागीय टोली एपीएफमा आबद्ध हुने सपना देखेका अभिषेकले रेनुकासँग पनि यस्तै योजनाबारे कुराकानी हुने गरेको स्मरण गर्छन्।

अभिषेकले सामाजिक सञ्जाल फेसबुकमा साथी बन्न रेनुकालाई ‘फ्रेण्ड रिक्वेस्ट’ पठाएपछि दुई जनाबीच कुराकानी सुरु भएको थियो।

सुरुवातमा सामान्य कुराकानी हुँदैगर्दा विस्तारै एकअर्कासँग नजिकिँदै गएको र आत्मीय सम्बन्ध बनेको रेनुकाले सम्झिईन्।

RenukaNagarkote couple 2

वैवाहिक जीवनमा बाँधिएपछी पहिलोपटक नेपालखबरसँग कुराकानी गर्दै क्याप्टेन रेनुकाले खेल जीवनलाई पहिलेकै लयमा निरन्तरता दिने बताईन्।

पूर्व फुटबल खेलाडी रहेका रेनुकाका श्रीमान अभिषेकले विवाहकै कारण रेनुकाको खेल जीवनमा कुनै असर नपर्ने बताए।

ब्वाईज युनियनबाट बी डिभिजन लिग खेलेका अभिषेक २०७२–७३ सालमा घुँडामा चोट लागेपछि खेल जीवनको अन्त्य गर्न बाध्य भएका थिए। त्यसपछि उनी आफ्नो बुवाको पेसामा साथ दिन थाले।
अभिषेकले आफ्नो जीवनको महत्वपूर्ण झण्डै ८ वर्ष फुटबलमा बिताए।

खेल्दाखेल्दै घाइते भएपछि चोट बोकेर रुँदै मैदानबाट बाहिरिँदा क्लबका म्यानेजरले भनेको कुरा उनी बिर्सन सक्दैनन्।

RenukaNagarkote couple 3

‘म्यानेजरले तिमीहरु लामो दौडका घोडा हौं, जतिसम्म दर्गुछौ तबसम्म मैले हेर्ने हो, दौड्न छोडेपछि मैले चिन्दिन भन्नुभयो,’ उनले आफ्नो जीवनको त्यो तीतो क्षण सम्झे।

त्यसपछि उनी खेलमा फर्कनै सकेनन्।

रेनुका पनि आफूहरुले जीवनको उर्जाशील समय फुटबललाई दिएपनि खेल्न नसकेको दिन खेलाडीले केही नपाउने बताउँछिन्।

फुटबलको यात्रा अपुरो छाड्नु पर्दाको अनुभूति नै अभिषेक आफ्नो जीवनको तीतो क्षण ठान्छन्। रेनुकाको खेलजीवन अपुरो नहोस् भनी त्यसका लागि आफूले पुरा सहयोग गर्न तत्पर रहेको उनी बताउँछन्।

‘घुडाँमा चोट लागेपछी म फेरी फुटबलमा फर्किन सकिन,’ उनी भन्छन्।

त्यो बेला क्लब र अखिल नेपाल फुटबल संघ (एन्फा)को साथ नपाएकोमा उनी निकै दुःखी देखिए। 

खेलाडीलाई मात्र राम्रो खेल्न दबाब दिने तर क्लव, एन्फा लगायतका जिम्मेवार निकायले त्यसका लागि वातावरण बनाउने र सहयोग गर्ने परिपाटी नभएकाे उनकाे गुनासाे छ।

राष्ट्रिय टोलीको क्याप्टेन रेनुकालाई आफ्नो प्रेमिका र जीवनसाथीको रुपमा पाउँदा एकदमै खुसी रहेको अभिषेक बताउँछन्।

‘उनी मेरो जीवनसाथी बन्लिन् भनेर मैले सोचेको पनि थिईन,’ उनी सम्झन्छन्, ‘उनी र मबीचको मित्रताप्रति मलाई निकै गर्व लाग्थ्यो त्यसैले म साथीहरुलाई पनि रेनुका मेरो प्रेमिका भनेर चिनाउँथे।’

७ नम्बर जर्सीमा मैदान उत्रने रेनुका र अभिषेकसँगको ७ वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत हुनुलाई उनीहरु संयोग मान्छन्।

अन्तरजातीय विवाह गरेका रेनुका र अभिषेक त्यसका लागि परिवारलाई सम्झाउन गाह्रो नभएको अनुभव सुनाउँछन्।

RenukaNagarkote couple 4

अभिषेकका अनुसार उनको परिवारले रेनुकालाई खेलाडीकै रुपमा हेर्ने गरेको र त्यसमा परिवार निकै खुसी रहेको उनको भनाइ छ।

खेलाडी भनेपछि आमा खुसी भएर गाउँभरिको मान्छेलाई बोलाएर उनको खेल देखाउँदै ‘मेरी बुहारी’ भनेर चिनाउँदा अभिषेक दंग परे।

रेनुकाले पनि अन्तरजातीय प्रेमका कारण आफूहरुले अनावश्यक समस्या र पीडा व्यहोर्नु नपरेको सुखद अनुभव सुनाइन्।

विवाहपछि पनि फुटबल करियरलाई नै अघि बढाउने योजनामा रहेकी रेनुका ‍परिवारबाट पुरा सहयोग पाउनेमा ढुक्क छन्।

भिडियाे: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .