खेल


समान तलबपछि महिला फुटबलको स्तर उकास्न अब के गर्नुपर्ला? यसो भन्छन् खेलाडीहरु

समान तलबपछि महिला फुटबलको स्तर उकास्न अब के गर्नुपर्ला? यसो भन्छन् खेलाडीहरु

लक्ष्मी जि.सी
पुस १३, २०७७ सोमबार ७:३७,

अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत महिना महिला र पुरुष खेलाडीलाई समान पारिश्रामिक दिने निर्णय गर्यो। समानताका दृष्टिकोणबाट यसलाई एउटा महत्वपूर्ण कदमको रुपमा लिइएको छ।

खेल क्षेत्रमा यसले सकारात्मक सन्देश प्रवाह गरेको भनी खेलाडीलगायतले सो निर्णयको स्वागत गरेका थिए।

नेपाली खेलकुदमा फुटबल र क्रिकेटका राष्ट्रिय खेलाडीले मात्र मासिक पारिश्रमिक पाउँदै आएका छन्। तर, लामो समय फुटबलमा महिला र पुरुष खेलाडीको मासिक तलबमा ठूलो अन्तर थियो। पुरुष खेलाडीले मासिक १५ हजार र महिला खेलाडीले ७ हजार रुपैयाँ पाउँथे।

पटक पटक यो विषयमा आवाज उठेपछि एन्फाको पछिल्लो निर्णयले तलबको त्यो ठूलो खाडललाई पुरेको छ।

क्रिकेटमा पुरुष टोलीले वर्षौंदेखि पारिश्रमिक पाउँदै आएका छन्। महिला खेलाडीले पनि पारिश्रमिक पाउने निर्णय केहि महिनाअघि मात्र भएको थियो।

एन्फाको निर्णयले अब क्रिकेटतर्फ पनि समानता कायम गर्न नैतिक दबाब बढेको छ। अन्य खेलमा पनि नियमित पारिश्रमिकको व्यवस्था गरिनुपर्ने भन्ने आवाज उठ्न थालेको छ। यसको जस एन्फालाई दिनै पर्नेहुन्छ।

mahila football

क्रिकेटमा पनि असमान तलब छ। पुरुष खेलाडीको तुलनामा महिला खेलाडीले निकै कम तलब पाइरहेका छन्।

एन्फाको पछिल्लो निर्णयको प्रशंसा भइरहँदा योसँगै थप प्रश्नहरु पनि उठेका छन्। के पुरुष र महिला खेलाडीबीचको समानताको सूचक तलब मात्रै हो त? भन्ने प्रश्न पनि उठ्न थालेको छ।

नेपाली खेलकुद र मुख्यतः फुटबल र क्रिकेटमा महिलाभन्दा पुरुष खेलाडीको प्रशिक्षण र प्रतियोगिताहरु बढी हुने गरेका छन्।

फुटबलमा अब तलबको विषय एउटा टुंगो पुगेको छ। तर, योसँगै फुटबल विकासका अन्य पक्षमा पनि एन्फाले समानताका प्रयास थालेमात्र यो अर्थपूर्ण हुने आवाज उठ्न थालेको छ।

फुटबलमा पुरुषको तुलनामा निकै कम प्रतियोगिता र प्रशिक्षण हुने महिला तर्फका खेलबाट सफलताको बढी अपेक्षा गर्नु न्यायोचित नहुने धेरैको तर्क छ।

ए डिभिजन लिग, नकआउट प्रतियोगिता, राष्ट्रिय टोलीले सहभागिता जनाउने अन्तर्राष्ट्रिय प्रतियोगिता र त्यसका लागि गरिने तयारी पुरुषको भन्दा महिलातर्फ कम छन्।

तलबसँगै अब महिला खेलाडीको प्रशिक्षणदेखि प्रतियोगिता, पुरस्कार र एक्सपोजरमा पनि ध्यान दिन उत्तिकै जरुरी रहेकोले एन्फाले यी विषयमा पनि पहल थाल्नुपर्ने महिला खेलाडीहरुको भनाइ छ।

महिला राष्ट्रिय टोलीकी कप्तान रेनुका नगरकोटीले तलबमा गरिएको बराबरीका लागि एन्फालाई धन्यवाद दिदै भनिन्, ‘यो ठूलो निर्णय हो। हामी सबै खुसी छौं। तर, पारिश्रमिक त एउटा पाटो मात्रै हो। महिला टोलीको प्रशिक्षण र धेरैभन्दा धेरै प्रतियोगिता हुनु जरुरी छ।’

महिला खेलाडीले वर्षमा प्रधानसेनापति कपलगायतका केहि प्रतियोगिता मात्रै कुनुपर्ने बाध्यता रहेको बताउँदै नगरकोटीले त्यसकै भरमा मात्रै राम्रो नतिजा ल्याउन नसकिने बताइन्।

उमेर समुह हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएकी सरु लिम्बु पनि महिलातर्फ प्रतियोगिताको संख्या बढाइनुपर्नेमा जोड दिन्छिन्।

‘खेल्दा हामीले कहाँ बिगार्यौ र के सुधार गर्नुपर्छ भन्नका लागि पहिला खेल्न त पर्यो,’ उनले भनिन्, ‘पुरुषको जिल्लादेखि केन्द्रसम्म प्रतियोगिता हुन्छन्। महिलाको हुँदैन। महिला लिग हुन्छ तर त्यो पनि छोटो समयमा सकिन्छ। त्यतिले मात्र फुटबलमा नतिजा दिन कठिन हुन्छ।’

राष्ट्रिय टोलीकी रक्षक हिरा भुजेल तलबले महिला र पुरुषबीचको विभेदको अन्त्य भएकोमा सबैभन्दा बढी खुसी लागेको सुनाइन्। उनले अब आउने दिनेमा राष्ट्रिय टोलीमा पर्नका लागि थप प्रतिस्पर्धा हुने विश्वास गरिन्।

mahila football 1

समान तलब दिने निर्णयले एन्फाले महिला फुटबललाई पनि उत्तिकै महत्व दिएको संकेत गरेको उनको बुझाइ छ।

‘अब महिला फुटबलको साँच्चिकै विकास गर्नका लागि गतिविधि पनि बढाउनुपर्ने हुन्छ। पुरुष खेलाडीका लागि एकेडेमी सुरु भएको २३ वर्षभन्दा लामो समय भैसकेको छ,’ उनले भनिन्, ‘महिलाका लागि पनि एकेडेमी सुरु गर्ने एन्फाको योजनाले छिट्टै मुर्तरुप लिन सके महिला फुटबल विकासमा त्यो अर्को खुड्किलो हुनेछ।’

राष्ट्रिय टोलीकी मिडफिल्डर अनिता बस्नेत एन्फाको पछिल्लो निर्णयले महिला खेलाडीले थप सफलताको लागि जिम्मेवारी बढेको अनुभव भएको सुनाइन्। उनले अब महिला फुटबल प्रतियोगिताको संख्या बढाउन सके नयाँ खेलाडी बढी आउने विश्वास व्यक्त गरिन्।

गोलकिपर एन्जिला तुम्बाफो सुब्बा प्रतियोगितामा महिला र पुरुषमा अहिले पनि विभेद रहेकाले त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिन्छिन्।

‘हामीले वर्षभरी खेल्ने खेल पुरुषको दाजोमा कम छ, अब संख्या बढाउन सके फुटबलमा थप प्रतिस्पर्धा हुनेछ,’ उनले भनिन्, ‘यसले नयाँ खेलाडी पनि आउने बाटो खुल्नेछ।’

अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी साम्बा पनि प्रतियोगिता र म्याच एक्सपोजर बढाउनुपर्नेमा जोड दिन्छिन्।

‘समान तलबले हामीले बराबरको अनुभव गरेका छौं,’ उनले भनिन्, ‘तर हामी जसरी उत्साहित भएका छौ, त्यसलाई मैदानमै नतिजा देखाउनका लागि त बढी भन्दा बढी प्रतियोगिता नै हुनुपर्यो। अब एन्फाले त्यसतर्फ ध्यान दिन जरुरी छ।’

महिला फुटबलमा नेपाल दक्षिण एसियाली स्तरमा भारतभन्दा मात्र पछि रहेको छ। दक्षिण एसियाली खेलकुद (साग) र साफ च्याम्पियसिपका अधिकांश संस्करणमा नेपाल फाइनल पुग्दै आएको छ।

तर, फाइनलमा भारतसँगै निराश हुँदै आएको छ। नेपालले भारतलाई हराउने गरिनै आफ्नो तयारी र रणनीति बनाउनुपर्ने देखिन्छ।

ओलम्पिक छनोटमा सहभागी गराएर एन्फाले महिला टोलीलाई प्राथमिकतामा राखेको छ। अब महिलाको घरेलु प्रतियोगिता र प्रशिक्षणमा जोड दिनुपर्ने समय आएको महिला फुटबलमा सक्रिय व्यक्तिहरुको जोड छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .