खेल


हिमालयन मोटरल्यान्ड सर्किटले नेपाल भित्र्याउला विश्वप्रसिद्ध मोटर स्पोर्ट्सको रोमाञ्च?

हिमालयन मोटरल्यान्ड सर्किटले नेपाल भित्र्याउला विश्वप्रसिद्ध मोटर स्पोर्ट्सको रोमाञ्च?

लक्ष्मी जि.सी
पुस २३, २०७७ बिहिबार ८:३३,

मोटर स्पोर्ट्स आफैँमा महंगो र साहसिक खेल हो। जुन सवारीसाधन प्रयोग गरेर खेलिन्छ।

पछिल्लो समय विश्वमा दुईपांग्रे र चारपांग्रे सवारीसाधन प्रयोग गरी यो खेलका विभिन्न प्रतियोगिताहरु नै आयोजना गरिन्छन्।

मोटरसाइकल रेसिङ, कार रेसिङ यस खेलका उदाहरण बनेका छन् भने फर्मुला रेसिङ, फर्मुला वान, फर्मुला ईजस्ता यससम्बन्धी प्रतियोगिता विश्वप्रसिद्ध छन्। सन् १८९४ मा फ्रान्सको एक पत्रिकाले आयोजना गरेको ‘पेरिस टु रुएँ’ रेसिङलाई आधार मान्ने हो भने मोटर स्पोर्ट्सले १ सय २७ वर्षको समय पार गरिसकेको छ।

तर नेपालमा भने अहिलेसम्म यस खेलका लागि अन्तर्राष्ट्रिय मापदण्डका खेल्ने ठाउँ नै थिएन। यस्तो अवस्थामा काभ्रेको धुलिखेलमा हिमालयन मोटरल्यान्ड सर्किटको निर्माण भएको छ। योसँगै मोटर स्पोर्ट्सको प्रबल सम्भावना र भविष्यको ढोका खुलेको बताउँछन् यस क्षेत्रका जानकारहरु।

हुन त नेपालमा पदक जित्ने सम्भावना भएकै खेलमा सरकारको पर्याप्त लगानी भएको छैन भने मोटर स्पोर्ट्सको विकासमा लगानी गर्ने त धेरै परको विषय हो। तर पनि मोटर स्पोर्ट्स विकासका लागि नेपाल अटोमोबाइल संघ (नासा) सरकार मातहतको राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा दर्ता छ।

motorsports dhulikhel 2021 2

नासाले संस्थागत रुपमा यो खेलको विकासका लागि केही पहल गरे पनि त्यसले जनस्तरमा प्रभाव पार्नसकेको छैन। ससाना यससम्बन्धी कार्यक्रम र प्रतियोगिता हुने गरे पनि कतिलाई नेपालमा मोटर स्पोर्ट्स खेलको प्रतिस्पर्धा हुन्छ भन्ने पनि थाहा छैन।

न्यून र मध्यमवर्गीय पहुँचबाट टाढा मानिएको यो खेल नेपालमा आर्थिक रुपमा बलियो रहेका व्यक्तिले सोख पूरा गर्ने एउटा माध्यम मात्र बनेको छ। अहिलेसम्म जति पनि मोटर स्पोर्ट्सका खेलाडी भएका छन्, ती अधिकांश व्यक्तिगत प्रयासमै भएका छन्।

यस्तो पृष्ठभूमिमा व्यावसायिक खेलाडी उत्पादन नै गर्ने लक्ष्यसाथ काभ्रेको धुलिखेल नगरपालिकामा ‘हिमालयन मोटरल्याण्ड सर्किट’ सञ्चालनमा आएको हो। विश्वकै उच्च स्थानमा रहेकामध्ये र नेपालकै एकमात्र अल्टिमेट हिमालयन मोटरल्यान्डले कार्ट, बाइक र कार रेसको प्रशिक्षण र प्रतियोगिता आयोजना गर्ने उद्देश्यले सर्किट सञ्चालनमा ल्याएको हो।

ठूलो लगानीमा निर्मित सर्किटमा कम उमेरबाटै मोटर स्पोर्ट्सका खेलाडी उत्पादन गर्ने लक्ष्य राखेर एकेडेमीको अवधारणा पनि अघि सारिएको छ।

motorsports dhulikhel 2021 3

साढे ४ करोड लगानी
करिब ४ करोड ५० लाख रुपैयाँमा निर्माण भएको सर्किट ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ। सर्किटमा अफ रोडतर्फ १.५ किलोमिटर र पिच ट्रयाक ३ सय मिटरको छ। निश्चित दूरी र समयमा पार गर्नुपर्ने यो खेलमा निर्धारित दूरी निश्चित समयमा पार गर्नुपर्छ।

सर्किटले अबको एक वर्षमा मोटरसाइकलतर्फ रेसमान्डु, क्रसमान्डौं मोटर स्पोर्ट्स विधामा अटो जिमखाना र कार्ट विधाअन्तर्गत युथ कार्ट १४ वर्षमुनिका तथा राष्ट्रिय च्याम्पियनसिप गर्ने योजना मोटरल्यान्डले हालै सार्वजनिक गरेको छ।

भविष्य राम्रो छः बराल
अल्टिमेट हिमालयन मोटरल्याण्डका अध्यक्ष अनिल बराल मोटर स्पोर्ट्स अरु खेलभन्दा फरक र महंगो भए पनि नेपालमा यसको भविष्य राम्रो रहेको बताउँछन्। आर्थिक र सामाजिक रुपमा टिकाउनसके अन्तर्राष्ट्रिय क्षेत्रमा मोटर स्पोर्ट्सले सफलता पाउनेमा उनी आशावादी छन्।

नासाका सचिव समेत रहेका बराल खेलाडीलाई राम्रो प्रशिक्षण दिनका लागि पनि सर्किट सञ्चालनमा ल्याएको बताउँछन्।

‘विदेशमा जस्तो हाम्रो सर्किट राम्रो छैन तर यसले हाम्रो आवश्यकतालाई भने तत्कालका लागि पूरा गर्नसक्ने खालको छ’, उनले भने, ‘अफरोडका दुईपाङ्ग्रे, चारपाङग्रे र जिम खाना सुरु गरेका छौँ। अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेकाले यसमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्छौँ।’

अन्य खेलजस्तै मोटर स्पोर्ट्सको विकासमा पनि सरकारको सहयोग महत्वपूर्ण हुन्छ। तर यो खेलमा सरकारको लगानी अहिलेसम्म छैन।

motorsports dhulikhel 2021 4

उनले भने, ‘अहिलेको अवस्थामा त्यसको अपेक्षा पनि गरेका छैनौँ। मोटरस्पोर्ट्समा खेलाडीलाई टिकाउनका लागि सर्किट सञ्चालनमा ल्याएका हौँ।’

यसअघि पनि यो खेलका विभिन्न प्रतियोगिता नभएका होइनन् तर अब भने दोस्रो चरणमा प्रवेश गरेको बरालको भनाइ छ।

‘मोटरस्पोर्ट्स खेलेर पनि बाँच्न सकिन्छ भनेर उदाहरण दिन चाहन्छौँ। यसको लागि यो सर्किटले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने वातावरण तयार पार्नेछौँ’, उनले भने।

व्यावसायिक खेलाडी उत्पादन गर्ने लक्ष्य
मोटरल्यान्डका प्रबन्धनिर्देशक दिप्रस शाक्यले सानैबाट यो क्षेत्रमा खेलाडी तयार पार्ने उद्देश्यका साथ एकेडेमी सञ्चालनमा ल्याएको बताए।

उनले भने, ‘विदेशमा हेर्ने हो भने सानैबाट खेल्न सुरु गरिसकेका हुन्छन्। हामीले भने ढिला गरी सुरु गर्छौँ।’

विदेशमा गएर अनुभव लिनुभन्दा यहीँबाट केही सिकाएर पठाउन सके राम्रो हुने उनको भनाइ छ। त्यसको लागि सामान्य नेपालीले पनि खेल्नसक्ने गरेर सुरु गर्ने उनले बताए।

motorsports dhulikhel 2021 5

नगरपालिकाको सहयोग
सरकारको सिधा लगानी नभए पनि धुलिखेल नगरपालिकाले भने आफ्नो नगरभित्र स्थापना भएको मोटरल्यान्ड र त्यसले ल्याएको योजनालाई सहयोग गर्न तयार भएको जनाएको छ।

धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्यन्जुले मोटरल्यान्डले सञ्चालन गर्ने एकेडेमीका लागि वार्षिक १० लाख र राष्ट्रिय प्रतियोगिताका लागि वार्षिक ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

नगरपालिका महासंघका अध्यक्ष समेत रहेका ब्यन्जु मोटर स्पोर्ट्सको विकासका लागि हरेक प्रदेशमा त्यस्तै सर्किट निर्माण गरिनुपर्नेमा जोड दिन्छन्। अन्य प्रदेशमा सर्किट निर्माणका लागि आवश्यक पर्ने जग्गा खोजीका लागि नगरपालिका महासंघ सहयोगका लागि तयार रहेको उनको भनाइ छ।

motorsports dhulikhel 2021 6

उत्साहित छन् खेलाडी
अन्तर्राष्ट्रिय मोटर स्पोर्ट्समा नेपालबाट सहभागिता जनाउने पहिलो महिला खेलाडी जिस्वन तुलाधर श्रेष्ठ भने सर्किट सञ्चालनमा आएकोमा मख्ख छिन्। यसले आफूहरुलाई निकै सहज भएको उनी बताउँछिन्।

‘देशभित्रै अभ्यास गर्ने ठाउँ तयार हुनु खुसीको विषय हो। यो सर्किटले हामीलाई निखारिन मद्दत गर्नेछ। आउने दिनमा धेरै राम्रो गर्नेमा म विश्वस्त छु’, उनले भनिन्, ‘यो क्लबजस्तो पनि हैन, यो अहिले महंगो खेल हो। आफ्नै देशमा सिक्ने ठाउँ तयार भएकोले विगतको तुलनामा कम लगानीमा सिक्न सकिन्छ। अब सिक्न सिकाउन दुवै सहज हुनेछ।’

पाँच वर्षमा मोटर स्पोर्ट्समा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय छाप छाड्न सक्नेमा आशावादी रहेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .